आर्थिक अभावका कारण एकै घरका आठ दलित बालबालिका स्कुल जानबाट वञ्चित

आर्थिक अभावले विद्यालय जानबाट वञ्चित सोरु गाउँपालिका-३ भिई गाउँका एक दलित घरका ८ जना बालबालिकामध्ये १३ वर्षीया नानी कुमाल, ११ वर्षीया सभी कुमाल, ९ वर्षीय रमला कुमाल, ७ वर्षीया राजेन्द्र कुमाल, ५ वर्षीय रन्ज कुमाल, ४ वर्षीय सुर कुमाल र नानी कुमालले बोकेको एक वर्षीय भाइ निसान कुमाल । तस्बिर : जीवन सेजुवाल
विभेद बिरुद्ध अभियान -जेष्ठ ३० - भिई (मुगु) : सदरमुकाम गमगढीबाट २१ कोष टाढाको सोरु गाउँपालिका-३, भिईस्थित एकै घरका आठ दलित बालबालिका आर्थिक अभावकै कारण स्कुल जानबाट वञ्चित भएका छन् ।एक वर्षअगाडि छतबाट खसेर बाबु मुन कुमालको मृत्यु भएपछि आठ सन्तानको पढाइ छुटेको हो । आरन पेसा गरेर परिवार धान्दै आएका मुनको आफ्नै घरको छतबाट खसेर मृत्यु भएको थियो ।
उनको मृत्युपछि १७ वर्षीय मनरुप, १५ वर्षीय ज्ञानी, १३ वर्षीया नानी, ११ वर्षीया सभी, ९ वर्षीया रमला, ७ वर्षीय राजेन्द्र, ५ वर्षीय रन्ज र ४ वर्षीय सुर कुमालले पढाइलाई निरन्तरता दिन सकेनन् । आमा र जेठा छोरा मनरुपको कमाइले बिहान-बेलुका खान पनि नपुग्ने भएपछि उनीहरू स्कुल जान छाडेका हुन् ।
बाबुको मृत्युपछि ९ कक्षा पढ्दै गरेका मनरुपले पढाइ छाडेर आरन पेसालाई निरन्तरता दिएका छन् । माइलो छोरा ज्ञानी गाउँलेसँगै भारत गएका छन् । 'गाउँलेको फलामका सामग्री बनाएबापत पाउने अन्न र आमाले अरुको काम गरेर ल्याएको अन्नले परिवार धानेका छौं', मनरुपले भने, 'बाबुको मृत्युपछि घरको सबै जिम्मा मेरै काँधमा आएको छ । आरनको कमाइले सात भाइबहिनीलाई कापीकलम किन्नसमेत नपुग्ने भएपछि पढाउन सकिएको छैन ।'
गाउँमा खेतबारी नभएकाले अहिले सबै परिवार लेकमा रहेको घरमा बसिरहेका छन् । आफूहरू बसेको स्थानबाट गाउँको विद्यालय पुग्न दुई घन्टा लाग्छ । आर्थिक अभावकै कारण सबै भाइबहिनीलाई पढाउन नसकिए पनि एक-दुई जनालाई मात्रै भए पनि जसोतसो पठाउने चाहना भए पनि नसकिएको मनरुपले बताए ।

No comments:

Post a Comment