२१ मार्च र आजको आवश्यकता - राम कुमार परियार

विभेद बिरुद्ध अभियान ,  ९ चैत्र । जातीय बिभेद वर्तमान अवस्थाको जल्दो बल्दो यर्थाथता हो । घटनाक्रमहरु दिनादुदिन सुन्न र देख्न पाईरहेको हुन्छ । कतै जातिय बिभेदको नकारात्मक प्रभावहरु भने कतै जातिय बिभेद बिरुद्ध चलेका सकारात्मक पाईलाहरुको बारेमा । अहिले बजारमा राजनितिक प्रभावको निकै चर्चा परिचर्चा भईरहेको पाईन्छ । बिशेष यो २१ मार्चलाई लिएर अहिले बिभिन्न कार्य सम्पादनका परिणामहरु खोजी भईरहेका छन । अहिले सम्म दलित समुदायको लागी गरिएको योगदान र परिणामहरुको समिक्षा भईरहेका छन । दलित समुदायबाट उदाएका प्रभावशाली राजनितिज्ञहरुको प्रभाव कहाँ सम्म परिरहेको छ भनेर अहिले खोजी भईरहेको छ । तर, यथार्थमा हेर्ने हो भने अहिले राजनितिक दृष्टि सा साना कुराहरुमा रुमलिरहेको पाइएको छ । हामी दलित समुदायमा हुने नकारात्मक ब्यवहार परिवर्तनको सम्भावना खोजीरहेका छौं भने हाम्रा राजनितिज्ञहरु दलित शब्द परिवर्तनमा, बिगतमा भएका घटनाक्रमको परिचर्चा र असफलताको कथाहरु ब्याख्या गर्नमा आफनो समय र बिचारलाई केन्द्रिकृत गरिरहेको पाईन्छ । के कागको नाम परेवा राखेर काग परेवा हुने हो र ? के सधै पुरानो कथा र घटनाहरुलाई मात्र केलाएर परिवर्तनको सम्भावना खोज्न सकिन्छ र ?
अचम्म लाग्छ, जब दलित समुदायको भावना, मर्म अवस्थालाई बुझ पचाएर हिडनेहरु आज दलितका अगुवा र भरौंटे भएर अघि लागेका छन र सबै दलित समुदायको सपनाहरुलाई पछाडी डोरयाईरहेका देखिन्छन । जातिय बिभेदको यति धेरै नकारात्मक प्रभाव छ कि हाम्रो समाजमा अब अन्र्तजातिय बिवाह हुँदा यति धेरै प्रचार गरिन्छ कि लाग्छ कि त्यो ठुला भनाउदा जातले त्यो सानो भनाउदो जातलाई दया गरिरहेको छ । अनि जो पनि त्यसैको प्रचारमा लागिपर्छन । तर, त्यहि अन्र्तजातिय बिवाह बाट उब्जिएको नकारात्मक परिणामको कुनै चर्चा, परिचर्चा र बहश हुदैन । यदि हुदो हो त अजित मिजार र लक्ष्मी परियारको मृत्युको घटनामा आज यत्रो महिना हुदा सम्म किन कुनै सहि परिणाम आउन सकेको छैन । किन त्यतिकै सेलाएर गयो त्यो घटना ?
वास्तवमा, हामी जसलाई आफनो अधिकारी ठानिरहेका छौं । जो दलित समुदायको अभियन्ताको रुपमा अगाडी छन । यि  सबै तिनिहरुको गल्ती, कमजोरी र पार्टीमोहको परिणाम हो । आज राज्य, देश संक्रमकालीन अवस्थाबाट गुज्रिरहेको अवस्था छ । यो अवस्थामा सम्पुर्ण देशभक्तहरु पिडा र मर्कामा छन । अहिले जसरी राज्यलाई एउटा कुशल शासकको आवश्यकता छ । जसले राज्यलाई सहि नेतृत्वमा डोरयाउने छ । त्यसैगरी दलित आन्दोलन र दलितको अवस्थामा सकारात्मक परिवर्तन ल्याउन एउटा कुशल नेतृत्वको आवश्यक छ ।
धरैले एउटा नयाँ बिचाराधारी, परिवर्तनकर्ता दलित अगुवाको आशा गरेका छन । जसले दलित समुदायको बिकास,परिवर्तन र पहुँचको पुर्वाधारलाई प्राथमिकतामा राखेर कार्यदिशा तयार गर्दछ । साच्चै, अबको दलित समुदायको  समस्यालाई सम्बोधन गर्ने निम्न प्राथमिकताहरुको कार्यदिशा आउनु पर्दछ र त्यसलाई कार्यन्वयन गर्न निम्न कुराहरुमा बिशेष ध्यान दिनु जरुरी छ र आजको आवश्यकता पनि छ ।
क. एकता ः हामी सबैलाई थाहा छ । दलित समुदाय भित्र पनि धेरै प्रकारका गुटबन्दीहरु छन भनेर । दलित समुदाय भित्र पनि बिभिन्न जातिहरु छन तर ति सबैमा एकता नहुनु सबैभन्दा ठुलो कमजोरीको पक्ष हो । दलित समुदाय  भित्र पनि एक अर्कालाई बिभेद गरिनु । एक अर्काको जातियताको आधारमा संस्थाहरु स्थापना गर्नु यसका उदाहरण हुन । तसर्थ, “अबको आवश्यकता ः दलित एकता” अर्थात सबै दलित समुदायहरु एउटै हुनु जरुरी छ । जातिय छुवाछुत र बिभेद साझा र सामुहिक समस्या भएकोले सबै दलित समुदाय एकै हुनुको बिकल्प छैन । जब सम्म यो एकिकृत भावनाको अवस्था श्रृजना हुदैन तब सम्म दलित समुदायले यो बिभेदको वातावरणमा बाचिरहनु पर्दछ । तसर्थः दलित एकता आवश्यकता छ र यसलाई सम्पन्न गराउन हामी सबै लाग्नु पर्दछ ।
ख. गतिशील परिवर्तन ः दलित समुदायको समस्यालाई समबोधन र सम्भावनाको मार्गमा डोरयाउन एउटा गतिशिल परिवर्तनशिल नेतृत्वको आवश्यक छ । ब्यवहारिक परिवर्तनलाई आफनो लक्ष्य लिने । बोलीमा भन्दा पनि ब्यवहारमा बिश्वास गर्ने नेतृत्वको आवश्यकता छ । सानो सानो परिवर्तनलाई सम्भावनाको माध्यम बनाएर दिर्घकालीन परिवर्तनको योजना तयार गर्न सक्नु र त्यसलाई कार्यान्वयनको स्वरुप दिनु आवश्यक छ ।
ग. युवाको सम्बोधन ः “युवा भविष्य हो” भन्ने कथनलाई कुनै पनि परिवर्तनमा छुटाउनु हुदैन । आजका दलित समुदायमा पनि धेरै युवाहरु शिक्षित युवा छन । कोही अनुभवले निखारिएका छन भने कोही अध्ययनले तिखारिएका छन । त्यसैले युवा शक्तिको मनोभाव र आशालाई सम्बोधन गर्न सक्नु पर्दछ । युवाहरुको मनोभावलाई समबोधन गर्दे युवालाई प्रत्येक समस्या र समाधानमा समावेश गराउन सक्नु पर्दछ ।
घ. सम्बेदनशिलता ः दलित समुदाय अन्तर्गत धेरै प्रकारका घटनाहरु बढिरहेका छन । धेरैले त्यस्ता घटनाहरुलाई माध्यमको रुपमा प्रस्तुत गरिरहेका पाईन्छ । तर, हामीलाई यस्तो नेतृत्व चाहिएको छ । जसले यस्ता घटनाहरुलाई सम्बेदनशिल रुपमा अध्यन गरेर यसलाई माध्यम भन्दा पनि संवाहकको रुपमा प्रयोग गर्न सकियोस । घटनालाई प्रबृतिको रुपमा होईन, परिवर्तनको पुर्वाधारको रुपमा प्रयोग गर्न सक्नुपर्दछ ।
ङ. निर्दिष्ट लक्ष्य ः दलित समुदायको अवस्था कस्तो छ । यो समुदाय पछाडी पर्नुको कारक तत्वहरुको अनुगमन गरेर एउटा निर्दिष्ट उदेश्य र लक्ष्य लिनु पर्दछ । सबैलाई थाहा छ । दलित समुदायको प्रमुख कमजोरी भनेको शिक्षाबाट बिमुख भएर हो । सबैलाई रहर भएता पनि सहि तरिकाले शिक्षाको उपभोग गर्न पाईरहेका छैनन । त्यसैले, शिक्षालाई प्राथमिकतामा राखेर सबैमा शिक्षाको पहुँचलाई सहजिकरण गर्नु पर्दछ । त्यस्तै, हामी दलित समुदायको कुन पुर्वाधारलाई पहिलो प्राथमिकतामा राख्ने हो । दलित समुदायको बिकासमा कुन पक्षलाई बढि भन्दा बढि वकालत गर्ने हो भन्ने एउटा निर्दिष्ट लक्ष्य हुनु जरुरी छ । निर्दिष्ट लक्ष्यबाट बिमुख हुनु हुदैन ।
च. कार्यगत बिभाजन ः दलित समुदायमा पनि बिभिन्न क्षमता भएका ब्यक्तिहरु हामी पाउन सक्छौं तर ती सबैको सहि तरिकाले समाबेशी र पहँुच पुग्न सकिरहेको छैन । निर्णायक तहमा बसेका सिमित ब्यक्तिहरुबाट कार्य संचालन, जिम्मेवारी निर्वाह र एकल निर्णय भएर पनि हो आजको वर्तमान अवस्था सम्म पनि दलित समुदायको सम्मानमा फरक  आउन नसकेको । कार्य बिभाजनको श्रृंखला शुरु हुन आवश्यक छ । जब सम्म जिम्मेवारी बाँडफाँड हुदैन । सामुहिक निर्णयको शुरुवात हुदैन तब सम्म यो समस्या आईरहन्छ ।
छ. निर्णायक भुमिका ः बर्तमान परिवेशमा पनि दलित समुदायको अवस्थामा सकारात्मक परिवर्तन आउन नसक्नु भनेको यस सँग सम्बन्धित कुनै पनि निकायबाट निर्णायक भुमिका निर्वाह गर्न नसक्नुले हो । यदि राज्यले , राज्यको संबिधानले जातिय छुवाछुत, जातिय बिभेद दण्डनिय छ भन्छ भने किन फेरि पनि जातिय बिभेदका घटनाहरु बढिरहेका छन । सम्बन्धित निकायले यसलाई दण्डको मापदण्डमा पुरयाउनुको सट्टा ढाकछोप गरेर ब्यवस्था गरेको पाईन्छ । तसर्थ, जबसम्म सम्बन्धित निकायले निर्णायक भुमिका निर्वाह गर्देनन तब सम्म यो प्रकिया चलिरहन्छ र यो अवस्थालाई निर्णयमाbपुरयाउन सक्ने दलित नेतृत्वको आवशयकता छ ।
यसरी अन्त्यमा भन्नु पर्दा दलित समुदायमा परिवर्तनको आवश्यकता छ । परिवर्तन यो समुदायले पाउने सम्मानमा, सुबिधा र सेवामा हुनु आवश्यक छ । यो सम्भव तब मात्र हुन्छ जब हामी सबै दलित समुदाय एक हुन्छौं । जब हाम्रो नेतृत्वले नितान्त दलित समुदायको बिकासको लागी भनेर आफनो समय र बिचारले सबै दलित समुदायलाई एकिकृत रुपमा अगाडी बढाउदै निडर भएर दलित समुदायको सपना र सम्भावनालाई साकार पार्न लाग्दछ । तसर्थ, अब दलित समुदायलाई एउटा कुशल नेतृत्वको आवश्यकता छ र नेतृत्व तहमा सेवारत सबैले दलित समुदायको मनोभावलाई सम्मान गर्दे आफनो कार्यक्षेत्र बिस्तार गर्न सक्नु पर्दछ र नितान्त दलित समुदायको बिकासमा आफनो श्रमदान गर्नु पर्दछ । अनि मात्र दलित समुदायको आगामी भविष्यमा केहि सकारात्मक परिवर्तनको अपेक्ष ागर्न सकिन्छ । हैन भने बिचार बिमर्श भईरहन्छ । बिभेद बिरुद्ध आवाज उठिरहन्छ र अनाहसै त्यो केहि क्षण गुन्जिरहन्छ र हराउदछ । धन्यवाद
राम कुमार परियार, बिराटनगर–११, मोरङ्ग (pariyar.ram@gmail.com)

No comments:

Post a Comment