त्यत्रोबेर बोलुन्जेल उनका आँखाहरु झुकेरै बसेका थिए। नेपाल मात्र होइन,
युरोपमा समेत गएर संगीतको प्रशिक्षण दिन भ्याएकी उनी अहिले पनि आफूलाई
प्रस्तुत गर्ने बेलामा हल्का लजाउँदी रहिछन्। यता श्रोताहरुमा उत्सुकता
बढ्दो थियो।
ती बाटुला औंलाहरु जसै तारमा ओहोरदोहोर गर्न थाले, मार्च महिनाभरि महिलाका
मुद्दा उठाउँदै आएको थापाथलीस्थित मार्टिन चौतारीको हल बिहीबार एक्कासी
सुरिलो बन्न पुग्यो। काखमा राखेको सारंगीबाट सिंगो पहाड रसाएर झर्न थालेको
भान पार्नेगरी। संगीतको औपचारिक ज्ञान लिएकी नेपालकी प्रथम गन्धर्व गायिका
बर्त गन्धर्वले अब कुन धुन पस्किने हुन्? संस्कृति झल्काउने मालश्री? होइन।
लडाईँमा वीरगति प्राप्त गरेका पुरुषलाई सम्झँदै कर्खा? त्यो पनि होइन।
सारंगीको मिठो बोली चल्दाचल्दै उनको पहिलो स्वरले उच्चारण गरेको शब्द थियो–
‘हे मेरी आमा, नरोइ बस अँध्यारो कुनामा
मेरो माया संगेली राख मुटुको कुनामा।’
अलिकति पीडा, अलिकति लज्जा र अलिकति आक्रोश झल्किने त्यो अनुहार। अनि गाउँदागाउँदै घरिघरि चिम्म आँखा।
सारंगी बजाउने अधिकार छोराले मात्रै राख्छन् भन्ने मान्यता बोकेको समाजकी
छोरी बर्त त्यतिबेला गीत मात्र सुनाइरहेकी थिइनन्, भोजपुरको जरायोटारदेखि
यहाँसम्मको आफ्नो यात्रा पनि वर्णन गरिरहेकी थिइन्।
‘सारंगी समातेको देखे बुवाले मार्नुहुन्थ्यो,’ उनले भनिन्, ‘त्यसैले बुवा
भारततिर जानुभएको बेला आमासँगको संगतमा मैले यो गुण ग्रहण गर्ने मौका
पाएँ।’
बर्तका अनुसार उनी सात–आठ वर्षको हुँदा उनका पिता सारंगी रेट्दारेट्दै
भारततिर हराएका थिए। त्यसपछि छोरीलाई लिएर घरघरै गाउँदै हिँड्ने काम उनकी
आमाले गर्न थालिन्। एकातिर आमाको हात, अर्कातिर बुवाले छाडेको सारंगी।
बुवाको अनुपस्थितीबीच छोरी यसरी सारंगीमा पारंगत हुन थालिन्।
यसैबीच भारतबाट फर्केर आएका बुवा पनि छोरीले निकालेको धुन सुनेर मख्ख परे।
‘त्यसपछि अलिक सजिलो भयो,’ बर्तले भनिन्, ‘मलाई लिएरै बुवाले मेलापात र बजारहरु चहार्न थाल्नुभयो।’
यसैगरी अरुणपारि गाउँदै घुमिरहेको बेला तुम्लिङटारमा एकदिन गोपाल
शिवाकोटीसँग भेट भयो। शिवाकोटीले बर्तलाई काठमाडौं लैजाने इच्छा राखे।
‘बुवाले नै मलाई काठमाडौं ल्याएर शिवाकोटी सरकहाँ छाडिदिनु भयो,’ उनी भन्छिन्, ‘मेरा दिन फेरिए।’
बर्तलाई पढ्न एउटा जर्मन संस्थाले छात्रवृत्तिको व्यवस्था गरिदियो।
बुङमतिस्थित त्रिरत्न स्कुलकी छात्रा भएपछि उनले पढाइको साथ समात्दा सारंगी
चाहिँ छुट्न पुग्यो।
‘मैले धेरैपटक त्यहाँ पनि बजाउन खोजेकी थिएँ,’ उनी भन्छिन्, ‘तर, वरिपरि सबैले अलिक खिसी गरेको अनुभव भयो।’
हौसला पाउनुका साटो लाज मान्दै बस्नुपर्ने अवस्था निम्तिएपछि उनले सारंगी बजाउन छाडिन्। यसरी एसएलसीसम्मको पढाइ पूरा भयो।
एसएलसीपछि संगीत क्षेत्रका हस्तीहरुसँगको भेट अर्को अवसर बन्न पुगेको उनि सम्झन्छिन्।
‘मलाइ सबैले संगीत पढ्ने सल्लाह दिनुभयो,’ उनले भनिन्, ‘म ललितकला क्याम्पसमा भर्ना भएँ।’
त्यहाँ पढ्दापढ्दै उनको भेट तारबाजामा रुचि राख्ने अर्का परिचित संगीतकार
लोचन रिजालसँग भयो। रिजालको सहयोगले नेपाल संगीत विद्यालयमा फेरि उनले
छात्रवृत्तिमा पढ्न पाइन्। बर्तले त्यहाँबाटै चार वर्षको पढाइ पूरा मात्र
गरिनन्, दुई वर्ष संगीत प्रशिक्षिका भएर पढाइन् पनि।
‘संगीतको अध्ययन गर्नुभन्दा पहिले म स्वयंलाई निकै जान्ने गायिका
ठान्थेँ,’ उनी भन्छिन्, ‘पढ्न थालेपछि त ‘मलाइ केही आउँदैन रहेछ’ भन्ने
लागेर अलिक समय त गाउन पनि संकोच मान्ने भएकी थिएँ।’
नेपाल संगीत विद्यालयको विद्यार्थी भएकै बेला एकपटक र पढाइ पूरा गरिसकेपछि
प्रशिक्षिकाका रुपमा एकपटक गरेर उनले दुईपटक नर्वेको सांगीतिक यात्रा पनि
गर्ने मौका पाइन्।
‘गएको असारमा मात्रै म नेपाल फर्केकी हुँ,’ उनी भन्छिन्, ‘यसबीच अलिकति पारिवारिक व्यस्तता पनि भयो।’
कस्तो पारिवारिक व्यस्तता? छेउमै बसेकी सहजकर्ता एवं पत्रकार सुमिना कार्कीले प्रश्न गरिहालिन्।
जवाफमा उनी हल्का लजाइन्।
‘... भनेर भन्नुपर्दा... मैले बिहे गरेँ,’ उनले टाउको निहुराएर मुस्काउँदै
थपिन्, ‘विनोद गाउँले (गन्धर्व) सँग, उहाँ पनि गायक हुनुहुन्छ।’
विनोदसँगको सम्बन्ध श्रीमानश्रीमतीको मात्र नभई संगीतका निम्ति पनि एक अर्काको परिपूरकका रुपमा चलिरहेको उनले सुनाइन्।
‘हामी सँगै बसेर अभ्यास गर्छौं,’ उनले भनिन्, ‘एउटाले कतै बिगारेको छ भने
अर्कोले औंल्याइहाल्छौं।’ संगीतका कुराकानी र दाम्पत्य जीवन एकसाथ अघि
बढाउदा रमाइलो हुने गरेको उनको अनुभव छ। त्यसमाथि कतै कार्यक्रममा
जानुपर्दा पनि यो क्षेत्रलाई बुझेको श्रीमान् पाएकै कारण अहिलेसम्म सजिलो
परिरहेको उनले उल्लेख गरिन्।
‘तर, बिहे गरेपछि मायाप्रीतिका गीतचाहिँ लेख्न नसकिने रहेछ,’ उनले ठट्यौली
गर्दै पनि एउटा कटु यथार्थ प्रकट गरिन्, ‘श्रीमान्लाई सम्झेर गीतका
शब्दहरु फुर्दैन रहेछन्।’
हो त। बिहे गरेपछि र दाम्पत्य जीवनमा प्रतिबद्ध भएपछि मायाप्रीतिका गीत कसरी जन्मिन्छ?
‘सँगै बस्दा त श्रीमान मात्रै होइन,’ उनले इमान्दारीपूर्वक आफ्ना भावना राखिन्, ‘आमाकै गीत पनि फुर्दैनन्।’
उनले अघि भर्खरै गाएको ‘हे मेरी आमा’ गीतको सन्दर्भ पनि निकालिन्।
‘त्यो गीत नर्वे बसेको बेला आमालाई सम्झेर तयार पारेकी थिएँ,’ भन्दै गइन्,
‘अहिले अब दिनहुँ प्रत्यक्ष सम्पर्कमा रहेकी आमालाई सम्झेर त्यस्तै गीत
लेखुँ भन्दा फुर्दै फुर्दैनन्।’
आमालाई सम्झेर बनाइएको त्यो गीतपछि उनी के गाउन चाहन्छिन्?
यो छनौटको सुविधा उनैलाई दिइयो।
उनले सबैलाई चकित पार्दै अर्को नाम लिइन्, ‘झलकमान गन्धर्व,’ दोस्रोपटक उनको सारंगीले झलकमानकै धुन सुरु गर्यो र गाउन थालिन्–
‘बाला जोवन खेलेर गयो...’
बर्तका गीतहरु सुन्दै गएपछि नेपालको गाइने परम्पराबाट मालश्री र कर्खाहरु हराउन थालेका त होइनन्? भन्ने जिज्ञासा जाग्यो।
‘मालश्री सम्मलाई कोशिश गर्न सक्छुँ,’ उनले भनिन्, ‘नत्र ती गीतहरु असाध्यै गाह्रो हुन्छन्, हत्तपत्त हामी गाउन सक्दैनौं।’
किन?
उनी भन्छिन्, गाउँमै बसेका उनका बाहरुले शब्द उच्चारण मात्र गर्दा पनि जुन
भाव उत्पन्न हुन्थ्यो, त्यो भाव आजभोलिको गायन अभ्यासले निकाल्दैन।
‘गाउन त हामी लोकगीत गाइरहेका छौं,’ उनले भनिन्, ‘तर, काठमाडौंमै सिक्दै र
हुर्कंदै गएका हामी लोकगायनमै पनि कताकता धेरै आधुनिक भइसकेका छौं।’
हिजोआज कर्खाको प्रचलन गाउँतिर पनि हराइसकेको उनले जानकारी दिइन्। उनका
अनुसार लडाईँ वा विभिन्न विपत्तिको घटना वर्णन गर्दै घरघर चहार्ने परम्परा
नै अहिले शून्यप्रायः छ। बरु सारंगी बोकेकाले पर्यटकतर्फ आफूलाई बढी
केन्द्रित गर्न थालेको उनी बताउँछिन्।
‘यसरी हामीले कसका निम्ति गाउने भन्ने बाटो नै मोडिएको छ,’ उनले प्रष्ट
पारिन्, ‘त्यसकै प्रभावमा कर्खाको प्रचलन पनि मेटिने क्रममा छ।
आउने पुस्ताले गन्धर्व परम्परालाई कुन रुपमा लैजाला भन्ने लाग्छ?
यो प्रश्नमा बर्त सारंगीसँगको मोह स्वयं गन्धर्वहरुमै घट्न थालेकामा चिन्तित देखिन्छिन्।
‘सहर बजारमा सारंगी सिक्ने विभिन्न ठाउँ खुलेका छन्,’ उनी भन्छिन्, ‘तर हाम्रै समुदायका मान्छे त्यसमा उत्तिको चाख राख्दैनन्।’
उनका अनुसार केही गन्धर्व चेलीलाई उनी आफैंले सिकाउन सुरु गरे पनि उनीहरु बीचैमा छाडेर गइदिए।
यतिबेला भने बर्तले आनी छोइङ डोल्माको विद्यालयमा संगीत शिक्षिकाको जागीर पाएकी छिन्।
‘त्यहाँ पढ्ने आनीहरुलाई सारंगी बजाउन सिकाइरहेकी छु,’ उनले भनिन्, ‘उनीहरुले पनि खासै रुचि राखेको देख्दिनँ।’
यसबीच आनी छोइङको संगतले एउटा अर्को राम्रो ढोका पनि उनका निम्ति खुल्न
पुगेको छ। आनी र चर्चित सारंगीवादक श्याम नेपालीको प्रोत्साहनमा यतिबेला
मौलिक नेपाली धुनको अभ्यास गर्ने चेलीहरुको ब्याण्ड तयार भएको छ– ‘श्री
तारा।’ यो समूहमा सारंगी र स्वरमा बर्तबाहेक बाँसुरीमा रोजिना डंगोल, मादल र
धिमे सारदा डंगोल, तबलामा मन्जु नकर्मी र इफेक्टमा मतिना महर्जन समेटिएका
छन्।
खुलेको केही समयमै ब्याण्डका कुनै साथीले छाडेर गइदिँदा अप्ठेरो परेको
बताउने बर्तका अनुसार अब फेरि उनीहरु सामूहिक अभ्यासमा जुट्न थालिसकेका
छन्।
‘अस्ति नारी दिवसका दिन संगीतकर्मी महिलाको जमघटमा तपाईँहरुलाई बोलाइएन?’ एक महिला सहभागीले प्रश्न गरिहालिन्।
‘हामी नयाँ भएकाले धेरैले थाहा नै पाउनु भएको छैन होला,’ बर्तले थपिन्, ‘अब बोलाउनु भयो भने हामी गएर प्रस्तुत गर्न तयार छौं।’
बर्तलाई गीत रेकर्ड गर्ने प्रस्ताव अहिलेसम्म कतैबाट आएको छैन। बरु
विभिन्न स्टुडियोहरुले उनलाई रेकर्डिङका बेला सारंगी बजाउन भने
बोलाइरहन्छन्। यसले पनि केही कमाइ भइरहेको उनले प्रष्ट पारिन्।
सारंगीवादक गायिका भएकामा उनलाइ कस्तो लाग्छ?
‘मैले यो गुणकै कारण छात्रवृत्ति पाएँ, विभिन्न अवसर पाएँ,’ उनी भन्छिन्, ‘त्यसैले म खुशी छु।’
आफ्नै समाजका मान्छेले पनि हिजोआज ‘फलानाकी छोरीले सारंगी बोकेरै देश
विदेश घुमेकी छे, संगीतमा लागेर आफूलाई मात्र होइन, बाआमालाई पनि हेर्न
थालेकी छे’ भनेर चर्चा गर्दा परिवारमै पनि मर्यादा बढेको महसुस हुन्छ
उनलाई।
तर, जबजब उनी आफ्नी आमाको संघर्ष सम्झिन्छिन्, कहाली लागेर आउँछ।
बिहीबार पनि मार्टिन चौतारीमा बोल्दाबोल्दै एक ठाउँमा उनी अड्किइन्, आमालाई सम्झेर...
‘केटाकेटीमा हात समात्दै गाएर हिँड्दा मैले कयौंपटक आमाविरुद्ध बोलिएका
दुर्वचन सुन्दै हिँड्नु परेको थियो,’ उनले थपिन्, ‘त्यो क्षण अहिले पनि
छातीमा अड्केको खिल जस्तै दुखिरहन्छ।’
लर्बरिएको आवाज एकछिनसम्म अडियो र अडिए उनका श्रोताका मन पनि।
साभार :- सेतो पाटी
No comments:
Post a Comment