नौ वर्ष लामो अन्तरजातीय प्रेमको सुखद अन्त्य, मागी बिहेमा परिणत

दीननाथ बराल - विभेद विरुद्ध अभियान - ३० फागुन, पोखरा: पोखराको विन्द्याबासिनी मन्दिरमा सोमबार विवाहको लगन छोप्न नवजोडीहरु देखिन्थे । तीमध्ये एक जोडी भने अन्तरजातीय विवाहका लागि जुटेको थियो ।नौ वर्षअघि स्कुले जीवनदेखि सुरु भएको प्रेमसम्बन्ध अन्ततः सोमबार विन्द्याबासिनी मन्दिरमा केही आफन्तलाई साक्षी राख्दै कसम खाँदै बिहेमा परिणत गरे अन्तरजातीय जोडीले ।पोखरा चाउथेका २७ वर्षीय किरण परियार र पोखरा सृजनाचोककी तारा गुरुङ समाजमा उदाहरण बन्दै सोमबारदेखि वैवाहिक सम्बन्धमा प्रवेश गरेका हुन् । परियार जातिको परम्परा अनुसार विधि पुर्‍्याएर छोराको विवाह उनले चाहेकी तारा गुरुङसँगै गराएको दुलाहका बाबु रामबहादुर परियारले बताए ।
“मेरो एउटै छोरा हो, उसले चाहेकी केटीसँगै राजीखुसीले हाम्रो विधिपुराएर विन्द्याबासिनी मन्दिरमा आफन्तलाई साक्षी राखेर विवाह गराएका हौँ'', उनले भने, ''यो विवाहसम्बन्ध जुगौंसम्म नटुटोस, उनीहरूको फलोस फुलोस ।”दुलहीकी आमा कृष्णकुमारी गुरुङले समाजमा रहेको छुवाछुत अन्त्य नभएकाले सुरुवात आफैँबाट गर्नुपर्दछ भनेर आफुहरुले छोरीको चहानाअनुसार अन्तरजातीय विवाह गराएको बताइन् । “देशमा नर र नारी दुई जात हुने भएकोले छोरीको चहाना अनुसार हामीले अन्तरजातीय विवाह गराएका हौँ, छोरीको जल खाएर हामीले ज्वाईँलाई विन्द्याबासिनी मन्दिर साक्षी राखेर दिएका छौँ'', नेकपा माओवादी केन्द्रकी सक्रिय कार्यकर्तासमेत रहेकी कृष्ण कुमारीले भनिन्, 'उसलाई पाले पुण्य मारे पाप, आजका मितिदेखि मेरी छोरी किरणजीलाई सुम्पिएकी छु ।” 
स्कुले जीवनदेखिको प्रेम सम्बन्ध नौ वर्ष लगाएर बिहेमा परिणत हुन समाजले गर्दा लागेको दुलाहाले बताए । 'हाम्रो मन मिले पनि घर परिवारबाटै परम्परा अनुसार विवाह गराउने चहाना भएकोले समय लागेको हो', उनले भने । दुलाह किरण घर जग्गा तथा टुर्स एण्ड ट्राभल्स व्यावसायी हु्न् । दुलही तारा व्यवस्थापन संकायको स्नातकोत्तर प्रथम वर्षमा अध्ययनरत छिन्। अध्ययनका क्रममा प्रेम सम्बन्ध बढाएका उनीहरुले जात भन्दा एक अर्कोलाई माया गर्ने भएकाले लामो समय कुरेर भए पनि जोडी बन्न सफल भएको किरणले बताए । “समाजमा धेरैले हाम्रो विवाहलाई सकरात्मक ढंगले हेरेका छन् भने केहीले नकरात्मक ढङ्गले हेरेका छन्', किरणले भने, ''तर हाम्रो जोडी नमुना बनेर यो समाजमा उदाहरणीय बन्न चाहान्छौं ।” ताराको नरम स्वभाव र गलत कुराबारे खरोरूपमा आवाज उठाउने भएकोले आफूले मन पराएको उनको भनाइ थियो । 
पण्डित चुडामणि ढकालले नेपाली परम्परा अनुसार विवाहको विधि पुर्‍याएर सोमबार विन्द्याबासिनी मन्दिरमा अन्तरजातीय जोडीको विवाह गराएको बताए । उनका अनुसार पछिल्लो समय वर्षमा करिब ५ जोडीको अन्तरजातीय विवाह विन्द्याबासिनी मन्दिरमा हुने गरेको छ । सरकारले करिब ३ वर्षअघि अन्तरजातीय विवाह गर्ने जोडीलाई एक लाख रुपैयाँ प्रोत्साहन रकम दिने निर्णय गरेको थियो ।

No comments:

Post a Comment