विभेद बिरुद्ध अभियान -जेष्ठ २४- मेरो नाम पुतली परियार। यसपालिको स्थानीय तह निर्वाचनमा म दलित महिला सदस्यको तर्फबाट विजयी उम्मेदवार हुँ।मैले काठमाडौंको नागार्जुन नगरपालिका वडा नम्बर ७ मा कांग्रेसबाट चुनाव जितेँ। मैले आफ्नै वडाध्यक्षको भन्दा बढी मत पाएको थिएँ भन्न पाउँदा गर्वको अनुभूति भइरहेको छ। मैले पाएको मत हजारमा चार कम थियो।यो चुनाव अघिसम्म म यही गाउँमा लुगा सिलाउँथेँ। अब चुनावको काम सकियो, लुगा सिलाउन मलाई भ्याईनभ्याई हुन्छ। म कसैको ज्यालामा त कसैको बालीमा लुगा सिलाउँछु।
आजसम्म मैले कोही उच्चजाति भनिने व्यक्तिहरूलाई जानेर छोएको थिइनँ। गाउँघरमा बाटो हिँडदा पनि कसैलाई छोइएला कि भनेर सतर्क भएरै हिँडेँ। पानी पँधेरोमा जहिल्यै होसियार भएँ। तर, यो चुनावले त अचम्मै गर्यो। चुनावी अभियान क्रममा यताउता जाँदा धेरै मानिसलाई छोइयो। यो जात र उ जातका भन्ने कुरो भएन।
म ६० लाई तीन घटी वर्षकी भएँ। मैले छोएका खाना, पानी र चिया आजसम्म ठूला जाति भनिएका कसैले खाएको मलाई थाहा छैन। चुनाव प्रचार गर्न धेरै घरदैलो कार्यक्रममा गएँ। आँगनसम्म त लगभग सबैको टेकेँ, तर घरभित्र कसैको पसेको छैन।अस्ति विजय जुलुसमा हसन्टार (स्थानीय गाउँ) जाँदा एक जना भाइले मलाई ‘घरभित्रै पस्नुस् दिदी’ भनेर आग्रह गरे। मैले ‘नाइँ’ भनेँ। म उनको घरभित्र पस्न सकिनँ। मलाई लाग्यो, म किन कसैको घरभित्र पस्नु?
यही जेठ २० गते शनिबार गाउँपालिका सदस्यलाई सम्मान कार्यक्रम थियो। म पनि सम्मानित भएकी थिएँ। सम्मान कार्यक्रमपछि भोजको पनि कार्यक्रम थियो। मैले जीवनमा पहिलोपटक भोजभतेरमा आफैंले भाँडाबाट खाना झिकेर सगोलमा खाएँ। म हातमा प्लेट लिएर उभिरहेको थिएँ। मनमा साह्रै संकोच पो थियो। कसैले भाँडाबाट झिकेर मेरो थालमा हालिदियोस् भन्ने लाग्यो, तर सबैले आफैंले झिकेर खान मलाई अनुरोध गरे। जन्मेदेखि अझ भनौं, मैले थाहा पाएदेखि मैले कहिल्यै कुनै भोजभतेरमा आफैंले झिकेर खाएको थिइनँ।आजै बिहान मात्र हो, जीवनमा पहिलोपटक भोजमा आफैंले झिकेर खाएको। अरूबेला त गाउँमा भोजभतेर हुँदा हामी दलितलाई गाउँलेले भान्छाबाट झिकेर खान दिँदैनन्। भोजभतेर रहेको स्थानको कुनै कुनामा या बारीको डिलमा बस्छौं हामी, त्यहीँ हामीलाई ल्याइदिन्छन्। आज त्यो बिल्कुलै अद्भुत दिन हो मेरा लागि। मैले र मेरो नातिले सँगै दुनियाँसँगै छोइएर अनि आफैंले खाना झिकेर खाएको।
मेरो श्रीमान बितेको ठ्याक्कै १३ वर्ष भयो। उहाँ बितेको धेरै वर्षपछि भाइले तिहारको टीकामा फरिया उपहार दियो। भाइले दिएको त्यो फरियाको किनारमा रातो रङ रहेछ। म फरियाको किनारलाई बटारेर लुकाउँथे, किनारको रातो नदेखियोस् भनेर। त्यो फरिया नफाटेसम्म मैले किनारालाई बटारेरै लगाएँ। पछि फरिया पनि फाट्यो, त्यसको रातो रङ पनि।यसपालि अचम्मै भयो। श्रीमानको मृत्यु भएको १३ वर्षपछि अस्तिको विजय जुलुसमा सबैले मलाई रातो अबिर लगाइदिए। मैले त नलगाउनुहोस् पनि भनेँ, तर यति भिडभाड थियो, मानिसले मलाई नचिन्ने गरी रातै बनाइदिए। कतिलाई त म विधवा हो भन्ने पनि थाहा थियो, तर उनीहरूले त्यसको मतलब गरेनन्।
चुनाव जितेपछि अब महिनामा दुई–तीनपटक नगरपालिकाको कार्यालय जानुपर्छ अरे। कार्यालय जाँदा के लाउने? पहिलेको चोलो अलि पुरानो थियो। मैले नयाँ चोलो किनेको छु, त्यसको रङ रातो छ। छोरालाई पनि सोधेँ, चोलोको विषयमा। छोराले भनेको छ, ‘के हुन्छ त! लाउ आमा रातो चोलो लाउ।’
म अब यत्ति चाहन्छु, मैले भोगेजस्तो छुवाछुतको विभेद मेरो सन्तानले भोग्न नपरोस्। ढिलै भए पनि राज्यले दलितलाई जनताका रूपमा स्वीकार गरेको छ। देशभरका दस हजार वडामा मजस्ता पुतली परियारहरू छन्। मलाई विश्वास छ, अबउप्रान्त उनीहरूले मैलेजस्तै राज्य भएको र आफू राज्यका अरू नागरिक सरह भएको अनुभूति गर्न पाउने छन्।
म जस्ता सबै दलितलाई शुभकामना।
No comments:
Post a Comment