सिरहा: बर्षभरिमा नौ महिना दाउरा बेचेर जीविकोपार्जन गरिरहेकी आशा सदाय आफूले गरेको श्रमको अनुपातमा आय आर्जन गर्न नसकेकोमा दु:खी छिन्। दिनहु एकाबिहानै आफूले लगाएको लुगाको आचलमा रोटी, नुन, खुर्सानी बाधेर चुरे जंगलतिर पस्ने गरेकी आशा बेलुकातिर टाउकोमा दाउराको भारी लिएर घर फर्किन्छिन्।
दाउरा ल्याएको दुई दिनको अथक परिश्रमपछि एक भारी दाउरा बेचेर १ सयदेखि १ सय ५० रूपैयासम्म आर्जन गरी छ जनाको परिवार चलाउन ज्यादै धौ धौ पर्ने हुनाले बर्षभरिमा साहु महाजनबाट सात हजारसम्म ऋण लिने बाध्यता रहेको उनले दुखेसो पोखिन्। चुरे पहाडसँग जोडिएको पूर्व पश्चिम राजमार्ग वरिपरि करिब २५ गाविसका विपन्न, दलित महिला तथा पुरु षको दिनचर्या यसैगरि गुज्रिन्छ।
एक तथ्यांक अनुसार यस जिल्लाका ३ हजार परिवारका महिला दाउरा बेच्ने व्यवसायमा संलग्न रहेको मध्ये करिब २५ प्रतिशत १४ बर्ष मुनिका बालिका रहने गरेका छन्। एक ११ बर्षीया छोरीलाई साथ लिएर दुवै आमा छोरी टाउकोमा दाउराको भारी बोकी पन्ध्र किलोमिटर टाढा जंगलबाट दाउरा बेच्न लहान बजार पुगेकी बेच्नीदेवी पासवानलाई उचित मुल्य पाउन नसकी ग्राहकको खोजीमा बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म भोकै बस्नुपर्यो। कुनै पनि ग्राहकले एक भारी दाउराको सय रुपैयाभन्दा बढी दिन मानेन् अन्तत : सूर्यास्त हुन लागेको समयमा दुई सय रूपैया मुल्यको दाउरा मात्र १ सय २५ रुपैयामा बेच्नु परेको उनले दुखेसो पोखिन्। नाबालिका छोरीलालाई विद्यालय नपठाई दाउरा बेच्न किन ल्याउनुहुन्छ ? भन्ने प्रश्नमा खिङ्ग्रिएको अनुहार बनाउदै उनले भनिन्, ' भोको पेट र लत्ताकपडा नभएर विद्यालय कसरी पठाउन सक्छौं।' वन उपभोक्ता समितिको पदाधिकारी जंगल हेरचाह गर्नुको सट्टा जंगललाई नै सखाप पारिरेको उनले बताइन्। उनले सामुदायिक बन उपभोक्ता समितिका पदाधिकारीहरूले प्रति भारी दाउराको १० रुपैया असुल गरी रुख बिरु वा कटान गर्न लगाए पछि अहिले दाउरा लिन सरकारी वनमा जानु परेको भनिन्।
बर्षभरिमा तीन महिना मात्र कृषिसम्बन्धी कामका लागि रोजगारी पाउने गरेका यस क्षेत्रका सुकुम्वासी, दलित, गरीब, बिपन्न तथा निम्नस्तरीय परिवार नौ महिना बेरोजगार नै हुने गर्छन्। उनीहरु बर्षायामसंगै धान रोप्ने काम शुरु भएदेखि धान काट्ने समयसम्म गाउमै काम गर्छन्। अन्य नौ महिनाको समयमा जहान परिवार पाल्नका लागि दाउरा ल्याउनु र बेच्नुको कुनै बिकल्प नभएका असनपुर ९ की ललितादेवी रामले भनिन्। राममुखीदेवीको दुई छोरा र चार छोरी छन्। दुवै छोरा र छोरी मध्ये जेठी, माहिली र साहिलीले दाउरा बेच्ने काममा आमालाई सघाउने गर्छिन्।
तीन छोरीको सहारामा मासिक तीन हजारदेखि चार हजार रूपैयासम्म उपार्जन हुने गरेको ललितादेवीले बताइन्। श्रीमान गत महिना पञ्जाबबाट आएका थिए। पतिले ल्याएको ५ हजार रूपैयामध्ये साहु महाजनको ऋण तिरेर बाकी रहेको रूपैयाले छोराको पढाईका लागि कापी, कलम किनिदिएको उनले भनिन्। छोरालाई स्थानीय प्राथमिक विद्यालयमा पढाइ रहेको उनले भनिन् ।
उनीहरु जस्तै नौ महिना जंगलको दाउरामा आश्रित बिपन्न, दलित, गरीब, सुकुम्बासी तथा निम्नस्तरका ›यक्तिहरुले दाउरा लिन जंगल पुगेपछि सानो, ठूलो रुखको कुनै वास्ता नै नगरी रुख कटान गरिरहेकोले अहिले चुरे जंगल नाङ्गो देखिन थालेको छ। चुरे जंगल अहिले रुख बिरुवा भन्दा बढी बनमाराले ढाकेको बिष्णुपुरकट्टीका दिनेस महतोले बताए। सामुदायिक वन उपभोक्ता समितिहरु पनि कतिपय ठाउमा निष्क्रिय छन् भने कतिपय ठाउमा उनीहरु नै व्यक्तिगत लाभका लागि वन फडानी कार्यलाई पृष्ठपोषण गरिरेको उनले भने।
जनसंख्या बृद्धि, इन्धनका लागि दाउरा प्रयोग गर्नु, बसाइसराइ, गरिबी, जनचेतनाको अभाव, काठ तष्करहरु, फितला वन व्यबस्थापन निति, बन फडानी गरि खेती गर्नु लगायतका कारणले जंगल विनास भइरहेको स्थानीय बुद्धिजिवी सुजित मण्डलले बताए। चुरे जंगल बिनास भएपछि चुरे पहाड बगेर तराईका उब्जाउ योग्य जग्गामा पहिरो गई जग्गा बाझो हुनु, वातावरणमा असर पर्ने, बंगालको खाडीबाट आएको मनसुनी हवा चुरेमा ठोकिन नपाएपछि बर्षा नहुने जस्ता खतरा बढेको उनले भने।
जिल्ला वन कार्यालय सिरहाका निमित प्रमुख रामनरायण यादवले मुलुकको प्रतिकुल स्थिति तथा राजनीतिक चल्खेलका कारण बन फ डानीमा बृद्धि भएको बताए। उनले तराईका जंगलहरु स्थानीय समुदायमा हस्तान्तरण गरेपछि अधिकांश तराईबासी जंगलको उपयोग गर्नबाट बञ्चित भएको मौका छोपी बन उपभोक्ताहरु उनीहरुलाई दाउरा, काठ बेच्नुका साथै भारतीय बजारमा समेत काठ पुर्याएर अनुचित लाभ उठाउने गरेको र उनीहरुलाई राजनीतिक संरक्षण रहेकोले बन फडानी बढदै गएको भने। आफूहरुले वन फडानीमा रोक लगाउन अभियान शुरु गरेपछि कुनै बेला राजनीतिक दलले अबरोध गर्छ त कुनै बेला बिभिन्न संघ संस्थाको ढाल ओढेका तस्करहरुले नै अबरोध पुर्याउदै आएको उनले आरोप लगाए।
साभार: अन्नपुर्ण
No comments:
Post a Comment