विभेद बिरुद्ध अभियान - चैत्र ४ ,भारतीय संविधानका निर्माता डा. भीमराव अम्बेडकरले भनेका छन्, ‘बाघको पुच्छरको रौं बन्नुभन्दा बिरालोको शिर बन ।’दलित उत्पीडित, जाति—जनजाति, धार्मिक, भाषिक र क्षेत्रीय सीमान्तकृत, कमजोर वर्ग, अल्पसंख्यक र अधिकारविहीन समुदायमाथि आश्वासनको राजनीति हुँदै आइरहेको छ । यी उत्पीडित वर्ग समुदायको हक, अधिकार र स्वाभिमानको निम्ति संघर्ष गर्ने मजदुर, शोषित र कमजोर वर्गको अधिकार स्थापित गर्न सक्ने इच्छाशक्ति एवं ताकत राख्ने शक्ति कसरी निर्माण गर्ने भन्ने सवाल महत्त्वपूर्ण छ । जात, लिङ्ग, भाषा, धर्म, क्षेत्र, वर्गका नाममा गरिँदै आएको विभेद छूत, अछूत, असमानता, दमन, अत्याचार र हिंसा त छँदैछ, अझै सम्पन्न व्यक्ति या घरानाद्वारा गरिब, निमुखाजनमाथि गरिने भेदभाव चरम बन्दैछ । जहाँ जात या अन्य हेरिन्न, मजदुर आर्थिक विपन्नमाथि अछूतकै व्यवहार गरिन्छ । भारत र नेपाल लगायत मुुलुकमा धनी असाध्यै सम्पन्न बन्दै जाने र गरिब झन् कमजोर, विपन्न बन्दै जने क्रम बढ्दो छ । त्यसकारण भावी पुस्ताले गरिब र सम्पन्न बीचको वर्गीय विभेदको तितो उत्पीडन सहन बाध्य हुनुपर्ने आँकलन गर्न कठिन छैन । किनभने त्यहाँ पनि छुवाछूत, विभेद, उचनीचको भावना र व्यवहार नै प्रदर्शन हुने गर्छ ।
जन्मैदेखि दलितमाथि विभेद हुने गर्छ । दलितका सन्तान जन्मिँदा पण्डितकहाँ नाम जुराउन जाँदा, पण्डित बाले आइतबार जन्भिएको रहेछ भने आइते, मंगलबार जन्मेको रहेछ भने मंगले, बुधे, रिठ्ठे, बेलौते, भैरे इत्यादि नाम जुराइदिन्छन् । अनि नाम रहन्छ— मंगले दमाई, भैरे, रिठ्ठे, बिर्खे, लिखे कामी, दमाई या सार्की इत्यादि । त्यही स्थानमा कथित उच्च जातको सन्तान जन्मिएर नाम जुराउन पण्डितकहाँ गयो भने नाम जुर्छ— चन्द्रप्रकाश, परशुराम, रामप्रसाद, हीराकुमार इत्यादि । छोरी रहिछन् भने लक्ष्मीदेवी इत्यादि । अझै पनि लिखे, काले, पुन्टे, आइते, सोमे, दमाई, कामी, सार्की गन्धर्वहरू जम्मिँदैछन् । किनभने पण्डितले हेपेर नाम बिगार्छ्, आफ्नो सन्तानको नाम आफै राख्नु, जुराउन जान्न भन्ने हिम्मत दलित लगायत उत्पीडित वर्ग समुदायले अझै गर्नसकेका छैनन् । रुखको बुट्टामा आइतबारे, बुधबारे, वायुपूजा गर्न अझै छाडेका छैनन्, दलित वर्ग । बालीघरे दलितको पेसा—व्यवसाय मात्रै होइन, राजनीति र सामाजिक संघ, संस्थामा पनि टुटेको छैन । गाउँमा दर्जी, लोहार, सुनार बालीघरमा काम गर्छन्, सहरमा दलित अधिकारकर्मी विभिन्न राजनीतिक दल, भ्रातृ संघ/संगठनमा बालीघरे राजनीति गर्छन् । फरक कहाँ छ र ?
आर्यघाटमा मलामी जाँदा घाटे ब्राह्मणले लासको जात सोध्छ । मलामीमध्ये कोही बोल्छ— दर्जी, विक या यस्तै दलित जनाउने जात । अनि घाटे ब्राह्मणले ‘ए त्यसो भए यसो गरे हुन्छ’ भनेर लासमाथि समेत विभेद गर्न छाड्दैन । यो तितो यथार्थ भोगाइ हो । एउटा बालक जन्मिएर न्वारन नहुँदैदेखिबाट मृत्युपश्चात् घाटमा पुगेर खरानी हुने बेलासम्म जातीय विभेद, छुवाछूत, अपराधद्वारा पीडित बन्नुपर्ने विडम्बना छ, हाम्रासामु ।
२०५२ सालमा नेकपा माओवादीले सुरु गरेको सशस्त्र द्वन्द्वका प्रथम सहिद थिए, गोरखाका दिलबहादुर रम्तेल । जो दलित थिए । १० वर्ष सशस्त्र युद्धमा दलित वर्गलाई समानता, समावेशिता, अधिकारको मोहमा फँसाएर मर्न अनि मार्न प्रयोग गरिएकै हो । थुप्रै मोर्चामा लडे, मरे, मारे दलितका योद्धाहरूले । प्रचण्ड हाल प्रधानमन्त्री छन् । प्रचण्ड शब्द प्यारो लाग्ने रहेछ, दलित, उत्पीडित वर्ग समुदायलाई । जब प्रचण्ड उर्फ पुष्पकमल दाहाल बन्छ, त्यसपछि प्रचण्ड शब्दको जात, वर्ग, धर्म छुट्टिँदैन । तर पुष्पकमल दाहालको जात छ, जात भन्ने बित्तिकै उचनीच या छूत/अछूत भन्ने अर्थ आउँछ । ‘जनयुद्ध’को प्रचण्ड हालका दाहाल भएका छन् ।
सशस्त्र युद्ध, प्रजातन्त्र, लोकतन्त्र, समावेशी, समानता, मधेस आन्दोन, जाति, जनजाति, दलित मुक्ति संघर्ष र आन्दोलनमा दलित उत्पीडित वर्गको महत्त्वपूर्ण भूमिका रह्यो । मुक्तिका निम्ति सधैं त्यागी र योद्धा बनेको हो, तर कहिल्यै न्याय पाएको महसुस गर्न सकेन, यो वर्गले । जनताको अभूतपूर्व त्याग, बलिदानी र संघर्षबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, विधिको शासन, समानता समावेशी राष्ट्रमा के जात निर्धारण गरेका छन्, राजनीतिक पण्डितहरूले ? लोकतन्त्रको जात के हो ? गणतन्त्रको थर, गोत्र के ? वीर योद्धा र सहिदको रगतको त जात सोधिएन नि !
जातको आधारमा छूत, अछूत, भेदभाव, निकृष्ट व्यवहार, बोली, हिन्दु वर्णाश्रम व्यवस्था चरम र गैरमानवीय प्रवृत्तिको छ । हिन्दु धर्ममा सतीप्रथा थियो । शूद्र र दास (महिला) जातिमाथि गरिने भेदभाव खुकुलो हुँदैछ । अब अन्त्य गर्न जरुरी छ । वास्तवमा जहाँ विभेद, दमन, अशिक्षा, गरिबी, अमानवता, रुढीवाढी छ, त्यहाँ इसाई धर्म र कम्युनिष्टको बढोत्तरी हुने गर्छ । यो संसारकै उदाहरणबाट देखिएको यथार्थ हो । आश्वासन, वाचा, भाग्यवाद, स्वर्ग र नर्कको भ्रम, कट्टरताजस्ता विडम्बनाबाट माथि उठ्न नसकेसम्म समाजको रूपान्तरण एवं परिवर्तन सम्भव छैन । जातीयवाद, विभेद, असमानता अन्त्यको निम्ति सबै पक्ष खुल्ला र प्रतिबद्ध हुन जरुरी छ ।
संसारभरि आफूलाई उच्च जात या नश्ल ठान्ने शासक प्रवृत्ति छ । कुनै पनि जातका नाममा हुने असमानता, विभेद, दमन, युद्ध र शासनसत्ताद्वारा सिर्जित समस्या हो । हिन्दु वर्णाश्रम व्यवस्थामा पनि आर्य वंशको युद्धउन्माद तथा शासनको सुरुवातपश्चात् जातीय भ्रम लादिएको थियो । शासन सत्ता, शक्तिको खेल, युद्धको विजय र पराजय नै जातीय प्रथाको प्रमुख कारक हो ।
नेपालको संविधान २०७२ हाम्रोसामु छ । जनबल, सहिदको रगत—पसिना, परिवर्तनको भोक, त्रासदीद्वारा स्थापित संघीयता, लोकतन्त्र, गणतन्त्र, धर्मनिरपेक्षता, विधिको शासन, न्याय, समानता र समानुपातिक समावेशीकरण, स्वतन्त्रताजस्ता उपलब्धिको संरक्षण गर्न आवश्यक छ । त्यसका निम्ति यस संविधानको कार्यान्वयन जरुरी छ । संविधानको कार्यान्वयन गरी शोषण र उत्पीडनमा परेका दलित, जाति, जनजाति, महिला, कमजोर वर्गको लोकतान्त्रिक हकको प्रत्याभूति दिलाउनुपर्छ । राष्ट्रले सधंै भन्ने गरेको स्थायित्व, दिगो विकास, स्थायी शान्ति र समृद्धि प्राप्त गर्न जातीय, क्षेत्रीय, वर्गीय संकीर्णता त्याग्न जरुरी छ । नश्लवादको संकीर्णता नत्यागेसम्म समृद्धि र शान्ति कल्पना गर्न सम्भव छैन ।
हिजो व्यक्तिहत्या, हिंसाबाट स्थापित र संसदलाई ‘बोकाको टाउको देखाएर कुकुरको मासु बेच्ने ठाउँ’ भनी घृणा गर्ने नेकपा माओवादी (हाल केन्द्र) र धार्मिक लगायत अत्यन्तै दक्षिणपन्थी पार्टी राप्रपा एउटै संसदमा मिलेर सरकार सञ्चालन गर्ने अवस्था छ । त्यो कसरी सम्भव भयो ? लोकतन्त्र नै यस्तो व्यवस्था हो, जहाँ जुनसुकै विचारवाद र सिद्धान्तको शान्तिपूर्ण र अग्रगामी समाधान हुन्छ । लोकतन्त्रमा कुनै व्यक्ति जाति, शासक या जोकोही व्यक्ति संस्थाको गलत काम, व्यवहार र नीतिको विरुद्ध बोल्न पाइन्छ । आन्दोलन, विमति, समर्थन, विरोध, तर्क—वितर्क, पक्ष—विपक्ष हुन्छन् । आफ्नो सिद्धान्त र आस्थाको राजनीति गर्ने जनतालाई अधिकार हुन्छ, लोकतन्त्रमा । तर जातीय उच्चताको शासन चलाएको पण्डित, राजनीतिक गुरुहरूले लोकतन्त्रको जात सोध्नु नौलो होइन । लोकतन्त्रमा समेत ‘बाबु या नानी, तिमी त राम्रो, सभ्य, शिक्षित रहेछौ, जातचाहिँ के पर्यो नि ?’ भन्ने विडम्बनाको अन्त्य गर्ने परिपाटी सिर्जना गर्ने कहिले ? जातीय प्रथा र लोकतन्त्र एकसाथ जान सम्भव छैन ।
कान्तिपुर दैनिक बाट
No comments:
Post a Comment