गुल्मीका प्रेम नेपाली जो मादल बनाएर लाखौं कमाउँछन्


गंगा खड्का-विभेद बिरुद्ध अभियान गुल्मी, फागुन २७  । घमिर-३ गुल्मीका प्रेम नेपालीले मादल बेचेरै वार्षिक लाखौं रुपैयाँ कमाउँदै आएका छन् । सदरमुकाम तम्घासको मिलनचोकमा विगत पाँच दशकदेखि उनले मादल बनाउँदै आएका हुन् । ‘महिनाको २० हजार रुपैयाँ कमाई हुन्छ’, नेपालीले भने, ‘सिजनमा त अझ धेरै आम्दानी हुन्छ ।’ यसैको आम्दानीबाट घरखर्च चलाउँदै आएको उनले जानकारी गराए ।नेपाली अहिले ७१ वर्षका भए । १६ वर्षको हुँदादेखि नै मादल बनाउने काममा लागेको उनी बताउँछन् । ‘बजारमा माग राम्रै छ’, नेपालीले भने, ‘मादल बनाउन त्यति सजिलो छैन । दुई/तीन दिन लगाएर एउटा मादल तयार गर्छु ।’ आफू सानै छँदा बुवा/आमाको मृत्यु भएपछि यो पेसा अंगालेको उनको भनाइ छ । कुनै तालिम बिना नै मादल बनाउन सिकेको उनी बताउँछन् । दमाहा, ट्याम्को, ढोलकलगायतका नौमती बाजासमेत बनाउने गरेको उनले जानकारी गराए । यीमध्ये बजारमा धेरै मादल बिक्री हुने गरेको उनले बताए ।काठ, बाख्रा, भैंसी र गाई/गोरुको छाला, अंगारखरीलगायत सामग्री मिसाएर मादल तयार पार्ने गरिएको नेपालीले जानकारी गराए । उनका अनुसार मादलको ढुंग्रो बनाउने काठ राम्रो हुनुपर्ने भएकाले गाउँमा काठ खोज्न समय लाग्ने गरेको छ । ‘ढुंग्रोको दुवैतर्फ एकै आकारको भयो भने आवाज राम्रो आउँदैन’, उनले भने, ‘स्वर राम्रो आउन आकार ठूलो/सानो हुनुपर्छ ।’ खिर्रो, मौवा, मलेतो, घ्वारीलगायतका काठको ढुंग्रो बनाउन सकिने भए पनि मौवा र घ्वारीको काठमा स्वर राम्रो सुनिने उनको अनुभव छ ।

आफूले बनाएको मादल गुल्मीसहित छिमेकी जिल्ला अर्घाखाँची, बाग्लुङ, पाल्पा, प्युठानसमेत पुग्ने गरेको छ । राम्रो मादल बनाएको भन्दै आफू पुरस्कृत भइसकेको नेपालीले सुनाए । ‘सिजनका बेला खाने फुर्सद नै हुँदैन’, उनले भने, ‘ग्राहकले २/४ दिन पर्खेर मादल लैजान्छन् ।’ विवाह, तीज र दसैंतिहारमा धेरै मादल खपत हुने उनले बताए । गाउँघरमा प्रायः दलित समुदायका गरिब एवं विपन्न परिवारका व्यक्ति यस पेसामा लागेको उनी बताउँछन् ।
मादलबाट कमाइ राम्रै हुने भए पनि छाला काढ्न र सुकाउन झन्झट मान्नेले यस पेसामा नलाग्ने उनको अनुभव छ । पाँच सयदेखि दुई हजार पाँच सय रुपैयाँसम्ममा मादल बिक्री गरिने नेपालीले बताए । नेपालीले आधुनिक शैलीसँगै मादल बनाउने पेसामा युवा पुस्तालाई आकर्षण गर्न सके गाउँघरमै राम्रो आम्दानी हुने उनको अनुभव छ । -अन्नपूर्ण पोस्टबाट

No comments:

Post a Comment