चितवनमा दुइ दलित समुदायका बालिकाको बलत्कार पछि हत्या

विभेद बिरुद्ध अभियान , जेष्ठ २५-  माडी । झण्डै ८० मिटर लम्बाइ र ३० मिटर चौडाइ भएको पोखरी खोलाभन्दा केही पर वनको काखमा अवस्थित छ । माडी रामराज्यपुर स्थित मजुवा सिंचाइको पोखरीको बीच भाग ८ फिट गहिराइ छ । पानीमा केही माछा र खपटे कीराहरु देख्न सकिन्छ । गर्मीको समय भएकाले स्थानीयहरु त्यस पोखरीमा पौडी खेल्न जाने गरेका छन् ।
शनिबार त्यस पोखरीमा अनौठो घटना भयो । जसले गर्दा रामराज्यपुर र सिंगो माडीबासी के भएको हो भन्ने कौतुहलता र आश्चर्यमा परेका छन् । गत शनिबार माडी रामराज्यपुरमा भएको दुई बालिका मृत्यु प्रकरण झनै रहस्यमय बन्दै गएको छ । घटनाको दुई दिन बितिसक्दा पनि कारण केही पत्तो नलागेपछि सोमबार जिल्ला प्रहरी प्रमुख एसपी दीपक थापा, मुद्दा फाँटकी प्रहरी अनुसन्धान अधिकृत प्रनि अन्जना श्रेष्ठ, जिल्लाका महिला अधिकारकर्मी, डाक्टर र पत्रकारसहितको टोली घटनास्थलमा पुगेको थियो । झण्डै दुई घण्टा घटनास्थलको अवलोकन, स्थानीयसँगको सोधपुछ पनि उक्त टोली भरतपुर फर्किएको थियो ।
घटनास्थल अवलोकनपछि स्थानीय र अधिकारकर्मीले बालिकाको बलात्कारपछि हत्या गरी पोखरीमा फालेको दाबी गरेका छन् । घटनास्थल हेरेपछि अधिकारकर्मी मीना खरेलले भनिन्, ‘कुनै अपराधिक घटना गराइ बालिकाहरुलाई पोखरीमा फालिएको हुन सक्छ ।’
माडी नगरपालिकाका प्रमुख ठाकुर ढकालले भवितव्य नभइ कसैले कर्तव्य गरेर बालिकालाई पोखरीमा फालेको हुन सक्ने भन्दै घटनाको सुक्ष्म तरिकाले अनुसन्धान हुनुपर्ने बताए । त्यस्तै उपप्रमुख ताराकाजी महतोले बालिका मृत्यु प्रकरणबारे सत्यतथ्य बाहिर ल्याउन प्रशासनलाई आग्रह गरिन् ।
चितवन प्रहरी प्रमुख एसपी दीपक थापाले बालिकाहरुको पोस्टमार्टम भइसकेको र मेडिकल रिर्पोट आएपछि घटनाबारे थप पुष्टि भइ अनुसन्धान गर्न सहज हुने बताए । साथै उनले बालिकाको अपराधिक गतिविधिबाट मृत्यु भएको हुनसक्ने आशंकामा ५ जना युवा र केही बालबालिकाहरुसँग पनि सोधपुछ भइरहेको बताए ।
माडी नगरपालिका वडा नम्बर – ६ रामराज्यपुर स्थित मजुवा सिंचाइ पोखरीमा २० गते शनिबारका दिन बिहान १० बजेको समयमा पिकनिक खान भनी घरबाट गएका बालबालिकाहरु वर्ष १० की दिपिका सुनार र वर्ष ११ की दिपशीला परियारको मृत्यु भएको थियो ।
योनीबाट रगत आएको, शरीरका अन्य भागमा पनि रगत लागेको र आँखाको माथिल्लो भागमा चोटपटक देखिएकाले बालिकाहरुको बलात्कार पछि हत्या गरेर फालेको हुन सक्ने स्थानीय, अधिकारकर्मीहरुको भनाइ रहेको छ ।
स्थानीयले अनुसन्धानमा दबाब दिनका लागि सोमबार दिउँसो इलाका प्रहरी कार्यालय माडी घेराउ गरेका छन् । बालिकाहरुको हत्या भएको भन्दै उनीहरुले अपराधीलाई खोजी गरी तत्काल कारबाहीको समेत माग गरेका छन् ।

No comments:

Post a Comment