मानसिक सन्तुलन गुमाएका शिवराज बिक आठ वर्षदेखि खोरमा

विभेद बिरुद्ध अभियान - चैत्र ९ - चौडण्डीगढी नपा-१ शिखरपुरका ३४ वर्षीय शिवराज बिकलाई विगत आठ वर्षदेखि परिवारले खोरमा थुनेर राखेका छन् । मानसिक सन्तुलन बिग्रेका बिकलाई परिवारले आर्थिक श्रोतको कारण देखाउँदै थुनेर राखेका हुन् ।
उपचार गर्ने खर्च नभएपछि खोर बनाएर थुनेको बुवा रामकुमार बिकले बताए । ‘आठ वर्षअघि मानसिक सन्तुलन गुमाएका शिवराजको सामान्य उपचार गराउँदा ठिक नभएकोले अन्यत्र लगेर उपचार गराउन आर्थिक श्रोत नभएकाले थुनेर राख्नु परेको हो ।’-रामकुमारले भने सामान्य लेखपढ गर्ने शिवराज काठमाडौँमा ज्याला मजदुरी गरी गुजारा गर्दैरहेको अवस्थामै अचानक मानसिक बिरामी भएपछि यो अवस्था आएको पीडितका बावुले बताए । मानसिक सन्तुलन गुमाएपश्चात भतिजा र भतिजीको हत्या नै गर्न खोजेको र पछि गाउँका सर्वसाधारणमाथि पनि आक्रमण गर्न थाल्दै हिँडेपछि थुनेर राख्न बाध्य भएको रामकुमारको भनाइ छ ।
उपचार गर्दागर्दै घरखेत पनि साहुले लिएकाले थप उपचार गर्न नसकेको परिवारको भनाइ छ । छोराको अवस्थामा सुधार आउँछ कि भनेर दुई पटक सुधारगृहमा राख्दासमेत सुधार नभएको पीडा सुनाउँदै शिवराजकी आमा सुमित्राले भनिन्-‘त्यहाँ पनि ठीक नभएपछि खोरमा थुन्नु पर्ने बाध्यता आएको हो ।’

No comments:

Post a Comment