सामाजिक कार्यमा बोलाई जातीय विभेद गर्ने विरुद्ध उजुरी

०७१ वैशाख ३१ गते, ओखलढुङ्गा ।
सामाजिक कार्यमा बोलाई आफूहरूलाई जातीय विभेद गरेको भन्दै ज्यामिरे गाविस-८ का दुई युवाले जातीय विभेदको आरोपमा उजुरी गरेका छन् । २१ वर्षीय सुवास नेपाली र विकास नेपालीले वैशाख ३० गते जिल्ला प्रहरी कार्यालयमा जातीय विभेद गरेको आरोपमा उजुरी दिएका हुन् । छिमेकी आइतबहादुर मगरको विवाहमा बोलाई र विवाहमा बेहुला र बेहुलीलाई टीका लगाउँदा छुन नहुने भनेर हातपात गरेको निवेदनमा उल्लेख छ ।

पीडित सुवास नेपालीले बेहुला साथी भएकाले निम्तामा टीका लगाउन खोज्दा वैशाख २७ गते आफूहरूलाई अपमानजनक रुपमा विभेद गरेर टीका लगाउन नदिइएको बताए । उनले बोलाएर विभेद गर्ने बेहुला आइतबहादुर मगर, कालुमान मगर र संयुक्त गुठी विरुद्ध जातीय विभेदको उजुरी दिएको जानकारी दिए ।

जातीय विभेदको उजुरी आएको विषयमा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गोविन्द अधिकारीले दुवै पक्षलाई झिकाएर छलफल गराए पनि विवाद नमिलेको बताए । दुवै पक्षलाई गाउँमा एक पटक छलफल गरेर आउन भनिएको उनले जानकारी दिए । पीडित पक्षले भने आफ्नो उजुरीमाथि कारबाही प्रकृया नथालेको गुनासो गरेको छ ।

दलित अधिकारकर्मीहरूले विभेदको मुद्दा मिलापत्र गराउन नहुने माग गरेका छन् । दलित अगुवा कुलबहादुर नेपालीले मिलापत्र गराए आन्दोलन गर्ने चेतावनी दिए । दोषीमाथि कानुन अनुसार कारबाही गर्न दलित समुदायले माग गरेका छन् ।

No comments:

Post a Comment