यामसाजन सुनार लोकप्रिय खेलाडीको मनोनयनमा परे

काठमाडौं– नेपाल खेलकुद पत्रकार मञ्चले यस वर्षको बजाज पल्सर स्पोर्ट्स अवार्ड अन्तर्गतको पपुलर प्लेयर अफ द ईयरको मनोनयन सार्वजनिक गरेको छ । मञ्चले यसपटक विभिन्न खेलमा ५ जना लोकप्रिय खेलाडीहरुलाई मनोनयनमा पारेको छ । आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले बिहीबार सार्वजनिक गरेको मनोनयनमा पारससँगै फुटबलका चर्चित युवा स्ट्राइकर विमल घर्तीमगर, भलिबलकी सरस्वती चौधरी, पौडीकी सोफिया शाह र एथलेटिक्सका यामसाजन सुनार परेका छन्।
मञ्चका सचिव एवं खेलाडी छनोट समिति संयोजक प्रकाश तिमल्सिनाले मनोनित खेलाडीको नाम सार्वजनिक गरे। समर्थकहरूले गरेको एसएमएस मत र फेसबुक लाइकका आधारमा विजेता चयन गरिने मञ्चले जनाएको छ।
लोकप्रिय खेलाडीको मनोनयन गर्दा खेलाडीले बितेको वर्षमा गरेको प्रदर्शन र उपलब्धिसँगै त्यसले पारेको प्रभाव र जनचासोलाई आधार बनाइएको छनोट समिति सदस्य नवीन खतिवडाले बताए। उनका अनुसार एसएमएसबाट प्राप्त एक मतलाई पूर्ण मत मानिनेछ भने फेसबुकमा चार लाइक बराबर एक मत गणना गरिनेछ।
पल्सर स्पोर्टस अवार्डको दिन जेठ १८ मा नै लोकप्रिय खेलाडी घोषणा हुनेछ। स्पोर्टस अवार्डको ११ औं संस्करणमा वर्षका उत्कृष्ट पुरुष, महिला, युवा, प्रशिक्षक, पारा एथलिट, स्पेसल अवार्ड र लाइफटाइम एचिभमेन्ट अवार्ड गरी ८ विधामा पुरस्कार दिने मञ्चले जनाएको छ। अन्य विधाका मनोनित तथा विजेता छनोट समितिले गर्नेछ भने लोकप्रियको चयन समर्थकको मतबाट चयन गर्ने व्यवस्था छ।
यामसाजन सुनार
एथलेटिक्सका १ सय र २ सय मिटर दौडका च्याम्पियन यामसाजन सुनार राष्ट्रिय कीर्तिमान तोड्न सफल खेलाडी हुन्। उनलाई एथलेटिक्स वृत्तमा नेपालकै ‘फास्टेस्ट म्यान' को उपनामले चिनिन्छ।
 

No comments:

Post a Comment