जातीय छुवाछुतको उजुरी दर्ता गरेको महिना वितिसक्दा पनि कारवाही भएँन

विनोद परियार
रुपन्देही,१ जेष्ठ
नवलपरासी स्वाँठि गाविस वनकट्टीका दुई दलित महिलाले जातीय छुवाछुत सम्बन्धि उजुरी दर्ता गरेको एक महिना वितिसक्दा पनि प्रहरीले कारवाही नगरेको गुनासो गरेका छन् ।
ब्रहमकुमारी इश्वरीय विश्वविद्यालयको इकाई सञ्चालन गरि बस्दै आएका मनमायाँ परियार र लक्ष्मी परियारले तल्लो जात भनि गाली गलौज र अपमान गरेको भनी गत चैत २४ गते जिल्ला प्रहरी कार्यालयमा जातीय भेदभाव छुवाछुत तथा कसुर र सजाय ऐन २०६८ अनुसार कारवाही गरि पाउँ भनि उजुरी दर्ता गरेका हुन् । उजुरी दर्ता भएको ३९ दिन वितिसक्दा पनि प्रहरीले कुनै पनि प्रकृया नथाल्दा असुरक्षित भएको पिडितहरुको भनाइ छ । प्रहरीले जातीय छुवाछुतको घटनालाई संवेदनशिल रुपमा लिनुपर्ने सरकारी निर्देशन रहेपनि विभिन्न वाहना बनाएर कारवाही प्रकृया अगाडि बढाएको छैन् ।
स्वाँठीका स्थानीय निमबहादुर शाही र यमप्रसाद पाण्डे सहित १२ जना विरुद्ध प्रहरीमा उजुरी परेको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी उपरीक्षक विष्णुहरी गौतमले आफुहरुले पटक पटक सुनवल इलाका प्रहरी कार्यालयलाई पक्राउ गरि कारवाही प्रकृयामा ल्याउन निर्देशन दिएपनि निर्देशन नमानेको बताउँनुभयो । प्रहरी प्रमुखले निर्देशन नमानेको भनेपनि किटानी परेकाहरुलाई कारवाही प्रकृया अहिलेसम्म थालिएको छैन् । पिडितहरुले पटक पटक प्रहरीलाई गुहार्दा पनि सुनुवाई नगरेको पिडित मनमायाँ परियारले दुःखेसो पोख्नुभयो । उहाँले आफुहरुलाई केटाकेटी लगाएर आश्रमा ढुङगा हान्न लगाउने,आश्रमभित्र रहेका आँप,लिचि र फलफूल टिपेर जिस्काउने काम भइरहेको बताउँनुभयो । उहाँका अनुसार आरोपितहरु प्रहरी कार्यालयमै आउने जाने गरेका छन् ।
राष्ट्रिय दलित आयोग, राष्ट्रिय मानव अधिकार आयोग उपक्षेत्रिय कार्यालय बुटवलले समेत जातीय भेदभाव सम्बन्धि उजुरी दर्ता भएकाले तुरुन्त कारबाही गर्न र घटनाको बारेमा के भइरहेको छ भनेर पत्राचार भएको छ । तर पनि प्रहरीले प्रकृया शुरु भएको छ भनेर जवाफ पठाएको पाइएको छ । राष्ट्रिय मानव अधिकार आयोग उपक्षेत्रिय कार्यालय बुटवलका मानव अधिकार अधिकृत चन्द्रकान्त चापागाइले जातीय रुपमा भेदभाव गर्न नपाइने र यस्तो संवेदनशिल घटनामा प्रहरीले प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको आफुहरुसंग पनि पिडितको गुनासो आएको बताउँनुभयो । उहाँले एकचरणमा पत्रमार्फत जानकारी लिएको बताउँदै अब विस्तृत जानकारी लिइने जानकारी दिनुभयो ।
चैत १३ गते दुई जना महिलालाई तल्लो जात भन्दै गाली बेइज्जती र निकृष्ट शब्द प्रयोग गरि गाली बेईज्जती गरेको पिडितहरुको जाहेरीमा उल्लेख छ । १८५ नम्बरमा उजुरी दर्ता भएको हो । प्रहरी उपरीक्षक गौतमले एकपटक फेरी सुनवल प्रहरीलाई निर्देशन दिने र त्यसो हुन नसके जिल्लाबाटै खटिएर एकसाताभित्र  कारवाही गर्ने बताउनुभएको छ ।
नेपालमै पहिलोपटक १२ जना विरुद्ध जातीय भेदभाव कसुर र सजाय ऐन अनुसार उजुरी दर्ता भएको यो पहिलो घटना हो । ऐन अनुसार दोषी प्रमाणि भए ३ महिनादेखि तीन बर्षसम्म कैद र एक हजार देखि २५ हजार रुपैयाँसम्म जरिवाना हुनेछ । भगवती सामुदायिक बनको करिब १० कठ्ठाको क्षेत्रफलमा फैलिएको उक्त क्षेत्रमा बर्षोदेखि बस्दै आएका उनीहरुलाई यसअघि पनि दुर्गामन्दिरको नाममा पटक पटक दुई महिलालाई अपमान गर्दै आश्रम छाड्न दवाव दिने गरेका थिए ।
दलित आयोगद्धारा अनुगमन
राष्ट्रिय दलित आयोगले यो घटनाको स्थलगत अध्ययन गरेको छ । आयोगका सदस्यद्धय सन्तोष परियार र श्रीबहादुर पासीले स्थलगत अध्ययन र प्रहरी प्रमुखहरुसंग छलफल गरि कारवाही प्रकृयामा ढिलाई भइरहेको बारेमा बुझेको हो । आयोगका सदस्य सन्तोष परियारले राजनितिक दवाव र दलितको मुद्धाको बिषयमा प्रहरीले चासो नदेखाएको पाईएको बताउँनुभयो ।
विहिबार परासीमा पत्रकार सम्मेलन गरि जातीय छुवाछुतको घटनालाई प्रहरी प्रशाशनले ३९ दिन वित्दासमेत किटानी जाहेरी दिएकाहरुलाई कारवाही नथालेको भन्दै आपत्ति जनाउनुभयो । बुधबार स्वाँठीमा घटनाको सत्यतथ्य बुझ्न जादा आफुहरुलाई समेत स्थानीय प्रेम गुरुङको निर्देशनमा ढुङगा मुढा प्रहार भएको बताउँनुभयो ।
“हामीलाई त ढुङगा प्रहार भयो पिडितलाई कस्तो होला ?” उहाँले भन्नुभयो । उहाँले प्ररी प्रमुखले एक हप्ताभित्रमा पक्राउ गरि कारवाही गर्ने प्रतिबद्धता जनाएको बताउँदै एक हप्ताभित्रमा कारबाही नभए सवोच्चमा मुद्धा लैजाने बताउनुभयो ।

No comments:

Post a Comment