किटानी जाहेरी परेपछि परिवारले दुई बालिकाको शव उठाउन भए तयार

विभेद बिरुद्ध अभियान -जेष्ठ २७ ,भरतपुर । जेठ २० गते शनिबार माडी नगरपालिका–६ रामराज्यपुरमा भएको दुई बालिका मृत्यु प्रकरणमा बुधबार अवेर किटानी जाहेरी परेको छ । परिवारले दिएको किटानी जाहेरीमा स्थानीय युवाहरु वर्ष १८ का असल भट्टराई, वर्ष १७ का गौरव भट्टराई र वर्ष १७ कै सरोज भट्टराई रहेका छन् ।
यस घटनामा दुई बालकविरुद्ध पनि चितवन प्रहरीमा उजुरी परेको छ । सोही स्थान बस्ने वर्ष १२ को नविन सुवेदी र १३ वर्षका रविन विकविरुद्ध पनि किटानी उजुरी परेको चितवन प्रहरी प्रमुख एसपी दीपक थापाले बताए । चितवन प्रहरीले यस अघि नै १३ युवालाई नियन्त्रणमा लिई सोधपुछ गरेको थियो । प्रहरीले बिहीबार नै चितवन अदालतबाट ७ दिनको म्याद थप समय पाएको छ ।
किटानी जाहेरी परेपछि परिवारले दुई बालिकाको शव उठाउनका लागि तयार भएको थियो । मृतक बालिकाको बिहीबार नै देवघाटमा अन्त्येष्टि गरिएको छ । ‘परिवारको तर्फबाट किटानी जाहेरी परेपछि हामीलाई घटना अनुसन्धानका लागि थप सहयोग भएको छ’, प्रहरी प्रमुख थापाले भने, ‘दुई बालिकाको मृत्यु प्रकरण वास्तवमै रहस्मय भएकाले हामी विभिन्न कोणबाट अनुसन्धान गरी नतिजा हात पार्ने तयारीमा छौं ।’
माडी नगरपालिका वडा नम्बर – ६ रामराज्यपुर स्थित मजुवा सिंचाइ पोखरीमा २० गते शनिबारका दिन बिहान १० बजेको समयमा पिकनिक खान भनी घरबाट गएका बालबालिकाहरु वर्ष १० की दिपिका सुनार र वर्ष ११ की दिपशीला परियारको मृत्यु भएको थियो ।
गत सोमबार जिल्ला प्रहरी प्रमुख एसपी दीपक थापा र महिला अधिकारकर्मीहरुको टोलीले स्थलगत अनुसन्धान गरेको थियो । स्थानीय र अधिकारकर्मीले बालिकाको बलात्कारपछि हत्या गरी पोखरीमा फालेको दाबी गरेका छन् । योनीबाट रगत आएको, शरीरका अन्य भागमा पनि रगत लागेको र आँखाको माथिल्लो भागमा चोटपटक देखिएकाले बालिकाहरुको बलात्कारपछि हत्या गरेर फालेको हुन सक्ने स्थानीय अधिकारकर्मीहरुको भनाइ छ ।
चितवन प्रहरी प्रमुख एसपी दीपक थापाले बालिकाहरुको पोस्टमार्टम रिर्पोट आइसकेको र थप अनुसन्धानका लागि भिसेरा परीक्षण गर्न पठाइएको जानकारी दिए ।
स्थानीयले अनुसन्धानमा दबाब दिनका लागि सोमबार दिउँसो इलाका प्रहरी कार्यालय माडी घेराउ गरेका थिए । त्यस्तै मंगलबार माडीमा चक्काजाम गरेका थिए । भरतपुरमा समेत अधिकारकर्मीहरुले धर्ना दिएका थिए । साथै संघर्ष समिति समेत गठन गरिएको छ ।

No comments:

Post a Comment