दलितपन निर्माण गर्ने कुसंस्कृति - घम्बर नेपाली


विभेद बिरुद्ध अभियान- फागुन २९ गते ।  बागलुङ जिल्लामा भर्खरै सम्पन्न गैरदलित वर्गको मानसिकतामा दलितपन कसरी संरचित छ त भन्ने अध्ययनको निष्कर्षमा भन्न सकिन्छ – दलितभित्रै रहेको कुसंस्कृतिले दलितपन कायम राखेको छ ।  

५० देखि ८० वर्ष समूहको ‘उच्च जातका मानिस’ र दलित जातका मानिसमा गरिएको यस इथ्नोग्राफिक अध्ययनअनुसार उपल्लो जातका खासगरी पुरानो पिंढीले दलितहरूलाई ‘सिनो खाने जात’, ‘ठूलो हाड खाने जात’, ‘जाँड रक्सी चढाउने÷खाने जात’, ‘ठाडो गाली गर्ने जात’, ‘फोहोरी काम गर्ने जात’, ‘फोहोरी जात’, ‘हिँड्दा देखेपछि साइत बिग्रिने जात’ जस्ता घृणित विम्बका रूपमा बुझ्दा रहेछन् ।  उनीहरूको दिमागमा यीलगायतका अरू थुप्रै सांस्कृतिक तथा धार्मिक यथार्थ र मिथक कुराहरूले बास गरेको देखियो ।  त्यसैको आधारमा यस अध्ययन क्षेत्रको ग्रामीण समाजमा जातपात र छुवाछूत प्रथा कायम रहिरहेको उनीहरूको जिकिर छ ।  
उपल्ला जातिका मानिसहरूले भनेका कुराहरूको सत्यता छ छैन एवं छ भने के कति र कस्तो अवस्थामा छ त भनेर दलित घर परिवारमा पनि अवलोकन गर्ने र यथार्थ खोतल्ने काम भयो ।  नयाँ पुस्तामा सिनो खाने चलन अन्त्य भए पनि पुरानो दलित पुस्तामा यदाकदा सिनो खाने चलन अद्यापि कायम रहेको पाइयो ।  रक्सी चढाउने÷खाने, ठूलो हाड खाने चलन अब दलित मात्र सीमित रहेन ।  यो उपल्लो जातिको नयाँ पुस्तामा झाँगिदै गइरहेको छ ।  उपल्ला जातका नयाँ पुस्ताले या त लुकाएर घरमै या बजारबाट किनेर ठूलो हाडवाला मासु खाने गरेको पाइयो ।  रोचक तथ्य अझ के भेटियो भने भट्टी पसल आजभोलि दलितबाट गैरदलितको घरमा सरेको छ ।  हिजो द्वन्द्वकालमा जाँडभट्टी बन्द गर्दै हिँड्ने स्थानीय माओवादी नेताहरू पनि आफैँ ती भट्टी पसलको मालिक भइरहेको दखिन्छ ।  
गाउँमा दलित समुदायका युवापुस्ता पनि भारत र खाडी मुलुकमा श्रम गर्न गएका छन् ।  जो युवा तथा काम गर्न सक्ने वयष्क र वृद्ध–वृद्धा दलितहरू गाउँमा छन्, उनीहरू अझै बालिघरे, हलिया प्रथामा लागिरहेका छन् ।  खासगरी विश्वकर्माहरूको आरन पेसा, परियारहरूको लुगा सिउने पेसामा बालिघरे प्रथा कायमै छ ।  हलिया प्रथा आजकल ज्यालादारीमा रूपान्तर भएको छ ।  प्रायजसो गाउँमा भएका दलितहरू ज्याला मजदुरीका लागि घरबाट निस्कन्छन् ।  दिउँसोभरि कडा परिश्रम गर्दछन् गैरदलितका घरमा ।  कमाएको जति साँझ गैर दलितको घरमा सञ्चालित रक्सी भट्टीमा स्वाहा बनाएर राति घर पुग्छन् ।  अनि सुरु हुन्छ – घरेलु हिंसा, महिला हिंसा, बालबालिका हिंसा र वृद्ध–वृद्धा हिंसा ।  वास्तवमा जाँडरक्सीको कुसंस्कारले यति नराम्रो गरी जरा गाडेको छ कि प्रायः दलित परिवारका कलिला बालकहरू प्राथामिक तहको शिक्षा पनि पूरा नगर्दै भारातका गल्ली–गल्ली धाउन बाध्य छन् ।  दलित बालिकाहरू सानै उमेरमा बालविवाह स्वीकार्न बाध्य छन् ।  जाँडरक्सीको कुलतबाट ज्याला मजदुरी गरी खाने दलित परिवारको मात्र होइन, गैरदलित परिवारको पनि बिल्लीबाठ भएको छ ।  
राज्यले संविधान र कानुनमा जातपात र छुवाछूत अन्त्य भएको घोषणाले एक दशक नाघिसक्यो ।  तर समाजमा भेदभाव ज्यूँका त्यूँ छ ।  माओवादी द्वन्द्वकालमा घटेको जातीय भेदभावको ग्राफ झन् बढेर गएको छ ।  गैरदलितका घरमा बालिघरे, ज्याला मजदुरी गरेर बनिवुतो गर्ने दलितले पल पलमा भेदभावको सामना गरिरहेका छन् ।  गरिबीको दुष्चक्रले गाँज्दै लगेको छ ।  अनि फोहोरी देखिनेदेखि लिएर जोखिमयुक्त काम गर्न बाध्य हुँदारहेछन् दलितहरू ।  कुन चीज खाँदा के फाइदा÷बेफाइदा हुन्छ भन्ने सामान्य चेतनाको स्तर पनि नहुँदा स्वस्थकर खानाबाट बञ्चित छन् ।  सचेतनाकै अभावले राज्यबाट पाइने सामाजिक सुरक्षामा उनीहरूको पहुँच सहज छैन ।  गरिबी परिचय पत्र वितरण अध्ययन टोली उनीहरूको घरमा पुग्दैन ।  अरू समाजको जान्ने मान्छेको भरमा फारम भर्दा धनी दलित र गैरदलितले नै पाउँछ ।  गैरसरकारी सङ्घ संस्थाहरू वास्तविक पीडित दलितका परिवारसम्म पुग्न सकेका छैनन् ।  जिल्ला सदरमुकाम वरिपरिका केही दलित घरपरिवार मात्र उनीहरूको लक्षित समूहमा पर्छन् ।  
दलित समुदायले यी समस्याबाट पार पाउन राजनीतिक अस्त्रले मात्र सम्भव देखिँदैन ।  पुस्तौँदेखि मानिसका दिल दिमाग र चलन चल्तीमा रहेको खराबीलाई पनि फ्याक्नैपर्ने हुन्छ ।  पूजाआजाका नाममा पिउँदै आएको जाँडरक्सीको लतमात्र हटाउन सक्ने हो भने एउटा दलित परिवारको सामान्य बनिवुतोको जीवन चलाउन गाह्रो छैन ।  तर राष्ट्रिय संस्कृति नै बनिसकेको यो कुसंस्कारलाई हटाउन हामी सक्षम छौं त ? हिजो सभ्य समाज निर्माणको गफ चुट्ने आदर्शवान नेताहरू आजभोलि जाँडभट्टीमा अझै ठूला परिवर्तनको बकवास गरेको भेटिन्छ ।  एनजीओ आइएनजीओका विकासे कार्यकर्ता तारेहोटलमा महंँगा रक्सीकै तालमा समाज सुधारको गफ लडाइरहेका हुन्छन् ।  अनि कसरी सकिन्छ विचरो गाउँको दलितको जन्मजात लाएको रक्सी लत छुटाउन ?
अबको बहस गैरदलितलाई दोष दिएर मात्र परिवर्तन हुन्छ भन्नेमा होइन ।  आफैँमा रहेका कमी कमजोरीलाई हटाउन पनि उत्तिकै सक्रिय हुन जरुरी छ ।  त्यसका लागि गैरदलितले लगाएका आरोप सत्य हुन् कि भ्रम आफूतिर फर्किएर विश्लेषण गर्ने, ती आरोप सही भए सुधारतर्फ जोड दिने र गलत भए खण्डन गर्न सक्नुपर्छ ।  अहिले भइरहेको दलित आन्दोलन कता कता अल्लमल्लमा परेको छ ।  ताप्के नतातिकन बिंड तात्दैन भनेझैँ दलितहरूले आफ्नो समस्या हल गर्न आफैँ अग्रसर नभए अरूले गरेर कहिले पार लाग्ला ? पुरानो पुस्ताका गैरदलितको मथिङ्गलमा जगडिएर रहेको दलितप्रतिको सोंचलाई गलत सावित गर्न अभियानमा लागियो भने परिवर्तन सम्भव छ ।  गोरखापत्र बाट

No comments:

Post a Comment