न्यानो घरमा बस्ने दलित परिवारको सपना अधुरै

चन्द्रौटा (कपिलवस्तु)  / न्यानो र पक्की घरमा बस्ने मीठो सपना बोकेकी कपिलवस्तु चनई ९, मदवाकी तुल्सरी सुनारको सपना अधुरै रह्यो । जनता आवास कार्यक्रमले फुसको झुपडी भत्काएर इट्टाको गारोसहितको दुई कोठे घर बनाइदिने आशा जगाई तीनवर्षअघि जग उठाएर बीचमै छोडेपछि न्यानो घरमा बस्ने तुल्सरीको सपना अधुरै बनेको हो । नेपाल सरकारले शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयमार्फत ल्याएको जनता आवास कार्यक्रममा तुल्सरी मात्र होइन त्यस बस्तीका अति विपन्न ४३ दलित घरपरिवार यतिबेला विचल्लीमा परेका छन् ।
“सरकारले निःशुल्क नमूना घर बनाइदिने सपना देखायो तर बीचमै अलपत्र पारेर गयो”, स्थानीय कमला परियारले गुनासो पोखिन् । आफूहरु गरीब भएकै कारण सरकारले बनाइदिएको अधुरो घर समेत पूरा गर्न नसकेको उनले दुःखेसो पोखिन् ।
न्यानो घरमा बस्न पाउने अभिलासा बोकी बनाएको फुसको घर समेत भत्काएपछि सानो कटेरोमा गुजारा चलाउँदै आएका करीब ९० वर्षीय वृद्ध मोतीलाल सुनार आफ्नो सपना अधुरै बनेको गुनासो गरे ।
त्यसैगरी सोही ठाउँका भिमबहादुर सुनारले सरकारले जग उठाएर अलपत्र पारेपछि आफैंले इंटा बनाएर इटाको कच्ची गारो लगाएर ओत्ने थलो बनाएको बताए । नयां घर बनाइदिने आश्वासन देखाएर सरकारले भएको पुरानो छाप्रो र घर टहरा समेत भत्काएपछि आफूहरु निकै कष्टपूर्ण जीवन विताउनु परेको त्यहाँका दलित परिवारले गुनासो गरेका छन् ।
सरकारले ०६६÷०६७ को बजेट बक्तव्य मार्फत ल्याएको जनता आवास कार्यक्रम कपिलवस्तु जिल्लाको मदवा गाउँमा तीन वर्षअघि दुई कोठे भवन निर्माणका लागि बनाएको जग अहिले जीर्ण अवस्थामा छ । जिल्ला वन कार्यालयले बनक्षेत्र ओगटेर घर बनाएको दावी गदैं निर्माणाधिन घर वीचमै रोकिदिएपछि यहांका विपन्न दलित परिवार अहिले घर न घाटका भएका छन् ।
जिल्लाका पाँच गाबिसमा पहिलो चरणमा ४ सय २६ अति विपन्न दलित परिवारका लागि घर निर्माण गर्ने महत्वकांक्षी लक्ष्य मदवा गाउँमा भने वीचमै अधुरो रहँदा यहांका स्थानीयले पाउनुसम्म सास्ती पाएका छन् । वन कार्यालयले वनक्षेत्रभित्र बनाएका घर निर्माण कार्यमा रोक लगाएपछि सरकारको लाखौं रुपैयां खेर गएको छ ।
सरकारले जिल्लाका धरमपनिया, हरिहरपुर, सोमडीह, चनई र रामनगर गाविसमा आर्थिक बर्ष २०६७ भित्रै घर निर्माण कार्य सम्पन गर्ने गरी जनता आवास कार्याक्रम लागू गरेको थियो । तर छनौट भएका अधिकांश स्थानमा जग मात्र बनाई विपन्न, गरीब दलित परिवारलाई विचल्लीमा पारेका छ । प्रति घर १ लाख ४९ हजारका दरले टिनको छानो युक्त भान्सा सहितको २ कोठे घर निर्माण कार्य बनाउने बताएपनि भवन निर्माण कार्य वीचमै अलपत्र अवस्थामा परेपछि सरकारको जनता आवास कार्यक्रम वीचमै थला परेको छ ।

No comments:

Post a Comment