विभेद बिरुद्ध अभियान -फाल्गुन २० , २०७३- म तराईकी चमेली मुसहर हुँ । १४ वर्षमा विवाह भएको थियो । रमन मुसहर २० वर्षका थिए । एउटा सानो झोपडीमा गृहस्थी बस्यो । एउटा चुलो, २ वटा स्टिलका भाँडा, मट्टितेल र खाने तेल राख्दा नै भान्सा भरियो । म आज २२ वर्षकी हुँदा ३ वटा बच्चा भइसकेका छन् । श्रीमान् मजदुरी गर्छन् । जीवनमा मेरो कुनै ठूलो सपना छैन । कहिलेकाहीं रमनले साइकलमा फिल्म देखाउन लगे नै म खुसी भइहाल्छु । मेरा २ छोरा, एक छोरी बिरामी भएपछि म कालीमाईलाई भाकल गर्छु । यिनले स्वास्थ्यचौकीमा गएर सुई लगाएका छैनन् । महिला स्वयंसेविका हाम्रो बस्तीतिर आउँदैनन् । स्वास्थ्यबारे केही थाहा छैन हामीलाई । धन्न मेरा सन्तान बाँचेका छन् । छरछिमेकीका कति बालबालिका त के के रोग लागेर मरे ।
मेरा श्रीमान् मुसहर भएर पनि रक्सी खाँदैनन्, मलाई पिट्दा पनि पिट्दैनन् । वरिपरकिा घर–छिमेकीले ‘यो रमन रक्सी खाँदैन, जातले पाएको कुरा पनि कसरी छोडेको होला’ भन्छन् । केही दिन केही पण्डित र टोपी लगाएका मानिस आएर हाम्रो बस्तीमा महायज्ञ गर्न लागेको र सबैले महायज्ञमा दान गर्नुपर्ने, पैसा अन्न दिनुपर्ने कुरा सुनाए । महायज्ञ गरेपछि देउता खुसी भएर हामीलाई सम्पन्न पार्छन् रे भने । पण्डितले भनेका पनि थिए, ‘महायज्ञमा उठेको पैसाले तिम्रो घर बनाइदिन्छौं । स्कुल बनाइदिन्छौं । नहर बनाइदिन्छौं । बच्चालाई स्कुल पठाउन पैसा पनि दिन्छौं ।’ पण्डितको कुराले म खुसी भएँ र रमनलाई पनि सुनाएँ ।
रमनले भने, ‘यस्ता पण्डितको कुरामा नलाग । महायज्ञको सबै पैसा उठाएर भाग्छन् । यिनलाई केही पनि दिने होइन नि ।’ तर, मलाई रमनको कुरामा विश्वास लागेन । त्यस्ता सेता लुगा लगाएका पण्डित र उनीसँगै आएका नेताले पनि किन गलत कुरा गर्दा हुन् र ? यिनलाई त केही दिनैपर्छ । स्कुल बन्छ, घर बन्छ, हाम्रो बस्तीमा हाम्रो जीवन बदलिन्छ भन्ने लाग्यो । र मैले चाँदीको पाउजु दिने विचार गरें । महायज्ञको बेला पण्डितले भने, ‘तिमीहरू मुसहर बस्तीका मानिस यज्ञको घेराभित्र नआउनू । यो भित्रचाहीँ पण्डित र नेता बस्छन् । तिमीहरू बहिर बस्नु र आफ्नो दानचाहीँ यो दानपात्रमा खसाल्नू ।’
किन यसरी हामीलाई बाहिर राखेको भनेर हामीले पण्डितलाई सोध्दा उनले भने, ‘तिमीहरू धेरै फोहोरी छौ । तिमीहरूको शरीरबाट गन्ध आउँछ । लुगा पनि फोहोर लगाउँछौ । महायज्ञ गरेपछि जब तिमीहरूका घर बन्नेछन् र तिमीहरू सफा हुनेछौ अनि तिमीहरू घेराभित्र बस्न सक्नेछौ ।’
महायज्ञ हुने दिनमा कताकताबाट धेरै मानिस बस्तीमा आए । यत्तिका धेरै मानिसले महायज्ञ गरेर धन चढाएपछि त हाम्रो घर बनिहाल्छ भनेर मेरो मन खुसी भएको थियो । तीन छोराछोरी लिएर यज्ञमा गएँ । त्यहाँ ठूला भाषण गरेको बुझिनँ । केहीचाहीँ बुुझें । ‘सबै जना ईश्वरका सन्तान हुन् । अब सबैजनाका घर बन्छन् । सबैले स्कुल जान पाउनेछन् आदि–आदि । त्यहाँ पुरी र तरकारी पनि बनाउँदै थिए । हामीलाई प्रसाद दिने हुन् कि भनेर धेरैबेरसम्म बसिरहें तर त्यो त पण्डित र नेतालाई मात्र शुद्ध घ्यूमा पकाएको रे, हामीलाई दिने होइन रे भन्ने सुनें ।
मैले मेरो चाँदीको पाउजु महायज्ञमा चढाएँ, घरमा आएर चनाको सातु पानीमा घोलेर खाएँ । मैले रमनलाई बेलुका यहायज्ञमा चाँदीको पाउजु दिएको कुरा भन्दा रमन एकदमै रिसाए । त्यस्तो ठाउँमा दिएको माल सबै पण्डितले लग्छन् भने । मैले भनें, ‘उनीहरूले महायज्ञमा उठेको पैसाले मुसहर बस्तीमा घर र स्कुल बनाइदिन्छन् । ती पण्डित र नेता सबै ठग हुन् । तराईभरि त्यस्तै भन्दै हिँडे र करोडौं कमाए । कसैलाई एक टुक्रा रोटी पनि दिँदैनन् तिनले । त्यसरी घर बनाउने भए हजारौं घर बनिसक्थे नि, रमनले भने । मलाई विश्वास लागेन । भेलिपल्ट पनि महायज्ञ गरेको ठाउँमा गएँ । एक जना नेता भन्दैथिए, हामी नेपाललाई हिन्दु राज्य बनाउँछौं । त्यसपछि कोही पनि मुसहरको घरमा खाली पेट सुत्ने छैनन् । जाडोले र गर्मीमा लु–लागेर मर्ने छैनन् । यस्ता कुरा सुनेर म खुसी भएँ । भोलिपल्ट रमनलाई पनि लगें ।
त्यो अन्तिम दिन रहेछ महायज्ञको । त्यहाँ खुब चहलपहल थियो । प्रसादमा लड्डु, केरा बाँड्दै थिए । आज मैले पनि प्रसाद पाउँछु होला भन्ने लागेको थियो । तर, हामीलाई प्रसाद बाँड्ने ठाउँसम्म प्रहरीले पुग्नै दिएन । दलितहरू टाढाबाट नै सुन भनेर प्रहरीले हप्काए । म र रमन त्यही छेउमा बसेर सुन्न थाल्यौं । महायज्ञमा फलानाले दस लाख, फलानाले १० रोपनी जमिन दिए भनेर नाम भन्दै थिए ।
मलाई त चमेली मुसहरले चाँदीको पाउजु दिइन् भन्लान् भन्ने आशा लागेको थियो तर भनेनन् । महायज्ञमा दाताबाट धेरै रुपैयाँ उठ्यो रे भनेर मानिसले कुरा गर्दा मैले रमनलाई कुहिनाले हिर्काएर भनें हो, अब त्यो पैसाले हाम्रो घर बन्नेछ । स्कुल बन्नेछ । रमन केही नबोलेर एउटा दुवो उखालेर चपाइरहे । मैले महायज्ञमा हात जोडें । प्रसाद नखाएर के भो त, प्रभुलाई नमस्कार गरें । महायज्ञ सिद्धिएपछि पत्रपत्रिकामा पनि धेरै खबर आयो रे, रेडियोले पनि समाचार सुनायो भनेर छिमेकीले भने । म दंग परें, अब केही दिनपछि घर बन्न सुरु हुन्छ भनेर । तर, एक हप्ता, एक महिना, ६ महिना बित्यो, महायज्ञमा उठेको पैसाले मुसहर बस्ती बनाउने चाइँचुइँ सुनिएन । मैले गाउँका ठूलाबडालाई सोधें, ‘महायज्ञको पैसाले कहिले घर बन्छ त ?’ मेरो चाँदीको पाउजु त्यत्तिकै खेर जाने भयो भनी म डराएँ । हाम्रो घर र स्कुल केही पनि बनेन ।
केही दिनअघि रातो साडी लगाएका केही महिला फेरि हाम्रो बस्तीमा आए र भने, ‘हामी नेपालीको सनातन धर्म जोगाउन सबै महिला एक हुनुपर्छ । अब ८ मार्चको विश्व नारी दिवसको उपलक्षमा हामी ठूलो यज्ञ गर्नेछौं । प्रधानमन्त्री आउनुहुनेछ यज्ञको उद्घाटन गर्न । त्यसबाट उठेको पैसा मुसहर बस्तीमा घर बनाउन प्रयोग गरिने छ ।’
कान्तिपुर बाट साभार
No comments:
Post a Comment