रुकुममा लेखपढ गर्न नजानेकी अनिता बिक,फिनल्याण्डको स्थानीय चुनाव लड्दै

विभेद बिरुद्ध अभियान -१२ चैत, काठमाडौं -हेल्सिन्की/आँट,बिश्वास र हिम्मत गरे सफलता पाईन्छ भन्ने एक सफल उदाहरण हुन् अनिता बिक। रुकुम गोतामकोट जस्तो बिकट ठाउँमा जन्मेकी अनिताले लेख्न पढ्न जान्ने थिईनन्। तर अबसर पायो भने महिलाले पनि गर्न सक्छे भन्ने उदाहरण प्रस्तुत  गरेकी छन् उनै अनिताले। उमेरले अहिले २६ बर्षकि मात्र भईन् तर हाल फिन्ल्याण्डको स्थानिय निर्वाचनमा चुनाव लड्दै छन्।फिन्ल्याण्ड आएको भर्खरै ५ बर्ष पुगेकी अनिता दुई बच्चाकी आमा पनि हुन्। उनले यता आए पछि फिनिश भाषा समेत अध्ययन गरिन् र राम्रोसँग बोल्न सक्ने पनि भईन्।यो सँगै राजनीतिमा प्रबेश गर्न पनि भ्याईन्।तर उनको सफलताको पछाडि ठुलो हात उनकै श्रीमानको रहेको छ।राइमो तुओमानेन उनका श्रीमान् हुन् लामो समय देखि फिनल्याण्डमा उनि पनि राजनीतिमा नै आबद्द छन्।
बिबाह गरेर फिनल्याण्ड ल्याए पछि साक्षर त बनाए नै, त्यतिमात्र हैन अनितालाई राजनीतिमा पनि अघि सारेका छन्। हरियाली पार्टी (ग्रीन पार्टी) को तर्फबाट अनिताले कोपियो नगरबाट उम्मेदवारी दिएकी छन्।रुकुम गोतामकोटको एक दलित परिबारमा जन्मेकी अनिताले जीवनमा यति ठुलो परिबर्तन होला भन्ने सायद सोचेकी पनि थिईनन्।
चुनावमा उनको हारजित जे सुकै होला तर नेपाली समुदायको सोचको अगाडि भने अनिताले भारी बहुमत पाईसकेकी छन्। श्रीमानको राम्रो साथ पाउन सकियो भने लेखपढ,भाषा बोल्न र लेख्न न त उमेर नै छेक्ने रहेछ न समाजले नै,एक ज्वलन्त उदाहरण बनेकी छिन् रुकमेली अनिता।अप्रिल ९ मा हुने स्थानिय निर्वाचनमा उठ्न हिम्मत दिएका उनका श्रीमान्,अहिले चुनाबी प्रचार प्रसारमा पुरै खटिएका छन्। आँफू अब घर समाल्छु,बाल बच्चालाई समय दिन्छु र श्रीमतीलाई चुनाव जिताएर जनताको प्रतिनिधि बनाउँछु भन्दै राइमो पनि कस्सिएका हुन्।
उचित अवसर र बातावरण पाएमा नेपाली महिलाहरु जस्तोसुकै भूमिका निभाउन पनि सक्षम छन् भन्ने सन्देश दिएको छ । शिक्षा र बालबालिका हेरचाहमा प्रशस्त लगानी, मिश्रीत समाज जस्ता एजेन्डा लिएको हरियाली पार्टी यस अघिको स्थानिय निर्वाचन र सँसदीय निर्वाचनमा पाँचौ नम्बरमा परेको थियो। अनीताको चुनावी नम्बर २३६ रहेको छ।५४ लाख कुल जनसँख्या रहेको देशमा ३ हजारको हाराहारीमा नेपालीहरु रहेको अनुमान छ। स्थानीय निर्बाचनमा अन्य नेपालीहरु पनि उमेद्वारको रुपमा खडा भएको हुँदा,नेपाली समुदायमा यसपटक झनै चासो बढेको छ ।
मेहेनती, मिलनसार, इमान्दारको छबी बनाएका नेपालीहरु अब बिदेशी भुमिमा, निती निर्माण तह अर्थात् राजनीतिक क्षेत्रमा पनि आफ्नो बाक्लो उपस्थिती जनाउँन सक्रिय बनेको देखिन्छ।

No comments:

Post a Comment