दलित भएर मन्दिर प्रवेश गरेको भन्दै हात भाँचिदिए

नवीन चौधरी-विभेद बिरुद्ध अभियान - असार १४ , सप्तरी । सप्तरीको साविकको काचन गाविस–७ सोनापुरका लिलाधर दास (४५ ) लाई दलित भएर मन्दिर प्रवेश गरेको आरोपमा स्थानीय गैरदलितहरुले मरणासन्न हुने गरी कुटपिट गरेका छन् । कुटपिटका कारण दासको बाँया हात भाँचिनुका साथै शरीरभरी निलडाम छ । मंगलबार विहान स्थानीय ‘डिहवार थान’को पूजा गर्दै गरेको अवस्थामा जितेन्द्र शाह, कासिन्दर यादव, राजकुमार यादव र रामचन्द्र यादवसहितको समूहले दासलाई निर्घात कुटपिट गरेका थिए । 
‘म पूजा गर्दै थिएँ । जितेन्द्र आएर हाम्रो देवता किन छोएको भन्दै हातपात गर्न थाले । त्यसपछि कासिन्दर, राजकुमार लगायत बीस–पच्चीस जनाको समुहले घेरेर कुटपिट गरे’ पीडित दासले भने, ‘डिहवार थानमा यसअघि दलित भएकै कारण हामीहरुलाई पूजा गर्न दिँदैनथे । मैले अहिले पनि के छुवाछूत होला भनेर आँट गरेर पूजा गर्न गएको थिएँ । कुटपिट हुँदा गुहार पनि पाइन ।’
कुटपिटपछि परिवारको सहयोगमा दासलाई राति १० बजे गजेन्द्र नारायणसिंह, सगरमाथा अञ्चल अस्पताल भर्ना गरिएको थियो । तर, अस्पतालले हातको अप्रेसन गर्नुपर्ने र टाउकोमा समेत चोट लागेको भन्दै थप उपचारका लागि वि.पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रिफर गरेको छ । 
पीडित दास परिवारले मंगलबार बिहानै इलाका प्रहरी कार्यालय बोदेबरसाइनमा उजुरी दर्ता गराएको छ । तर, प्रहरीले दोषिलाई पक्राउका लागि कारवाहीका लागि कुनै प्रक्रिया अघि नबढाएपछि जागरण मिडिया सेन्टर र रेडियो छिन्नमस्ताको सहयोगमा जातीय भेदभाव तथा छुवाछूत (कसुर र सजाय) ऐन, २०६८ अनुसार दोषिलाई कारवाही तथा पीडितलाई क्षतिपूर्तिका लागि जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गरिएको छ । जातीय भेदभाव तथा छुवाछूत (कसुर र सजाय) ऐन, २०६८ अनुसार जातीय विभेद गरे वा गराएमा दोषिलाई तीन हजारदेखि पच्चीस हजार रुपैयाँसम्म जरिवाना वा तीन महिनादेखि तीन वर्षसम्म जेल सजाय वा दुवै सजाय हुने व्यवस्था गरिएको छ । सार्वजनिक पदमा बसेका अधिकारीहरुबाट जातीय विभेदलाई प्रोत्साहन वा सहयोग गरेमा थप दोब्बर सजाय हुने व्यवस्था गरिएको छ । तर, दलित समुदायमाथि हुने जातीय विभेदका घटनाहरु कमैमात्र प्रहरीसम्म पुग्ने गरेको दलित ह्युमन राइट्स पोर्टलमा खबर छ।तस्बिर शिवहरि ज्ञवाली 

No comments:

Post a Comment