धराने ठूल्दाइ अर्थात् रामबहादुर परियार बाहुनका पुरोहित

विभेद बिरुद्ध अभियान-मोरङ,चैत ३ । परमहंस स्वामी निखिलेश्वरानन्दबाट २०५२ सालमा गायत्री मन्त्रको दीक्षा लिएपछि यज्ञोपवीत धारण गर्न थालेका धराने ठूल्दाइ अर्थात् रामबहादुर परियारको दिनचर्या नै फेरिएको छ ।
उहाँ जातले दर्जी हुनुहुन्छ र पुरोहितले चिनिनुहुन्छ । मोरङ रमाइलोका परियारलाई अचेल निमेष भर फुर्सद छैन । परम्परागत पेसा चलाउनैप¥यो । कर्मकाण्डमा परियारको जतिको दख्खल झापा, मोरङ र सुनसरीमा अरू एक दुई जना मात्रै छन् । गुरु परियारसँग सीप मात्र होइन शैक्षिक ज्ञान पनि छ । उहाँले २०२८ सालमा धरानको पिण्डेश्वर क्याम्पसबाट पूर्वमध्यमासम्मको अध्ययन गर्नुभयो । उसबेलाको छुवाछूतवादी हिन्दू संस्कारमा मुस्किलले संस्कृत अध्ययन गर्नुभएका परियार आफ्नो अध्ययनको श्रेय सुधारवादी पं छविलाल पोख्रेललाई दिनुहुन्छ ।
त्यस युगमा दमाईँका छोरालाई ब्राह्मणसँगै राखेर संस्कृतको कौमुदी व्याकरण पढाउने छविलाल गुरु तथा उहाँका समकक्षी टीकाप्रसाद बस्ती र नारायणप्रसाद कट्टेलको परियार मुक्तकण्ठले प्रशंसा गर्नुहुन्छ । विसं २०३० देखि कर्मकाण्ड र सिलाइको काम गर्दै आउनुभएका ५६ वर्षीय परियार हिन्दू धर्मका कुनै पनि उपनिषद्, पुराण, उपपुराण र मनुस्मृतिमा जातीय विभेद नभएको बताउनुहुन्छ ।
आदिकालमा छुवाछूत नभएको र मानिसले धेरैपछि चलाएको छुवाछूतको चलन अशिक्षा र गरिबीसँग जोडिएको परियारको भनाइ छ । मान्छेसँग खाने अन्न र घर चलाउने प्रशस्त पैसा नभएसम्म छुवाछूत र जातिवाद रहन्छ । आरक्षणका पक्षपाती परियार भन्नुहुन्छ–“दलितलाई समृद्ध बनाउनका लागि आरक्षण आवश्यक छ ।” उहाँको तर्क छ, “दलितलाई पैसा होइन, सीप र शिक्षाका लागि राज्यले सहयोग गर्नुपर्छ । ”
शिक्षा सबैको पहँचमा नपुगेसम्म छुवाछूत रहिरहने परियारको धारणा छ । झट्ट देख्ने कसैले पनि परियारलाई दर्जी भन्दैनन् । काँधमा सेतो जनै र घाँटीमा रुद्राक्ष माला धारण गर्ने परियारको नित्यकर्म पनि कुनै नियमी पण्डितको भन्दा कम छैन । दैनिक स्नान, पूजापाठ, गीता पाठ, गायत्री जप गर्दै आउनुभएका परियार धूमपान र मद्यपान गर्नुहुन्न, न त माछामासु नै खानुहुन्छ । तान्त्रिक योगाभ्यासमा पनि उहाँ पोख्त हुनुहुन्छ । उहाँ भन्नुहुन्छ–“तान्त्रिक योग अभ्यासबाट धेरै रोग निको हुन्छन् ।”
निखिलेश्वरानन्द स्वामीका अनुयायी परियारले मोरङको बयरवनमा कैलाशेश्वर वृद्धाश्रम सेवा समिति खडा गर्नुभयो । हाल सो समितिका सदस्य परियार भन्नुहुन्छ–“संस्था दर्ता भइसकेकोे छ । वृद्धाश्रम निर्माणको काम धमाधम भइरहेको छ । सिद्धाश्रम संस्थाको विशिष्ट सल्लाहकार, सनातन धर्म सेवा समिति बयरवनका उपाध्यक्ष र नेपाली काँग्रेस क्षेत्र नं २ मोरङका क्षेत्रीय प्रतिनिधिको जिम्मेवारी सम्हाल्न पनि मैले भ्याएको छु । ईश्वरले तिमी आँट म पु¥याइदिन्छु भन्छन् रे, अहिलेसम्म त्यस्तै भएको छ ।” उत्साह र सन्तुष्टि व्यक्त गर्दै उहाँले भन्नुभयो ।

No comments:

Post a Comment