अफ्रिकाका काला जाति र एसियाका दलित- रमेश विश्वकर्मा

विभेद बिरुद्ध अभियान - चैत्र ५  ,    विभेद यस्तो विष हो, जसले सम्मानका साथ बाँच्न र मर्नसम्म पनि दिँदैन । मानव जातिमाथिको यही विभेदलाई निर्मुल गर्ने उद्देश्यले संयुक्त राष्ट्र संघ र यसका सदस्य राष्ट्रहरुले रंगभेद उन्मुलनको अन्तर्राष्ट्रिय दिवस प्रत्येक वर्ष विश्वभरि मनाउने गर्छन् । २१ मार्चमा ५१ औं रंगभेद उन्मुलनको अन्तर्राष्ट्रिय दिवस विश्वभर मनाइँदै छ ।
प्रसंग अफ्रिकाको 

अफ्रिकी राज्यको स्रोत गोराहरुको नियन्त्रणमा थियो । खेतीयोग्य जमिनहरु, आलिसान महलहरु, व्यवस्थित शहरहरु, सामाजिक इज्जत प्रतिष्ठा, विलासी जीवन र सम्मान गोराहरुको सामाजिक घेराभित्र थिए । कालाहरु केवल समाजका श्रमिक, नोकर अपहेलित र विभेदबाट सिकार भएका थिए ।
तत्कालीन अफ्रिकी समाजमा कालाहरुले घरबाट बाहिर निस्किँदा गोराहरुको आज्ञा वा पास अनुमति लिनुपर्ने बाध्यात्मक कानुनी व्यवस्था थियो । शहरमा सीमित समयभन्दा बढी समय हिँडडुल गर्न नपाइने नियमहरु थिए ।
तत्कालीन शासकहरुले कालाहरुलाई सामाजिक दास बनाइराख्न विभिन्न प्रपोगाण्डायुक्त नीति र नियमहरु निर्माण गरेका थिए । यस्तो सामाजिक विभेदले थिचिएको बल्याक सोसाइटी विभेद विरुद्ध अहिले पनि संघर्षशील छ । रंगकै आधारमा हुने विभेदका कारण अहिले पनि कालाहरु प्रताडित छन् । जसरी हाम्रो समाजमा दलितहरु उत्पीडनमा छन् ।
१७ औं शताब्दीको मध्यतिर गोराहरुको अफ्रिका प्रवेशले सिंगो दक्षिण अफ्रिका नै अशान्त बन्यो । दक्षिण अफ्रिकी जनता गोराहरुको रणनीतिसँग हारे र सामाजिक दासको रुपमा बाँचे । २७ जुन १७९७ मा अर्ल मर्काटमेले केप कोलोनीमा कालाहरुलाई प्रवेश निषेध गरे । कालाहरुले कोलोनी प्रवेश गर्न अनिवार्य रुपमा गोराहरुको पास (अनुमति) लिनुपर्ने नियम लागू गरियो ।
सन् १९१० मा केप कोलोनी दक्षिण अफ्रिकी संघमा विलय भयो र बिटिस साम्राज्यको उपनिवेश बन्यो । सन् १९२३ मा यो व्यवस्थालाई शासकहरुले सार्वजनिक कानुनकै रुपमा विकास गरे ।
कालाहरुमाथि अप्राकृतिक व्यवहार देखाएको तत्कालीन अफ्रिकी कानुनलाई १९४५ मा केही संयोजन गर्न खोजिए पनि १९५२ मा फेरि विभेदयुक्त कानुन तत्कालीन अफ्रिकी शासकहरुले संशोधन गर्न प्रस्ताव गर्‍यो, जसलाई ‘पास ल’ भनिन्छ ।
सन् १९५२ को संशोधित ऐनले कालाहरुलाई सर्वस्वहरण सहित सामाजिक बहिष्करणमा पारियो, १६ वर्षमाथिका सबै कालाहरुलाई आन्तरिक पासको अनिवार्य कानुनी व्यवस्थाको निर्माण गर्न खोजियो ।
   खुला र भूमिगत क्रियाकलापमा संलग्न अफ्रिकन राष्ट्रिय कंग्रेसको करिव ८ वर्षको संगठित र अनवरत शान्तिपूर्ण संघर्षलाई प्रभावकारी बनाउँदै गाउँ-शहर, सबैतिर हस्तक्षेप गर्दै आएको कालाहरुको संघर्षलाई शासकहरुले निरीह र कमजोर देखेर २१ मार्च १९६० मा अफ्रिकाको सार्प भिल्लेमा ६९ जना शान्तिपूर्ण आन्दोलनमा सहभागीहरुलाई राज्यले हत्या गर्‍यो ।
सिंगो दक्षिण अफ्रिकी कालामाथिको सामाजिक विभेदलाई यो घटनाले अन्तर्राष्ट्रियकरण गर्‍यो र सिंगो विश्वको ध्यान दक्षिण अफ्रिकी गाउँ सार्प भिल्लेमा केन्द्रित भयो । सिंगो विश्व मानव समुदायलाई यो घटनाले स्तब्ध पार्‍यो । यो विभेदको विरुद्ध सिंगो मानव समुदाय उभियो र अन्ततः सन् १९६६ मा संयुक्त राष्ट्र संघले विश्वव्यापी रुपमा रंगभेद विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाउन थालेको हो ।  त्यहीँबाट २१ मार्चमा विभेदमा परेका मानव जातिको पर्वको दिनका रुपमा मनाउन थालिएको हो ।
नेपालमा पनि पछिल्लो समय सामाजिक क्षेत्रमा काम गर्ने उत्पीडित र दलित संघ-संस्थाहरुले यो दिनलाई विशेष दिनको रुपमा मनाउने गर्छन् । दलितहरुको इतिहास र कालाहरुको विगतको करिब-करिब उस्तै आकृतिका छन् ।
रंगभेद र जातिभेदको साइनो
रंग र जाति भन्ने शब्द नितान्त फरक हुन् । दक्षिण अफ्रिका र दक्षिण एसिया फरक भूगोल र परिवेश भएका क्षेत्र हुन्, तर पनि अफ्रिकी मूलका कालाहरुले भोगेको सामाजिक विभेद र एसियाली मूलका दलित समुदायले भोगेको सामाजिक विभेदमा तात्विक भिन्नता देखिँदैन । दक्षिण अफ्रिकी समाजमा कालाहरुलाई बाटोमा हिँड्न, बजार घुम्न र सार्वजनिक स्थान प्रवेशमा प्रवेशाज्ञा बेगर बन्देज थियो । एक किसिमले सामाजिक बहिष्कार थियो ।
दलितहरुको अवस्था पनि बिलकुल त्यस्तै हो । दलित समुदायप्रति समाजको व्यवहार निकै तल्लो स्तरको छ ।श्रम चलेको छ, सीप चलेको छ, रगत चलेकै छ, तर पानी चलेको छैन । सार्वजनिक स्थानमा जान बन्देज नै छ । शताब्दीदेखिको आर्थिक शोषण र सामाजिक विभेद उस्तै छ ।
काला वर्ण भएका अफ्रिकीहरुले भोगेको रंगभेद तथा धर्मको आवरणमा जन्मिएको शुद्रजातिले भोगेको जातीय विभेदका परिवेश र भोगाइहरु नितान्त फरक हुन् । तर, उत्पीडितको पीडा एउटै हो । जुनसुकै आधारमा भए पनि विभेद आखिरमा विभेद नै हो । सुन्दर मानव जीवनका लागि विभेद विषभन्दा फरक हुँदैन ।

No comments:

Post a Comment