हिमदूत पत्रकारिता पुरस्कारबाट पत्रकार प्रेम नेपालीलाई सम्मान गरिने

विभेद बिरुद्ध अभियान - पोखरा, फागुन २१ गते । जगन्नाथ सिग्देल स्मृति हिमदूत पत्रकारिता पुरस्कारबाट पत्रकार प्रेम नेपालीलाई सम्मान गरिने भएको छ । नेपाल पत्रकार महासङ्घ कास्कीद्वारा सञ्चालित तथा अग्रज पत्रकार स्व जगन्नाथ सिग्देलको परिवारबाट स्थापित सो पुरस्कारको राशि रु ११ हजार एकसय ११ र सम्मानपत्र रहेको छ । पत्रकार महासङ्घ कास्कीको बिहीबार बसेको बैठकले प्रतिभा छनोट समितिको सिफारिसका आधारमा नेपालीलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।
प्रतिभा छनोट समितिको संयोजकमा पत्रकार महासङ्घ कास्की शाखाका पूर्वअध्यक्ष कृष्णप्रसाद बास्तोला, शाखाका पूर्वअध्यक्ष पुण्य पौडेल, पत्रकार राजबहादुर गुरुङ, पत्रकार महासङ्घ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ र पत्रकार महासङ्घका सचिव रामप्रसाद तिमल्सेना सदस्य रहनुभएको थियो ।
प्रतिभा छनौट समितिले पोखरामा रहेर डेढ दशकदेखि पत्रकारिताको क्षेत्रमा क्रियाशील नेपालीलाई चयन गरेको थियो । स्वर्गीय जगन्नाथ सिग्देलको जन्मजयन्तीका दिन फागुन २१ गते शनिबार पत्रकार महासङ्घको सभाहलमा आयोजित एक समारोहबीच पुरस्कार प्रदान गर्ने कार्यक्रम छ ।
पोखराका पहिलो पत्रकार स्वर्गीय जगन्नाथ सिग्देलको नाममा उनको परिवारले पुरस्कार सञ्चालनका लागि रु दुई लाखको अक्षयकोष स्थापना गरिदिनुभएको छ । अक्षयकोषको ब्याजबाट महासङ्घले हरेक वर्ष एकजना क्रियाशील युवा पत्रकारलाई सम्मान गर्दै आएको छ ।
यसअघि उक्त पुरस्कारबाट पत्रकार विभु भूसाल, कृष्णमणि बराल, घनश्याम पाण्डे, दुर्गा अधिकारी र ऋषिकान्त पौडेल सम्मानित भइसक्नुभएको छ । 

No comments:

Post a Comment