पर्वत घटनाको कारण जातीय विभेद नै भएको निश्कर्ष

महावीर विश्वकर्मा
काठमाण्डौं, २२ वैशाख ।
पर्वतमा कामी र सार्की समुदायबीच भएको झडपमा १ जनाको ज्यान गएपछि घटनाको स्थलगत अध्ययनका लागि गएको टोलीले जातीय विभेद तथा छुवाछुत कै कारण ज्यान गएको निश्कर्ष निकालेको छ । जागरण मिडिया सेन्टर, समता फाउण्डेशन, नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ, नेपाल दलित महिला उत्थान संघ, कोक्याप र दलित महिला संघले संयुक्त रुपमा घटनाको स्थलगत अध्ययन गरेर यस्तो निश्कर्ष निकालेको हो ।
टोलीले विज्ञप्ती जारी गर्दै, उक्त घटनाको जड दुई पक्षबीचको जातीय विभेद तथा छुवाछुत भएको भन्दै हाल चलिरहेको कर्तव्य ज्यान सम्बन्धी मुद्दाको अतिरिक्त जातीय भेदभाव तथा छुवाछुत(कसुर र सजाय) ऐन २०६८ बमोजिम पनि पिडकहरुलाई हदैसम्मको कारबाही गरिनुपर्ने भनेको छ । “घटनाको उठान छुवाछुतकै कारण भएको ठहर गरेता पनि जातीय विभेद तथा छुवाछुत सम्बन्धी अपराधलाई प्रहरी प्रशासनले अनुसन्धानको दायरामा नल्याएको र ल्याउन सकिने कुरालाई पनि स्वीकार नगरेको देखिन्छ” विज्ञप्तीमा उल्लेख गरिएको छ ।
वि.सं. २०७० चैत्र २१ गते शुक्रबार पर्वत जिल्लाको पाङ गाविस २ सुन्दरबस्तीस्थित चन्द्रबहादुर सुनारको छोराको ब्रतबन्धको अवसरमा आयोजित भोजमा नेपाली (सार्की) समुदायका आमन्त्रित युवाहरुलाई दाल नछोइदिनु भनेको विषयमा सोही दिन साँझ विवाद उत्पन्न भएर झडपको रुप लिँदा घाइते भएका १५ वर्षीय राजेश नेपालीको पोखरास्थित मणीपाल शिक्षण अस्पतालमा उपचारको क्रममा चैत्र २९ गते ज्यान गएको हो । “मृतक १५ वर्षीय राजेश नेपाली दिनभरको भोजको कार्यक्रममा उपस्थित नभई आफ्नो खेतमा काम गरि फर्किएर खाना खाएर सुतिसकेका थिए” विज्ञप्तीमा भनिएको छ, “चन्द्रबहादुर सुनारको घरसँगै बन्दै गरेको उनको आफ्नो घरमा राखिएका ड्रम तथा टिनहरुमा ढुङ्गाले हानेको आवाज तथा बाहिर होहल्ला सुनेपछि के भएछ भनी राजेश नेपाली पाईन्ट मात्र लगाएर घटनास्थल पुग्दा विश्वकर्मा परिवारका युवाहरुले उनीमाथी सांघातिक आक्रमण गरि सख्त घाईते  बनाए ।”
विज्ञप्तीमा जागरण मिडिया सेन्टरका तर्फबाट दिपक परियार, समता फाउण्डेशनका तर्फबाट बद्रीप्रसाद भुसाल, कोक्यापका तर्फबाट सहेक विश्वकर्मा, नेपाल राष्ट्रिय दलित समाज कल्याण संघका तर्फबाट नरेश सोव, नेपाल दलित महिला उत्थान संघका तर्फबाट गौरा नेपाली र दलित महिला संघका तर्फबाट शर्मिला बागचन्दले हस्ताक्षर गर्नुभएको छ ।साभार :- जागरण मिडिया सेन्टर

No comments:

Post a Comment