दलित भएको थाहा भएपछि टोल छाडेर जान धम्की

विभेद बिरुद्ध अभियान -  फागुन २४, हेटौंडाः छुवाछूत गैरकानुनी काम भए पनि सहरबजारमै बिभिन्न बहानामा यस्तो प्रथा कायमै रहेको पाइएको छ । हेटौंडा बजारबाट करिब ६ किमिपूर्व हेटौंडा ६ चौघडास्थित राईटोलमा बस्दै आएकी सुमित्रा सार्की एक प्रतिनिधि पात्र हुन्, जो दलित भएका कारण गाउँमा खानेपानी नपाएपछि अहिले न्यायको खोजीमा भौंतारिएकी छिन् ।
ज्याला मजदुरी गरी दुई छोरी पाल्दै आएकी ३५ वर्षीया सार्की पाँच वर्षदेखि भाडाको कोठामा बसिरहेकी छिन् । छरछिमेकले दलित भएको थाहा भएपछि सार्वजनिक धारामा पानी थाप्नसमेत नदिने गरेको उनको गुनासो छ । टोल छाडेर जान धम्की दिने गरेकोमा नमानेपछि धारामा पानी थाप्न जादा निर्घात कुटपिट गरेको सार्कीले बताइन् । ‘हेटौंडा अस्पताल र हेटौंडा अर्थोपेटिक अस्पतालमा उपचार गरी कोठामा फर्किएकी छु’, उनले गुनासो गरिन्, ‘प्रहरीमा जाँदा पनि गाउँमै मिलेर बस्नू भनेर फर्काइदिए ।’ अन्नपूर्णमा समाचार छ |
उनका श्रीमान् बद्री सार्की ट्रक चालक हुन् । दोस्रो विवाह गरी अन्यत्र बस्दै आएका श्रीमान्ले वास्ता गर्न छाडेपछि मजदुरी गरेर दुई छोरी पढाउँदै आएको उनले बताइन् । ‘पहिले श्रीमान्ले कार्की भनेर मसँग बिहे गरे, मैले छिमेकमा त्यही थर भनेँ’, सुमित्राले भनिन्, ‘पछि श्रीमान् सार्की रहेछन्, छिमेकीहरूले छुवाछूत गर्न थाले ।’टोलमा रहेको एउटा धारामा दिनको दुई घन्टामात्र पानी आउँछ । त्यही पानीको विषयलाई लिएर विवाद बढेपछि सुमित्रामाथि कुटपिट भएको स्थानीय माया कँडेलले बताइन् । ‘अहिलेको समयमा पनि छुवाछूत कायमै रहनु दुःखद कुरा हो’, उनले भनिन्, ‘पीडकलाई कारबाही गर्न हामीले प्रहरीमा दबाब दिइरहेका छौं ।’
जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गर्न निवेदन दिए पनि गाउँमै छलफल गरेर टुंग्याउनुपर्ने भन्दै उजुरी नलिएको कँडेलको भनाइ छ । यता मकवानपुर प्रहरी प्रमुख एसपी वसन्तकुमार लामाले पनि गाउँमै छलफल गरेर समस्या समाधान गरिने बताए । ‘गाउँका सबैलाई राखेर सार्वजनिक छलफल गरी उनलाई गाउँमा पुर्नस्थापित गराउने काममा हामी लागेका छौं’, उनले भने । सहरी क्षेत्रमा चेतना बढ्दै गए पनि दलितप्रति हेरिने दृष्टिकोण भने पूर्ण रूपमा परिवर्तन भइनसकेको दलित अधिकारकर्मी कमलकुमार विश्वकर्माले बताए ।
‘जिल्लालाई नै व्यावहारिक रूपमा छुवाछूतमुक्त बनाउन हामीले अभियान सञ्चालन गरिरहेका छौं’, उनले भने, ‘जातकै आधारमा छुवाछूत गर्नेहरूलाई राज्यले कारबाही गर्नुपर्छ ।’

No comments:

Post a Comment