विभेद बिरुद्ध अभियान - फाल्गुन १८, २०७३- वरिपरि खहरेले ढुंगा र गेग्रान थुपारेर बनाएको बगर । बीचमा खरले छाएर लिपपोत गरेको छाप्रो । हिउँदमा सुक्खा र वर्षातमा चुरेका खहरे खोला तथा महाकालीको भंगालोसमेत पसेर जलमग्न हुन्छ । कञ्चनपुर भीमदत्त नगरपालिका ९ तुमडानीको यही किनारमा बस्छ देव दमाईको परिवार । हिउँदमा समस्या नभए पनि वर्षातमा डुबान तथा कटानले बगाउँछ कि भन्ने डर हुने उनी बताउँछन् ।
दिनभरि मजदुरी गरेर परिवार पाल्ने देवलाई एउटै चिन्ता छ बगरको बसाइ कहिलेसम्म । स–साना बालबालिकालाई बगरमै छाडेर जाँदा काममै मन नलाग्ने उनी बताउँछन् । बैतडीबाट आएको उनको परिवार ३ दशकदेखि यही बगरमा बस्दै आएको छ । ‘जिन्दगी बगरमै बित्ने भयो,’ उनले भने, ‘अन्त कतै घर जमिन जोड्न सकिएन, मजदुरीले परिवारको गुजारा चलाउनै समस्या छ ।’
देवको घरभन्दा पर बगर छेउमै विकास दमाईको छाप्रो पनि छ । उनले परिवारको हातमुख जोडाउने माध्यम पनि मजदुरी नै हो । कहिले भारत त कहिले गाउँमै काम गर्ने उनलाई पनि बगरको बासले पिरोलेको छ । वर्षायाममा चुरेको भेल आउँदा बालबालिका जोगाउनै सकिँदैन कि भन्ने चिन्ता लागिरहने उनले बताएको कान्तिपुर मा खबर छ । ।
ब्रह्मदेवनजिकै तुमडानी क्षेत्रमा वादी समुदायको बसोबास छ । ४० परिवारमध्ये केहीको बसोबास बगरमै छ । अन्यको जमिन भए पनि बगरमा बसोबास गर्नेको निकै समस्यामा छन् । नेपाल–भारत सीमानजिकै बसाइ भएकाले कहिलेकाहीँ भारतीय सुरक्षाकर्मीले समेत दु:ख दिने गरेको उनीहरू बताउँछन् । कुनै बेला भारतबाट आएका डाँकाले समेत डर, धम्क्याउने गरेको स्थानीय बताउँछन् ।
काम नपाएका बेला उनीहरू बगरमै गिट्टी बालुवाको काम गर्छन् । खेतीपातीका लागि जमिन नहुँदा उनीहरूको आम्दानीको स्रोत त्यही बगर र दैनिक ज्यालादारी हो । ‘कमाइको बाटो अरू केही छैन, कहिले बगर त कहिले मजदुरी गरेरै हिँड्छांै,’ बगर छेउमै बसोबास गरिरहेकी सुनिताले भनिन्, ‘बालबालिकालाई बगरमै छाडेर काममा जानुपर्छ ।’ उनका २ छोरी र ४ छोरा छन् ।
यहाँ बसोबास गर्ने परिवारका बच्चा कोही स्कुल जाँदैनन् । आमाबुवा काममा जाँदा उनीहरूले घर कुर्नुपर्छ । १०/१२ वर्ष काटेका बुवासँगै काममा वा भारत पस्छन् । यहाँको वादी बस्तीमा एसएलसी पास गरेका कोही नभएको स्थानीयले बताए । गरिबीकै कारण २/४ कक्षामै छाडेर भारततिर पस्ने गरेको सुनिताले बताइन् ।
यहाँका वादी समुदायले गाउँमै रोजगारी गरेर र सीपको सदुपयोग गर्न पाए राम्रो आम्दानी गर्न सक्ने बताउँछन् । सिलाइकटाइमा वादी समुदायका महिला र पुरुष अनुभवी छन् । तर नयाँ फेसनअनुसार सिलाइ सीप नहुँदा उनीहरू कामविहीनजस्तै भएका छन् । ‘हरेक घरमा सिलाइ मेसिन छ,’ पूजाले भनिन्, ‘तर काम नपाएर सबैले छोपेर राखेका छन् ।’
No comments:
Post a Comment