विभेद बिरुद्ध अभियान -काठमाडौं, फागनु २४ – १०८औँ अन्तराष्ट्रिय महिला दिवस मनाईरहेका सन्दर्भमा सुन्दा जो कोहीलाई आश्चर्य लाग्न सक्छ तर यो यर्थाथ हो, जसले एक वर्षसम्म श्रम बापत एक पाथी मकै वा दुई सय रुपैयाँ पाउँछन् । उनी हुन काभ्रेको साविक बल्थली गाविसकी ६३ वर्षिया कान्छीमाया नेपाली । सहरका विभिन्न ठाउँमा अन्तराष्ट्रिय महिला दिवसका अवसरमा कार्यक्रम गरी मनाई रहँदा कान्छीमाया भने गाउँ गाउँमा पुगेर लुगा सिलाइरहेको भेटिइन् । उनले भेटको क्रममा आफुलाई महिला दिवस भनेको के हो भन्ने समेत थाहा नभएको बताइन् । उनले यसरी गाउँ-गाउँमा गएर लुगा सिलाउने काम गरेको तिन दशक बितेको सुनाईन् । उनका अनुसार अहिले सम्म पनि एक बर्षभरीको आफ्नो पारिश्रमिक बराबरको ज्याला दिनेले एक पाथी मकै र मकै नदिनेले दुई सय रुपैयाँ दिन्छन् र उनी त्यसैमा चित्त बुझाउने गर्छिन् ।
उमेरले ६३ वर्ष पुगेकी नेपालीले बर्षभरी गाउँघरका आफ्ना विष्ट(ग्राहक)को लुगा सिलाए बापत प्रत्येक घरधुरीसँग एक पाथी मकै र दुई सय रुपैयाँ लिने गर्छिन् । सदियौं देखि चलिआएको वालि घरेप्रथा निर्मुल हुन नसक्दा आफूहरुले काम गरे बापतको मूल्य नपाएको गुनासो कान्छीमाया नेपालीको छ ।
कान्छीमाया नेपाली त एक प्रतिनीधि पात्र मात्र हुन् उनी जस्तै ग्रामिण भेगका दलित समुदायले लुगा सिलाएको र कृषि औजार बनाएको पारिश्रमिक बापत अहिले पनि वालीघरे प्रथामै चित्त बुझाउनु परिरहेको छ । सदरमुकाम नजिकै साविक टुकुचा गा.वि.स. वडा नं. ७ की तारामाया दमाईको पीडा पनि कान्छीमायाको भन्दा कम छैन श्रम अनुसारको ज्यालामा । उनले पनि लुगा सिलाए बापत मकै, र धानमा काम गरिरहेको सुनाइन् । आफुले काम गरेको पारिश्रमिक स्वरुप उनले विस्ट(ग्राहक)बाट बार्षिकरुपमा अन्न लिने गर्छन् ।
अझै पनि ग्रामिण भेगमा छुवाछुत प्रथा हट्न सकिरहेको छैन त्यसमाथि सदियौं देखि चलिआएको बालिघरे प्रथामा उनीहरु चित्त बुझाउन बाध्य छन् । वालीघरे प्रथा अनुसार उनीहरु परिवारबाट भिन्न हुँदा ग्राहकको पनि अशंबण्डा गर्ने गरेको विश्वकर्मा बताउँछिन् ।
श्रम शोषणमा दलित महिला
आफ्नो अशंमा परेको ग्राहकको बर्षदिनको औजार बनाउने तथा लुगा सिउने काम उनीहरु वालीघरेप्रथाको आधारमा गर्दै आइरहेका छन् । जनयुद्घकालमा नेकपा माओवादीले वालीघरेप्रथा उन्मुलनको लागि पहल गरेपनि शान्तिपूर्णकालमा यो प्रथा कायमै रहेको छ । दलित मुक्ति मोर्चाकी केन्द्रीय सदस्य गीता रसाईली अझै पनि ग्रामिण भेगमा यो प्रथा रहेको स्वीकार्छिन् । उनी भन्छिन् ‘ठूला मेशिन किन्न सक्नेले शुल्क तोकेर काम गरेपनि ग्रामिण भेगका गरिब दलितहरु अझै पनि वालीघरे प्रथाका कारण श्रम शोषणमा परिरहेका छन् ।’
दलितसम्बनिध काम गर्ने दर्जनौ संस्था सदरमुकाममा सिमित भईदिँदा ग्रामिण भेगका दलितहरु आफ्नो पारिश्रमिक लिन सकिरहेका छैनन् । ‘दलितका नाममा आएको अर्बौ रुपैयाँ सदरमुकाममा सभा र सेमिनार गरेर सकिन्छ तर हाम्रो हितको लागि खासै काम गरेको देखिँदैन साविक च्यासिंखर्क वडा नं. ६ कामिडाँडाका मसलीमाया विश्वकर्मा गुनासो गर्छिन् । ‘
राजनीतिक परिवर्तन भए अबस्था उस्तै
पटक पटक भएको राजनीतिक परिवर्तनले समाजमा दलितलाई हेर्ने दृष्टिकोणमा परिर्वतन आएपनि पेसाकै कारणले समाजमा हेप्ने प्रवृतिको अन्त्य भइनसकेको माओवादी केन्द्रका युवा नेता एंव पूर्व संसाद तेजबहादुर मिजार बताउँछन् । ‘सहरी क्षेत्रमा विस्तारै दलितहरुप्रति हेरिने दृष्टिकोण र गरिने व्यवहारमा सुधार आएको भए पनि ग्रामीण क्षेत्रमा कथित उपल्लो जातका मानिसहरुबाट अपहेलित बन्नुपरेको छ । अझै पनि पसलमा चिया खाएमा गिलास पखाल्नुपर्ने सार्वजनिक धारा, मन्दिर जान बञ्चित रहनु पर्ने, छाएमा पानीको छिटा हाल्नेजस्ता विभेद सहनुपरेको मिजारले भने ।’ ‘यी सबै कुराको अन्त्य गर्न दलित समुदायको शिक्षा र आर्थिक स्रोतमा पहँुच अभिवृद्धि गर्नु नितान्त आवश्यक छ ।’ जिल्ला र स्थानीय तहसम्मलाई दलितका लागि सञ्चालन हुनुपर्ने कार्यक्रम समेत जिल्लाका ग्रामीण क्षेत्रमा बस्ने दलित समुदायसम्म पुग्न नसकेको उनीहरुको गुनासो छ ।
No comments:
Post a Comment