लमजुङको थुम्काडाँडास्थित दलित बस्तीमा दलित संग्राहलय निर्माण


विभेद बिरुद्ध अभियान - फागुन २२   -  लमजुङ – जिल्ला विकास समितिको पहलमा होमस्टे (घरवास) कार्यक्रम सुरु गरिएको ग्रामीण पर्यटकीय गन्तव्य गाउँसहरको थुम्काडाँडास्थित दलित बस्तीमा दलित संग्राहलय निर्माण गरिएको छ । दलित समुदायको ऐतिहासिक, सांस्कृतिक, सामाजिकलगायत विविध पक्षबारे गाउँमा आउने पर्यटक एवं नयाँ पुस्तालाई जानकारी गराउने उद्देश्यले संग्रहालय बनाइएको हो ।स्थानीय जनज्योति युवा क्लबको पहलमा राक्सेस्थान आमा समूह र जयश्री गणेशबाबा समूहको सक्रियतामा मौलिक शैलीको परम्परागत गोलाकार आकारमा संग्रहालय निर्माण गरिएको छ । ढुंगामाटो र काठको जडानबाट निर्माण गरिएको गोलाकार घरलाई बाहिरबाट सिमेन्ट प्लास्टर गरिएको छ ।

परम्परागत शैलीको सो घरमा पुरानै डिजाइनमा आँखीझ्याल, दुईपलेटा ढोका र खोपाहरू बनाइएको छ । माथिल्लो तलामा चढ्न पुरानै शैलीमा काठ खोपेर बनाइएको लिस्नो (भ¥याङ) राखिएको छ । संग्रहालयको अवलोकनकर्तालाई बाहिरबाट हेर्दा र भित्र घुमफिर गर्दा पनि परम्परागत घरकै अनुभूति मिलोस् भन्ने उद्देश्यले संरचना निर्माण गरिएको सिकर्मी हर्कबहादुर मौरतीले बताए ।
संग्रहालयका लागि जग्गा सम्याउने, घर निर्माण र साजसज्जा गर्ने, परिसरमा सुरक्षा पर्खाल निर्माण गर्दा १० लाख रुपैयाँ खर्च भइसकेको जनज्योति युवा क्लबका सल्लाहकार एवं बेसीसहर नगर कार्यपालिकाका सदस्य अजय मजाकोटीले बताए ।

उनका अनुसार संग्रहालय निर्माणमा तत्कालीन जिल्ला विकास समितिले तीन लाख रुपैयाँ, नगरपालिकाको दलित कोष र पर्यटन कार्यक्रमबाट १ लाख ३३ हजार ४ सय ६८ रुपैयाँ सहयोग प्राप्त भएको छ । त्यस्तै गाउँमा आयोजित सांस्कृतिक कार्यक्रम, स्थानीय आमा समूह, बाबा समूह र वैदेशिक रोजगारमा गएका युवाहरूबाट ५ लाख ५० हजार रुपैयाँ सहयोग संकलन गरी संग्रहालय निर्माण गरिएको हो । संग्रहालयको मुख्य संरचना निर्माणको काम सकिएको छ । संग्रहालयको फिनिसिङमा अब करिब १० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको मजाकोटीले बताए । आजको नयाँ पत्रिक दैनिकमा खबर छ ।

संग्रहालयमा दलित समुदायका पुख्र्यौली मौलिक र परम्परागत सीपबाट बनेका सामग्री ढिकी, जाँतो, सिलौटो, ठेकी, मदानी, आरन, फलामका औजारहरू, सुनका नमुना गहना, छाला जुत्ता, दाम्लो, हडौँलो, झोलाजस्ता छालाका सामान, सूचीकारले बनाएका पुराना शैलीका कपडा, बाँस र निगालोबाट बनाइएका छत्री, स्याखु, डोको, डालो, नाम्लोलगायत चोयाका सामान र सम्भव भएसम्म जुत्ता बनाउने परम्परागत कारखानासमेतको संग्रह गरिने क्लबका अध्यक्ष विजय दुलालले बताए । ‘गाउँमा नयाँ काम गरिएको छ, धेरैतिरबाट प्रशंसा पनि भएको छ,’ दुलालले भने, ‘हामी निकै उत्साहित भएका छौँ, स्वदेश र विदेशमा रहेका दाजुभाइले पनि सहयोग धेरै गर्नुभएको छ ।’ दलित समुदायको मात्रै संग्रहालय निर्माण गरेको सम्भवतः नेपालमै पहिलो हुन सक्ने दाबी पनि उनले गरे ।

१३ फिट गोलाइको संग्रहालयको छानो बन्दीपुरबाट ल्याइएको स्लेट (ढुंगा) ले छाइएको छ । बाहिरी भित्तोमा प्लास्टर गरी माटो र कमेरोजस्तै मौलिक देखिने रङले पोतेर फूलबुट्टा भरिएको छ भने मौलिक ढाँचाकै एक ढोका र ४ वटा झ्याल राखिएको छ । भित्तोमा रातो माटोले लिप्ने, माथिल्लो तलमा उक्लिन परम्परागत लिस्नो राख्ने, आँगनमा ढुंगा छाप्ने, पिँढीमा कुखुराको खोर बनाउने तयारी भएको बाबा समूहका कोषाध्यक्ष पञ्चबहादुर हिमालीले बताए ।

थुम्काडाँडामा दलित समुदायको चार सय परिवारको बसोबास छ । लमजुङ दरबार, लमजुङकालिका, देवीस्थान र काउलेपानी देवीमन्दिर, पुरानकोट गढी, काउलेपानी होमस्टे गाउँलगायत पर्यटकीय गन्तव्य भएकाले गाउँसहर ऐतिहासिक, धार्मिक तथा पर्यटकीय महत्वले भरिपूर्ण छ । आफ्नो गाउँलाई पर्यटकको गन्तव्यस्थल बनाउने गरी दलित समुदायले चार वर्ष लगाएर आफ्नो गाउँमा संग्रहालय निर्माण गरेको बाबा समूहका अध्यक्ष रामबहादुर दुलालले बताए ।

सामाजिक सद्भाव कायम गर्दै समतामूलक समाज निर्माण गर्न, जातीय अन्तर्घुलन र दलित समुदायको आम्दानी बढाउने उद्देश्यले तत्कालीन जिविसले गाउँसहर र घलेगाउँको दलित समुदायमा घरवास कार्यक्रम सञ्चालन गरेको हो ।

No comments:

Post a Comment