विभेद बिरुद्ध अभियान - चैत्र ४ ,बैतडी । जिल्ला सदरमुकामको दशरथ चन्द नगरपालिका –४ की मोहना तिरुवा श्रीमान बितेपछि सहारा विहीन बन्नुभएको छ । गाईपालन गरे पनि बजारमा दलित समुदायको दूध चल्दैन । भारी बोकेर छोराछोरी पढाउँदै आउनुभएकी मोहना तिरुवा आफु दलित भएकै कारण बजारमा दूध बिक्रि नहुँने पीडा सुनाउनुहुन्छ ।
देशमा राजनीतिक परिवर्तन आए पनि बैतडीका दलित समुदाय माथि हुने जातीय विभेदमा परिवर्तन आउन सकेको छैन । अढाई लाख जनसंख्या रहेको बैतडी जिल्लामा ५० हजार दलित समुदायको जनसंख्या छ । बजारका केही होटल बाहेक सार्वजनिक मन्दिर, ग्रामीण भेगका धारा र कुवामा दलित समुदायमाथि विभेद कायम रहेको छ । छुवाछूत नहुँने होटलमा पनि दलित समुदायको दूध बिक्रि हुँदैन ।
संघीयतापछि सिंहदरवारको अधिकार गाउँमा आउने भनिए पनि स्थानीय सरकारले दलितका समस्या नबुझेको दलित समुदायको गुनासो छ ।‘ दलित समुदायका लागि त गाउँमा सिंह मात्रै पुगे जस्तो भयो, दरवार पुगेन । हिजो पाउँदै आएको लक्षित वर्गको बजेट समेत स्थानीय तहले मनपरी ढंगले कटौती गरेर दलित समुदायलाई उपेक्षित गर्ने काम गरेको छ ।छुवाछूत हटाउन कुनै पहल छैन,’ दलित महिला संघका जिल्ला अध्यक्ष सरस्वती नेपालीले भन्नुभयो ।
दलित समुदायले भोग्दै आएको जातीय विभेद, हलिया र खलिया प्रथा नहटेसम्म दलित समुदायले कसरी परिवर्तनको अनुभूति गर्ने ? गीता सिनाल प्रश्न गर्नुहुन्छ ।‘ दलित समुदायले विभेदकै कारण परम्परागत सीप र श्रम छोडेर विदेश जानु पर्ने अवस्था छ,’ सिनालले भन्नुभयो ।
यति मात्र होईन, बैतडीका १० वटा स्थानीय तह र ८४ वडा कार्यालयहरुले सामान्य कार्यालय सहयोगी भर्ना गर्दा समेत एक जना दलितलाई नियुक्त नगरेको दलित अगुवाहरुले गुनासो गरेका छन् । ‘दलितका पक्षमा नीति जतिसुकै राम्रो बने पनि कार्यान्वयन गर्ने तहका मान्छेको नियत सफा नभएपछि बिभेद् हट्दैन,’ सिनालले भन्नुभयो ।
पछिल्लो समय जिल्ला सदरमुकाम लगायत केही मुख्य बजार क्षेत्रका होटलमा दलित समुदायले चिया खाएको गिलास धुन नपरे पनि विभेद भने कायमै रहेको दलित अगुवा बुद्धिवल्लव धानुक बताउनुहुन्छ । ‘चियाको गिलास धुन नपरे पनि बजारमा दलित समुदायको दूध बिक्रि हुँदैन । के यो विभेद होईन ?’ बुद्धिवल्लबले प्रश्न गर्नुभयो ।
जातीय विभेद हटाउन स्थानीय तहले भएका नीति नियम कार्यान्वयन गरेर समाज सुधारका लागि अभियान संचालन गर्नु पर्ने बैतडीका दलित बुद्धिजिवी युवा तेजराम लोहारले बताउनुभयो ।
‘हिजो हाम्रा बुवा बाजेलाई स्कुल पढ्न दिईएन, धर्मग्रन्थ पढ्न बन्देज लगाईयो । छोईछिटो हटे पनि विभेदको स्वरुप बद्लिएर अन्य कुरामा प्रकट भईरहेको छ । जन्मदेखि मृत्युहुँदा चिहानघाटसम्म दलितमाथि विभेद हुन्छ । यो कलंकले समाजको उन्नती गर्दैन,’ लोहारले भन्नुभयो । यो खबर गोकर्ण दयालले गोरखापत्रमा लेखेका छन् ।
No comments:
Post a Comment