डा. अम्बेडकर र जातिप्रथाका पाँच सिद्धान्त - नवीन अभिलाषी

विभेद बिरुद्ध अभियान - चैत्र ८ ,डा. भिमराव अम्बेडकर अहिलेका भारतका आरक्षण नीतिका कालिगढ हुन् । उनलाई आरक्षण नीतिका मुख्य जन्मदाता एवं प्रणेता भनिन्छ । उनी एक भारतीय विधिवेत्ता तथा सुधारवादी हुन् । एक राजनीतिक नेता, सुधारवादी बौद्धगुरु तथा भारतीय संविधानका मुख्य वास्तुकार पनि मानिन्छन् । यिनको जन्म एक गरीब अछूत परिवारमा भएको थियो । अम्बेडकरले आफ्नो सारा जीवन हिन्दू धर्मको हिन्दू वर्ण व्यवस्था र भारतीय समाजमा व्याप्त जातीय व्यवस्थाका बिरुद्धको संघर्षमा बिताएका हुन् । अम्बेडकरलाई बौद्ध महाशक्तिहरुको दलित आन्दोलन प्रारम्भ गर्ने श्रेय पनि उनैलाई जान्छ ।

हिन्दू धर्ममा मानव समाजलाई चार वर्णहरुमा वर्गीकृत गरिएको छ । उनी त्यसबेला अछूतहरु मानिएका दलित मध्येका पहिलो व्यक्ति थिए जसले धेरै सामाजिक र वित्तीय बाधाहरु पार गरेर, भारतमा कलेजको शिक्षा प्राप्त गरे । अम्बेडकरले कानुनको उपाधि प्राप्त गर्नका साथै विधि, अर्थशास्त्र अनि राजनीतिक विज्ञानमा आफ्नो अध्ययन र अनुसन्धानका कारण कोलम्बिया विश्वविद्यालय र लण्डन स्कूल अफ इकनमिक्सबाट धेरै डक्टरेट डिग्रीहरु पनि प्राप्त गरे ।

अम्बेडकरको दृष्टिमा जातप्रथाको शास्त्रीय स्वरुपमा हिन्दु समाजको शासन व्यवस्थाका सामाजिक, आर्थिक, सांस्कृतिक तथा राजनीतिक पक्षलाई समेत समाबेश गरेका छन् । उनी हिन्दु धर्म भन्दा पनि हिन्दु समाजलाई फरक दृष्टिकोणबाट व्याख्या गरेका छन् । उनले धर्मलाई गलत अर्थ लगाउनेहरुले समाजमा बिखण्डन ल्याएको बताएका छन् । सन् १९१६ मा अम्बेडकरले जातप्रथाको सन् १९४८ मा छुवाछुतको उत्पत्तीको सिद्धान्त पनि स्थापित गरेका छन् । अम्बेडकरले जात प्रथाका त्यस्ता पाँच विशेषताको पहिचान गरेका छन जस्ले पञ्चितीकरण नै मुख्य चरित्र भएको हिन्दु सामाजको विशिष्ट शासन व्यवस्था बनाए । यस्तो अवस्थाले हिन्दुहरुको जनसंख्यालाई विभिन्न जातका सामाजिक समूहमा विभाजन गर्दछ र उनीहरुका लागि नागरिक सांस्कृतिक र आर्थिक अधिकारलाई जातै पिच्छे विशिष्ट नियम लाद्छ । ती ५ विशेषता यस प्रकार छन् ।

१ एउटै जातभित्र विवाह गर्नु वा सजातीय विवाह गर्नु जातप्रथाको महत्वपूर्ण विशेषता हो ।
२ नागरिक, साँस्कृतिक, शैक्षिक तथा आर्थिक अधिकार आनुबंशिक रुपमा निश्चित हुनु तथा तिनमा परिवर्तन गर्ने स्वतन्त्र नहुनु अर्को विशेषता हो ।
३ सामाजिक तथा आर्थिक अधिकार सम्पत्तीको स्वामित्व, रोजगार, ज्याला, शिक्षा आदि अधिकारको विभाजन माथिल्लो जातदेखि सबैभन्दा तल्लो जातसम्म असमान रुपमा हुनु अर्को विशेषता हो ।
४ अधिकारहरु जात अनुसार असमान र निश्चित मात्र छैनन्, जातको स्तर अनुसार श्रेणीकृत पनि छन् । यसबाहेक केही पेसा वा आर्थिक क्रियाकलाप माथिल्लो स्तरका ठानिन्छन् भने केहीलाई तल्लो स्तरको भनिन्छ । यसबाट पवित्र र अपवित्र भन्ने कलंकमा आधारित श्रेणीबद्ध सरचनालाई पालनपोषण गरिन्छ ।
५ जातप्रथाले कर्म, पुनर्जन्म आदि सिद्धान्तलगायत हिन्दु धार्मिक दर्शनका विभिन्न तत्वबाट आफूलाई न्यायोचित ठह¥याउँछ । 

उनको पहिलो सिद्धान्तले सजातीय विवाहकै कारण जातीय विभेदको प्रथा चलेको तथा यसको अन्त्य हुन नसकेको बताउँछ । हामी बहुजातीय, बहुसांस्कृतिक र बहु सामाजिक परम्परामा अवस्थित भएका कारण यो सिद्धान्तले हामीलाई बढि समातेको छ । अहिले पनि दलितको छोरी ब्राह्मण समाजमा सहजै विवाह हँुदैन । ब्राह्मणमा पनि जैशी र उपाध्याय ब्राह्मणको बीचमा पनि ठूलो खाडल छ । हरेक व्यक्तिका रोजाई, क्षमता र भावनाहरुलाई कुनै ठाउँ दिइएको छैन । अन्तर्जातीय विवाहका कारण नेपाली समाजमा दम्पत्तीले भोग्ने गरेको बहिस्करणका विषयहरु नौलो र सामान्य हैन । बहिस्करणमा परेका व्यक्ति र बहिस्करण गर्ने व्यक्तिहरुको बाटो फरक हँुदै जान्छ र एउटै समाजलाई फरक धारबाट अगाडि बढाउँछ ।

दोस्रो सिद्धान्तमा नेपालमा हाल धेरै रुपान्तरण भएको छ । यद्यपी दलितहरुको हकमा भने समस्या झनै विकराल बनेको महसुस हुन्छ । अहिले दलित र गैरदलित बीचमा खाडल बन्नुको कारण नागरिक, सांस्कृतिक, शैक्षिक र आर्थिकका विषयहरुमा एउटा तप्का वा समुदायलाई फरक रुपले व्याख्या गर्नु नै हो । अहिले पनि धेरै त्यस्ता पर्वहरु छन् जो दलितलाई थाहा हुदैन । ब्राह्मणहरुले पात्रो हेरेकै भरमा त्यस्ता पर्वहरु मनाउँछन् । तर, दलितले मनाउँदैनन् । उनीहरुले थाहा नै पाउँदैनन् । यसमा कार्यक्षेत्रले गर्दा ठूलो प्रभाव पारेको छ । जातिगत रुपमा पेसा पूर्वनिर्धारित हुनु र अधिकारको सवालहरु प्रत्याभूत नहुनुले विभाजन खडा गरेको छ । बास्तवमा अधिकारको समान वितरण नहुनु नै जातिप्रथाको मुटु हो । सदियौंदेखि दलित र गैरदलितको बीचमा एउटा आर्थिक मुद्धा प्रबल बनेर आउँछ दलितको विषयमा । यतिमात्र हैन राजनीतिक तवरमा एउटा बहसको विषय नै छ दलित समुदायको समस्या समाधानका लागि वर्गीय मुद्धा उठाउने कि जातीय मुद्धा उठाउने ? अम्बेडकरले उठाएको विषय पनि यहि हो । जबसम्म दलितहरुको जीवनस्तरमा उठाउनमा राज्यले पहल गर्दैन तबसम्म दलितका समस्या समाधान गर्न सकिदैन । यहाँ दलितले पाउने ज्यालादेखि राज्यबाट प्राप्त हुने सेवा सुविधामा विभेद भएका कारणले नै दलित समुदाय पछाडि परेको हो भन्ने अम्बेडकरको सिद्धान्तले बताउँछ ।

यस्तै उनको तेस्रो सिद्धान्तमा हिन्दु सामाजिक परम्पराले दलित र गैरदलितलाई कानुनी रुपमा फरक व्याख्या गरेको छ त्यो अहिले पनि छ । चाहे त्यो दलितलाई सेवा सुविधा दिने सवालमा किन नहोस् । यसबाट पनि दलितमाथिको थिचोमिचोको सवालमा केही काम गरेको छ । विभिन्न जात र तहका आधारमा अधिकार तथा सेवा सुविधा हुनु हिन्दु समाजमा जातीय विभेद फैलाउने जड हो । प्रथमत ः जातिगत रुपमै अधिकार र सेवा सुविधा निर्धारण नगरिनुपर्ने दोस्रो ती अधिकार र कामहरुको अपब्याख्या नहुनु पर्ने । अम्बेडकरले भनेका छन्, जातीय विभेद र छुवाछुत एकल जातमा कहिल्यै रहदैन । बहुजातमा मात्र यसको अस्तित्व छ । समाजले सदियौंदेखि यस सम्बन्धी मान्यता कायम राख्दै आएको छ । ब्राह्मणहरु समाजका मात्र नभएर ईश्वरीय शक्तिबाट पनि विशिष्ठ हुन्छन् भन्ने मान्यता राखियो । जहाँबाट दलितहरु भाग्न सक्दैनन् ।

सम्पत्तीको अधिकार, जग्गादेखि लिएर राज्यका निकायहरुमा समेत पहुँचले गैरदलित माथि छन् भन्ने अम्बेडकरको भनाइ हो । शैक्षिक क्षेत्रको कुरा गर्ने हो भने शुद्रलाई पढ्ने मात्र हैन सुन्ने अधिकारसम्म पनि दिइएको छैन । त्यस्तै रोजगारी त्यसमा पनि सरकारी निकायहरुमा आबद्ध हुने गैरदलितहरु नै आनुपातिक रुपले धेरै छन् । जहाँ स्वभावैले अधिकार बाँडफाँडमा विभाजन देखिन्छ । यसैको जगमा टेकेर विभेद हुन्छ । हिन्दु धार्मिक मान्यता अनुसार दलित अर्थात् शुद्रले अन्य जातिको सेवा गर्नु हो । तर, उनीहरुले पाउने ज्यालामा भने अन्याय हँुदै आएको छ । यसरी धार्मिक त छदै त पुरातन समय देखि नै दलितमाथि सामाजिक, सांस्कृतिक, आर्थिक, राजनीतिक क्षेत्रहरुबाट बहिस्करणमा पार्दैपार्दै खेद्ने काम भएको छ ।

अम्बेडरको चोथो सिद्धान्तले नेपाली दलित आन्दोलनको मुल मर्मलाई समेट्ने काम गरेको छ । अम्बेडकरले सन् १९४८ मा जातप्रथाको छुवाछुत उत्पत्तीको सिद्धान्त स्थापीत गरेका हुन् । यो विषय नेपालका ब्राह्मणदेखि शुद्रसम्म लागु हुन्छ । ब्राह्मण, क्षेत्री, बैश्य र शुद्रभित्र पनि अनेक जाति छन् । तर, देखिएको भनेको दलित र ब्राह्मणभित्र मात्र हो । अहिले पनि जैशी ब्राह्मणहरुले पकाएको वा छोएको नखाने उपाध्याय ब्राह्मण धेरै छन् हाम्रो समाजमा । त्यस्तै गन्धर्वले छोएको वा पकाएको नखाने, सार्की र कामीहरु धेरै छन् । यसरी हिन्दु समाजमा देखिएका जातीयहरु जुन चार वर्णमा परिभाषित गर्दै आएका छौं ती सबै वर्णभित्र ठूलाठूला खाडलहरु रहेका छन् । ती खाडलहरुलाई पुर्ने समस्या छ अहिले हामीसँंग । चारै वर्णभित्र जातिय विभेद छ । तर, पवित्र र अपवित्रको कलंक लगाउने काम अरुमा भएको छैन । तर, दलितमा अपवित्रको कलंक लगाइएको छ ।

नेपालको जाति प्रथा हिन्दु धर्मबाटै आएको हो भन्नेमा दुईमत छैन । अम्बेडकरले पाँचौं सिद्धान्तका रुपमा व्याख्या गरे अनुसार कर्ममा विस्वास गर्ने दलितहरु पछाडि नै पर्छन् । तर, दलितहरुले हामी पछाडि परेका छांै भन्ने कुराको ज्ञान प्राप्त गर्न नसक्नु बास्तवमै पीडादायी कुरा हो । उनीहरुले हिन्दु दर्शनले भने बमोजिम नै आफ्नो जीवन शैलीलाई परिवर्तन गर्दै जानु जातिप्रथाको विकास भएको पाइन्छ ।

यसरी अम्बेडकरले जातिप्रथा उत्पत्तीका पाँच सिद्धान्तले भारतका दलितहरुको समस्या बुझ्नमा ठूलो सहयोग प्राप्त भएको थियो । तर, अहिले पनि भारतमा धेरै दलितहरु पीडित अवस्थामा नै छन् । यो विषय नेपालका प्रत्येक दलित अधिकारको क्षेत्रमा काम गर्नेहरुलाई अवगत छ । तर, यस अनुरुपले काम हुन सकेको छैन । नेपाली दलितभित्रको समस्या डां भिमराव अम्बेडकरको सिद्धान्त भन्दा पर छैनन् । उनका सिद्धान्तमा गहिरो अध्ययन छ । नेपाली दलित आन्दोलनमा भारतीय विषयहरु धेरै छन् । उनले भारतका तल्लो जातका समुदायलाई सम्बोधन गर्नका लागि प्रतिपादन गरेको दलित शब्द अहिले नेपालमा हामीले व्याख्या गरिरहेका छौं । त्यतिमात्र हैन अहिले दलितको क्षेत्रमा अधिकारकर्मीहरुले जे विषयहरु उठान गरिरहेका छन् त्यो विषय अम्बेडकरले भारतमा धेरै पहिले नै उठाएका हुन ।

 गणतन्त्र दैनिक बाट 

No comments:

Post a Comment