विभेदकारी कुसंस्कार हटाउन भन्दै सारंगी बजाएर भोट मागिरहेका छन् गन्धर्व उम्मेदवार



जेठ २८ - स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा गन्धर्व समुदायले जातीय विभेद हटाउने र पुन:स्थापनाका लागि पहल गर्ने उम्मेदवारलाई मत दिने जनाएका छन् । उनीहरूले त्यसका लागि प्रचारप्रसारमा गएका उम्मेदवारसँग स्पष्ट योजना माग्ने गरेका हुन् ।

६५ वर्षीय मनबहादुर गन्धर्वले लामो समयदेखिको जातीय विभेद अन्त्य गर्ने उम्मेदवारलाई नै भोट दिने बताए । दुई दशकअघि बढैयाताल ४ दक्षिण भकारीको ऐलानी जग्गामा बस्दै आएका गन्धर्व समुदाय सल्यान र दैलेखबाट आएका हुन् । बस्तीमा ५३ घरधुरीमात्रै छ । 
जिल्लामा झन्डै ५ सय जनसंख्या रहेको गन्धर्व समुदाय पुन:स्थापनाको पर्खाइमा छन् । अल्पसंख्यक जातिको सूचीमा रहेको गन्धर्व समुदायका धनजितलाई बढैयाताल गाउँपालिका ४ बाट एमालेले वडा सदस्यको उम्मेदवार बनाउने निर्णय गरेको कान्तिपुरमा खबर छ  ।
०५२ मा सुकुमवासी आयोगले जिल्लाका विभिन्न ठाउँमा छरिएर रहेका गन्धर्वलाई सोरहवा ५ मा घरवासका लागि २ देखि ५ कट्ठा जग्गा उपलब्ध गराएको थियो । जग्गा नपाएका १३ परिवार ऐलानी जग्गामा बस्दै आएका छन् । घरवासका लागि जग्गा प्राप्त गरे पनि रोजगारी अभावमा भारतमा मजदुरीका लागि जान बाध्य छन् । यो समुदायका अधिकांश बालबालिका विद्यालय पहुँचबाट बाहिर छन् ।
पच्चीस वर्षअघि जाजरकोटबाट सारङ्गीको सहारामा गीत गाउ‘दै जीविकोपार्जन गर्न बर्दिया पसेका मनबहादुरले ५ वर्षदेखि परम्परागत पेसा छोडेका छन् । १५ वर्ष उमेरदेखि गीत गाएर जहानपरिवार पाल्दै आएका धनबहादुरले पनि पाँच वर्षदेखि पुख्र्यौली पेसा छाडेको बताए । सोरहवाका कैलाश गन्धर्वले जातीय विभेदका कारण अहिले पनि आफूहरूमा विभिन्न समस्या रहेको बताए । 
गरिबी, अशिक्षा र बेरोजगारीले जीविकोपार्जनमा समस्या भएको उनको भनाइ छ । बडा सदस्य उम्मेदवार बन्ने निश्चित भएका धनजितले निर्वाचनमा विजयी भए विभेद हटाउँदै समुदायमा रहेको गरिबी र बेरोजगारी समस्या हटाउन पहल गर्ने जनाए । गाउँमा विद्यालय नभएका कारण १० प्रतिशत बालबालिका विद्यालय जानबाट वञ्चित छन् ।

No comments:

Post a Comment