विभेद बिरुद्ध अभियान , फागुन २७ - समाजमा ‘दलित’ र ‘गैह्रदलित’बीचको विभेदको चर्चा यत्रतत्र हुन्छ । लामो समयदेखि मुलुक संघीयतामा प्रवेश गरिसक्दाको अवस्थामा पनि यो विभेदको जरो उखेलिन सकेको छैन । तर, दैलेखकी पार्वतीकुमारी बिसुन्केले भने दलितभित्रै विभेद देखिन् । जसले उनलाई अधिकारको लडाइँमा होमिन प्रेरित गर्यो । त्यही यात्राले आज उनी अधिकारकर्मी, राजनीतिज्ञ हुँदै तिनै पीडित र अधिकारको अपेक्षामा रहेका जनताकी सांसद बनेकी छन् ।दैलेख सदरमुकामको पुरानो बस्ती भगवतीटोलमा ०४३ असोजमा जन्मिएकी पार्वती कमजोर आर्थिक अवस्थामा हुर्किन् । गरिबीको पीडा राम्ररी बुझेकी पार्वती ०५९ सालमा एसएलसी पास गरेपछि सेतो गुराँस संस्थाले सञ्चालन गरेको बाल विकास केन्द्रमा सहयोगी कार्यकर्ता बनिन् । दलित समुदायमा देखिएका भिन्न प्रकृतिका विभेद र त्यस्तो विभेद गर्नेलाई कानुन दायरामा ल्याउन उनी लागिपरिन् । यसका लागि उनले जनचेतना अभिवृद्धिको प्रयास गरिन्, जसमा उनका धेरै दिन बिते ।
पार्वतीको स्मरणमा ताजै छ, ०५३ पहिलोपटक जिल्लाभरि शिक्षाका लागि खाद्य कार्यक्रम सुरु भएको थियो । हरेक विद्यालयमा विद्यार्थी संख्याका आधारमा हलुवा बनाउने पिठो, घिउ, चिनी र पकाउने भाँडासमेत दिइयो । ‘म पढ्ने भाषा पाठशाला भनिने त्यतिवेलाको नारायण प्राथमिक विद्यालयमा खाजा बाँड्ने काम कहिले कार्यालय सहयोगी, कहिले शिक्षक त कुनै वेला गैरदलित विद्यार्थीले गर्थे,’ उनले सम्झिन्, ‘हलुवा बाँड्दा दलित विद्यार्थीको लाइनै अलग्गै लगाइन्थ्यो । हलुवा पनि कापीको पानामा अलग्गैबाट भाग दिइन्थ्यो ।’ त्यतिवेलादेखि नै उनमा छुवाछुत र भेदभावविरुद्ध आवाज उठाउनुपर्छ भन्ने सोच पलायो ।
सानैदेखि अन्याय देख्दा भित्रैदेखि उनलाई त्यसविरुद्ध आवाज उठाउने चाहना हुन्थ्यो । बिस्तारै त्यो बानीमा परिणत भयो । पार्वती किशोरी अवस्थादेखि नै समाजमा हुने गरेका कुरीति र कु–संस्कारविरुद्धको अभियानमा होमिइन् । बुबा कविराम सार्कीले डकर्मी काम गरेर उनीसहित ४ भाइको पढाइ खर्च धानेका थिए । नारायण प्राथमिक विद्यालयबाट प्राथमिक तह सकेपछि कक्षा ६ पढ्न त्रिभुवन माध्यमिक विद्यालयमा भर्ना हुँदा घुम्रो कपाल भएकै कारण पार्वती लाजका कारण सलले कपाल छोप्थिन् । ‘त्यहाँका प्रधानाध्यापक खगेन्द्रबहादुर मल्लले सल हटाउँदा कपाल पलाउँछ भन्नुभयो,’ पार्वतीले भनिन्, ‘अनि मैले सल नओढी विद्यालय जान सुरु गरेँ । त्यसले मभित्रको लाज मान्ने बानी पनि हट्यो ।’
पार्वतीले दलित सेवा संघको मनोविमर्शकर्ता बनेर पनि काम गरिन् । सेभ द चिल्ड्रेनको सशस्त्र द्वन्द्वपीडित बालबालिका संरक्षण कार्यक्रममा उनले द्वन्द्वपीडितका लागि ६ महिने मनोविमर्श, सहयोग तथा पुनस्र्थापना विधि तालिम लिएर जिल्लामा काम थालिन् । परियोजना सकिएपछि पनि उनले मनोविमर्शको कामलाई निरन्तरता दिइन् । त्यसवेला सशस्त्र द्वन्द्व उत्कर्षमा थियो । दुल्लुमा माओवादीविरुद्ध प्रतिकारका क्रममा र नौमूलेमा माओवादी आक्रमणले विस्थापित भएका सर्वसाधारण निकै पीडामा थिए । मनोविमर्शले पीडितलाई सामान्य अवस्थामा फर्काउन ठूलो सहयोग पुग्यो ।
समाजसेवाकै सिलसिलामा उनी ०६२ मा दलित जागरण केन्द्रको जिल्ला अध्यक्ष भइन् । ०६५ देखि १० वर्षसम्म दलित महिला संघको जिल्ला अध्यक्ष भएर दलितभित्रै रहेका विभेद र कुरीतिविरुद्ध काम गरिन् । समाजसेवाको यात्राले उनलाई राजनीतिमा रुचि जगायो । त्यही रुचि र समाजसेवाले उनी राजनीतिमा स्थान बनाउन सफल पनि भइन् । जिल्लामा अधिकारकर्मीका रूपमा नाम स्थापित भएपछि उनलाई नेकपा एमालेनिकट विभिन्न संगठनमा स्थान दिइयो ।
सदरमुकामको नारायण मन्दिरमा दलितले प्रवेश पाउनुपर्ने, होटेल तथा चियापसलमा दलित समुदायलाई गरिने विभेदविरुद्ध गरिएका आन्दोलन होऊन् वा ०६८ मा छोराले अन्तरजातीय विवाह गरेका कारण मारिएका सेते दमाईंको परिवारलाई १० लाख क्षतिपूर्ति दिलाउने काममा होस्, सबैमा उनी सक्रिय रहिन् । ‘यी सबै योगदानले पनि मलाई राजनीतिमा सफलता मिलेको होला,’ उनले अनुमान गरिन् । ०६६ मा नेकपा एमालेको जिल्ला कमिटी सदस्य बनेकी पार्वती ०७० मा पनि जिल्ला कमिटी सदस्य भएर काम गरिन् ।
सांसद बन्नुको रहस्य
पार्टी संगठनका काममा पार्वतीले पु¥याएको योगदानको कदर भयो । कार्यकर्ताबीच बढेको उनको लोकप्रियताको पार्टीले मूल्यांकन ग¥यो । आन्तरिक चुनावमा सर्वाधिक बढी मत ल्याएपछि उनको लोकप्रियताको पुष्टि भए पनि पार्टीभित्रको अन्तरर्संघर्षले भने उनी आफू अहिले नै सांसद बन्छु भन्नेमा ढुक्क थिइनन् ।
हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा उनको दाबी नारायण नगरपालिकाको उपमेयरमा थियो । उनीभन्दा पुराना महिला नेतृलाई स्थान दिँदा उनको सम्भावना कम भयो । आश्वासनस्वरूप जिल्ला समन्वय समितिको उपप्रमुख बनाउने भन्दै नारायण नगरपालिकाको वडा सदस्यमा लड्न उनलाई आग्रह गरियो । वडा सदस्य जिते पनि पार्टीभित्रको गुट मिलाउँदा उनलाई दिइएको आश्वासन पूरा भएन । ‘राजनीतिमा विचलित नभई सिद्धान्तमा अडिग हुनुपर्दो रहेछ,’ उनले अनुभव सुनाइन्, ‘क्षमतावान् व्यक्तिको पालो निश्चित आउँछ भन्ने गलितो उदाहरण हुँ जस्तो लाग्छ ।’
प्रतिनिधिसभाको निर्वाचन उनका लागि मूल्यांकनको अवसर बन्यो । पार्टीले प्रतिनिधिसभा सदस्यको समानुपातिक सूचीमा दलिततर्फको प्राथमिकता क्रमका ४ नम्बरमा उनको नाम राख्यो । एमाले पहिलो पार्टी बनेपछि उनको नम्बर हट्ने कुरै भएन । अहिले उनको यात्रा प्रतिनिधिसभा सदस्यका रूपमा सुरु भएको छ ।
दैलेखको दलित आन्दोलनको इतिहासमा पहिलेपटक ०५२ मा नेपाली कांग्रेसबाट रत्नबहादुर विश्वकर्मा राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका थिए । त्यसयता यहाँबाट सांसद पदमा पुग्ने दलित समुदायको व्यक्ति पार्वती पहिलो महिला हुन् । उनको यात्राबाट यहाँका विभेद भोग्नेहरू, हिंसापीडित महिला र पछौटेपन भोगिरहेका जनताले लाभको अपेक्षा पक्कै गरेका छन् ।
स्रोत साभार : - विष्णु शर्मा-नया पत्रिका
No comments:
Post a Comment