दलित मुक्तिमा विचारधारात्मक सवाल- मोतीलाल नेपाली

विभेद बिरुद्ध अभियान - चैत्र ३, दलित आन्दोलनको मौलिक प्रश्न राज्यसत्तामा दलितलाई स्थापित गराउने हो । त्यसका लागि दलित, उत्पीडित जनताको मुक्तिमा सत्ताको सम्बन्ध महŒवपूर्ण रूपमा अघि आउँछ । यसकारण दलित, गरिब, सर्वहारा वर्गको मुक्तिका लागि सत्ता नै मुख्य चीज हो । दलित राज्यसत्ताभन्दा बाहिर बसेर छुवाछूतको युगीन दासत्व र अन्यायको घुट पिएर बाँच्दै आएको दलितको पीडालाई बदल्नै सक्दैन । त्यसकारण, दलितलाई सत्ताभन्दा बाहिर राखेर समाजमा शासक वर्गले देखाउने सतहको विकासका केही सामाजिक, आर्थिक सुधारका कुराले मात्र दलित जनताको न्याय, सार्वभौमिकता र स्वाधीनताको रक्षा गर्न सक्दैनौं । अहिले दलितलाई राज्यको कानुन संविधानमा सत्ताशक्ति, स्रोतको पहुँचमा जेजति हक स्थापित छ, त्यसलाई भरपुर प्रयोग गर्दै थप अधिकारका लागि संघर्ष गर्दै अघि बढ्ने भन्छौं हामी । हामीले देख्यौं, भोग्यौं, नयाँ शासक वर्गले पनि दलित श्रमजीवी वर्गलाई देशका लागि गरेको बलिदान त्यागलाई बिर्सेर सत्ताको पहुँचभन्दा पर सार्ने काम भयो । दलितलाई अछूत बनाइराख्ने, सत्ताशक्तिमा आउनै नदिने संरचनागत रूपमा शासक वर्गको मनोविज्ञानले विभिन्न बाधा खडा गरेको कुरा सत्य हो ।

अहिले पनि दलितलाई अछूत, दास, गुलाम, कमारोजस्तोलाई रहने व्यवहार अझै पनि समाजमा जीवित रहेको छ । त्यो काठमाडांैंमा डेरा खोज्न जाँदा दलित भनेर जुन अपमान गरियो, त्यो अपमान खेदपूर्ण छ । अहिले पनि दलितप्रति हेर्ने समाजको चेतनास्तर कति पछौटे र क्रुर अमानवीय छ भन्ने कुरा यो घटनाले प्रमाणित गरेको छ । अब व्यवहारबाट छुवाछूत अन्त्यका लागि देशको संविधान कानुनले दिएको अधिकार प्रयोग गर्दै स्थानीय पुलिस प्रशासन तथा नेपाली शासक वर्गले सांस्कृतिक रूपान्तरणमा निर्मम तरिकाले कदम चाल्नु अनिवार्य छ । यही पुँजीवादी संरचनाभित्र पनि हामी जातीय छुवाछूत अन्त्य गर्न सक्छौं तर त्यो सहज रूपमा शासक वर्गले दिँदैन, त्यसका लागि संघर्ष अनिवार्य छ । उत्पीडित दलितहरूले आफ्नो हकका लागि क्रान्तिकारी आन्दोलनद्वारा अधिकार पूरा गराउन लड्नु अनिवार्य हुन्छ । दलितप्रति भइरहेको छुवाछूतको युगीन दासत्वको अन्याय असमानता र उत्पीडनका विरुद्ध अब दलितको एकीकृत संघर्ष आवश्यक भएको कुरा सामाजिक जीवन व्यवहारबाट देखिएको छ ।

अब हामी यिनै उत्पीडन अन्यायका विरुद्ध लड्न दलित अग्रगामी क्रान्तिकारी वर्गसँग एकाकार भएर दलित आन्दोलनको मूल प्रभावीकरणमा अघि बढ्नुपर्छ । यसबाट दलितलाई सत्ताको नीति निर्माण गर्ने तहमा पुग्नैपर्ने बार्गेनिङ शक्ति बढ्छ । जसबाट शासक वर्गले दलितलाई शक्ति हस्तान्तरण गर्न बाध्य हुन्छ । हामीले बुझ्न जरूरी छ, दलित मुक्तिका लागि सत्ता प्रधान हो, सत्ताभन्दा अरू कुरा भ्रम हो । सत्तामा सहभागी हुने कुरा यो दलित मुक्तिको सार्वभौम नियम हो । यसलाई दलित आन्दोलनले पछ्याउन आवश्यक छ । दलित सत्तामा नपुगी समाजको अपमानपूर्ण जातीय विभेद हटाउन सक्ने कुरा आउनै सक्दैन । त्यसकारण, अहिले दलितलाई राज्य सत्तामा न्यायोचित स्थान दिने विषयमा शासक वर्ग र क्रान्तिकारी अग्रगामी वर्गबीच अन्तरविरोध कायम छ । त्यो नै अहिले दलित मुक्ति आन्दोलनको मुख्य वैचारिक सवाल हो ।

अहिले गएको यो निर्वाचनमा राजनीतिक रूपमा कांग्रेस बुर्जुवा यथास्थितिवादी वर्गले दलितलाई प्रतिनिधिसभामा प्रत्यक्षतर्फ उम्मेदवार उठाउँदै उठाएन । प्रदेशसभामा एक सिट उम्मेदवार दियो त्यो पनि जित्न सक्ने स्थानमा थिएन र हार बेहोर्नुप¥यो । त्यस्तै, नेपाली समाजको क्रान्तिकारी अग्रगामी राजनीतिक शक्ति एमाले, माओवादी केन्द्रले समेत दलितलाई प्रतिनिधिसभामा दुई जना एमालेबाट र एक जना माओवादी केन्द्रबाट तथा प्रदेशसभामा दुई जना माओवादी केन्द्र, दुई जना एमालेबाट गरी जम्मा सात जनाले मात्र उम्मेदवार दिएर निर्वाचन जितेर सांसद बन्न सफल भएका छन् । तर, अन्य राजनीतिक नियुक्ति तथा राज्यका अरू अवसरबाट दलितलाई पछाडि धकेलिएको कुरा यथार्थ हो । एमाले, माओवादी केन्द्रले आफूमा माले र मालेमावादको महान् अग्रगामी विचार बोकेको भने पनि व्यवहारमा दलितप्रति हेर्ने विचार र प्रवृत्ति सामन्ती पुरातनवादी सोचभन्दा माथि जान नसकेको कुरा अहिलेको निर्वाचनमा उसको व्यवहारले देखाउँछ ।
माक्र्सवादमा वर्ग संघर्षले जातीय उत्पीडनका सबै स्वरूपलाई नष्ट गर्ने भन्छ तर नेपालमा माक्र्सवादी भन्नेहरूमा पनि दलितलाई सत्ताशक्ति स्रोतमा सामान हैसियत दिने कुरामा असमानताको मनोभाव हट्न नसकेको कुरा उसको व्यवहारबाट देख्न सकिन्छ । यसकारण अग्रगामी क्रान्तिकारी वर्गले छुवाछूत खालि सामाजिक मुद्दा मात्र होइन, यो त राज्यको वर्ग स्वार्थसँग गाँसिएको छ भन्ने कुरा बुझ्न जरूरी छ । जो राज्यको अधिरचना (सुपर स्टकचर) सँग जोडिएको छ भन्ने कुराबाट जान्न जरूरी छ । यसैले, छुवाछूत अन्त्य गर्न महान् सर्वहारा सांस्कृतिक क्रान्तिको युग सुरू गर्नु अनिवार्य हुन्छ ।
अब छुवाछूतलाई जीवित राख्ने सबैखाले सत्तासँग क्रान्तिकारी अग्रगामी वर्गले लडाइँ चालू राख्ने विचारको बहस चलाउनु जरूरी भएको छ । छुवाछूत समाजको लामो संरचनामा स्थिर रहेको उत्पीडन हो, जहाँ दलितहरू अन्यायको चीत्कारमा बाँचेको स्थिति हो । यसकारण राज्यसत्तामा दलितलाई समान अधिकार दिलाउन समाजको आमूल रूपान्तरणको सवाल मुख्य मुद्दा भएर आउँछ । अन्यायलाई जोगाइराख्ने, पछौटे उत्पीडनयुक्त, अन्यायपूर्ण पुराना संस्कृति, रीतिरिवाज, बानी, व्यवहार पुरानो विचार र दर्शन नेपाली समाजबाट अन्त्य गर्नैपर्छ । यी अन्यायपूर्ण आदतका सत्ताहरूलाई समूल नष्ट गर्नु अनिवार्य हुन्छ । अब हामी छुवाछूतलाई जीवित राख्ने सबैखाले संरचनालाई भक्ताउनु आवश्यक ठान्छौं । अब छुवाछूतका विरुद्ध संघर्ष गर्ने कार्यदिशा निर्माण गर्ने अनिवार्य हुन्छ । क्रान्तिकारी वर्गले दलितको जीवनमा उच्चता ल्याउन छुवाछूतको दासत्वबाट मुक्त गर्न क्रान्तिकारी विचार, जनसंगठन र नेतृत्वको विकासमा कार्यक्रम सञ्चालन गर्ने कुरा मुख्य हो ।

हामीले बुझेका छौं, शासक वर्गले सत्ताको आफ्नो वर्चस्व सहज रूपमा दलित गरिबलाई हस्तान्तरण गर्नै चाहँदैन । शासक वर्गले दलितलाई सत्तामा स्थान दिनै चाहँदैन । त्यसकारण, दलितले सत्तामा आफ्नो हैसियत कायम गर्न संघर्ष मुख्य विषय भएर आउँछ । यही विषयमा सत्तारूढ वर्गसँग दलित श्रमिक वर्गको अन्तरविरोध कायम छ । यसकारण, यो शासक वर्गको साँघुरो चेतनाका विरुद्ध कठोर लडाइँ गर्नु अनिवार्य छ, अहिले । नत्र दलित जनताले जुनसुकै सरकार फेरिए पनि जुनसुकै व्यवस्था परिवर्तन भए पनि जातीय छुवाछूतको हथकडीबाट मुक्त हुनै सक्दैनन् । अब हामीले दलित मुक्तिको विचारको बहस देशको केन्द्रीय भागमा प्रदेश र जिल्लाका सबै गाउँपालिका तथा नगरपालिकाका अन्य सरोकारवालाहरूलाई राखेर कार्य सञ्चालन गर्नुपर्छ । यसका लागि विभिन्न राजनीतिक दलका उच्च तहमा रहेका दलित योद्धाहरू, राजनीतिक दलित भ्रातृ संगठनका नेतृत्वदायी शक्तिहरू, दलित सांसद र दलित नागरिक समाजको संयुक्त पहलमा सडक, सदन र सरकारमा दलित मुक्तिको कार्यदिशासहित एकीकृत संघर्ष गर्ने हो । यसका लागि पहिलो चरणमा एकवर्षे दलित मुक्तिको कार्यनीतिक योजनासहित कार्यक्षेत्रमा जुट्नु अनिवार्य छ ।
अब एकपटक दलित क्रान्तिकारी वर्गले आफ्नो यो प्रतिकूल अवस्थामा उच्च चेतनाद्वारा आफ्नो अनुकूल परिवेश निर्माण गर्न राज्यसत्तामा दलितको स्थान सुरक्षित गर्न महान् कार्ययोजनासहित बाहिर आउन जरूरी छ । दलितले यही परिवेशमा आफ्नो आन्दोलनको लक्ष्यअनुसारको गतिदायी सफलता प्राप्त गर्न ठूलो संघर्ष गर्न आवश्यक छ । हामीले अहिलेसम्म भोग्दै आएको सामन्ती संरचना र यसका अवैज्ञानिक पछौटे विचार, संस्कार, संस्कृति, चालचलन र व्यवहारहरूलाई सहँदै आएको अवस्था हो, अहिले । दलितले लामो समयदेखि आपूm शासित भएर बाँच्दै आएको हो । अब समाजको थिचोमिचोलाई खतम गर्न एक ओजस्वी ताकत बनेर वस्तुपरक ढंगले अपराजित मनोभावका साथ काम गर्नु अनिवार्य छ । नेपाली समाजमा दलित मुक्ति ल्याउन पछौटे चेतनाविरुद्धको राजनीतिक तथा सांस्कृतिक संघर्षलाई उठाउन वर्गीय संघर्ष र जातीय संघर्षको फ्युजनद्वारा आँधीबेहरीले नपेल्दासम्म देश छुवाछूतरहित न्यायपूर्ण समाज बन्नै सक्दैन । हामीले यही दलित मुक्तिको क्रान्तिकारी धारलाई समाएर आमरूपान्तरणको आन्दोलनमा लामबद्ध हुन जरूरी छ ।
राजधानी दैनिक बाट

No comments:

Post a Comment