रहेनन् दैलेखको दलित आन्दोलनका प्रणयता लालवीर सुनार

विभेद बिरुद्ध अभियान - दैलेख, चैत १४ – दैलेखको दलित आन्दोलनका प्रणयता कांग्रेस नेता लालवीर सुनारको ९३ वर्षको उमेर बुधबार निधन भएको छ । वर्षदेखि दम रोगले थलिनुभएका उहाँको उपचारको क्रममा नेपालगञ्जमा निधन भएको हो । 

उहाँको पार्थिव शरीर हिन्दू संस्कार अनुसार राप्ती सिधनियामा बुधबार नै दाहसंस्कार गरिएको उहाँका जेठा छोरा धर्मबहादुर सुनारले जानकारी दिनुभयो । 

दलितहरुको मृत्युको बेला शंख फुक्न र दलितहरुले महायज्ञ लगाउन पाउनु पर्ने भन्दै धार्मिक अधिकार अभियानका उहाँ प्रणेता हुनुहुन्छ । २०४० देखि १० वर्षको अनवरत संघर्षपछि दैलेखमा अहिले सबै ठाउँमा गैरदलितले जस्तै दलितहरुको मृत्युमा पनि शंख फुक्न पाएका छन् । 

स्वर्गीय लालवीर सुनार २०१२ सालमा स्थापना भएको नेपाल प्रहरी सेवामा प्रवेश गर्ने पहिलो दलित व्यक्ति हुनुहुन्छ । राणाकालमै २००६ मा नेपाली कांग्रेसको सशस्त्र समूह जनमिलिसियाबाट राजनीतिमा संलग्न हुनु भएको र त्यस समूह २०१२ मा नेपाल प्रहरीमा गाभिँदा उहाँले प्रहरी सेवामा प्रवेश गर्नुभएको थियो ।

२०३० सालमा नेपाल प्रहरीको हवल्दार पदमा सेवा निवृत भए पनि निरन्त कांग्रेसको राजनीतिमा जुट्नुभएको थियो । पश्चिम नेपालको जनमिलिसिया कमाण्डर बनेका कांग्रेस नेता रत्नबहादुर विश्वकर्मालाई सफल योद्धाको रुपमा स्थापित गर्न लालवीर सुनारको महत्वपूर्ण योगदान रहेको कांग्रेस नेता जगतजंग थापाको भनाई छ । 

पञ्चायत कालमा पटक–पटक गरी १२ वर्ष साविकको वसन्तमाला गाउँपञ्चायतको जनपक्षीय निर्वाचित वडाध्यक्षको जिम्मेवारी निर्वाह गरेका उहाँ नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल दलित संघका संस्थापक जिल्ला सभापति र संघको केन्द्रीय सदस्य समेत हुनुभएको थियो । 

दैलेखको नारायण नगरपालिका–८ किमुगाउँका स्थायी बासिन्दा स्वर्गीय लालवीर सुनारका श्रीमती, २ छोरा र ३ छोरी हुनुहुन्छ । कान्छो छोरा दीपक सुनारको २८ वर्षकै उमेरमा ९ वर्ष अघि निधन भएको थियो । 

No comments:

Post a Comment