संविधानको कार्यान्वयन गरेर मात्र दलित अधिकार संरक्षण गर्न सकिन्छ :प्रधानमन्त्री

विभेद बिरुद्ध अभियान -२३  फागुन - काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले संघीयता, गणतन्त्र र धर्मनिरपेक्षतामा माओवादीको रगत पसिना भएको बताएका छन् । माओवादी केन्द्रनिकट दलित मोर्चाको बैठकमा प्रधानमन्त्रीले भने, ‘गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक प्रणालीमा माओवादीको रगत पसिना छ । जसको रगत पसिना छ, यी उपलब्धि जोगाउने दायित्व पनि हाम्रै हो । हिजो जो यी मुद्दाका विपक्षमा थिएँ, त्यसकै विरुद्ध लडे, उनीहरुलाई संघीयता र गणतन्त्रको माया छैन । त्यसलाई उनीहरुले जोगाउलान् भन्नु हाम्रै मूर्खता हुन्छ ।’
सरकार स्थानीय तहको निर्वाचन गराएरै छोड्ने पक्षमा रहेको भन्दै प्रधानमन्त्रीले भने, ‘स्थानीय तहको चुनाव घोषणा गरिएको छ, हरहालतमा चुनाव सम्पन्न गर्नुपर्छ । स्थानीय निर्वाचनसँग माओवादीका मुद्दा जोडिएको छ, हाम्रो रगत र पसिना जोडिएको छ । संविधानले स्थानीय तहमा अत्यन्तै धेरै अधिकार दिएको छ, जनताको अधिकार गाउँ–गाउँसम्म लैजान पनि निर्वाचन गर्नैपर्छ ।’
नयाँ संविधानले दलितहरुको अधिकार र आत्म सम्मानको रक्षा गरेको उनले बताए । उनले भने, ‘नयाँ संविधानमा दलितहरुको अधिकारलाई मौलिक हकको रुपमा राखिएको छ । समानुपातिक, समावेशिता जस्ता मुद्दालाई संस्थागत गरिएको छ, आवासको हक सुनिश्चित गरिएको छ । एकतावद्ध भएर संविधानको कार्यान्वयन गरेर मात्र दलित अधिकार संरक्षण गर्न सकिन्छ ।’

No comments:

Post a Comment