दलित भित्रका बाहुनहरु : जातीय विभेद एक कुप्रथा ! - सचिन्द्र श्रेष्ठ

विभेद बिरुद्ध अभियान - जेठ २८ : गाँउ , शहर जहाँ तहीँ जातीय विभेद विरुद्ध विभिन्न खालका उत्सव ,नारा र जुलुशहरुमा जनताहरु लागिपरेका छन् आफ्ना हक , अधिकार सुनिश्चीतको माग गर्दै आवाज बुलन्द गरेर बाटो ,चौबाटोमा हातमा हात र काँधमा काँध लिएर तछाड मछाड गर्दै दौडिरहेका छन् । नेपालको सर्वाङ्गीण विकासमा दलितका अलावा उपेक्षित वर्ग , समुदाय , जनजाति , सिमान्तकृत सम्पुर्णको विकास हुनु जरुरी छ । दलित आफुमा दलित होइन उनीहरुको आनि बानी , व्यवहार , संस्कार र चालचलनले उसलाई दलित भनेर हेला र हिंसा गर्ने परिपाटि हाम्रो समाजमा बिद्यमान छ । साथै दलित हुनु पुर्व जन्मको पाप पनि त होइन उसको व्यवहारले दलितको संज्ञा दिने गर्दछ ।
    वि .सं .२००७ सालको जनक्रान्ति सँगै सामाजिक स्तरमा जातिय छुवाछुत विरुद्ध आन्दोलन भएको पाइन्छ । त्यो क्रान्तिको अभियान सँगै कानुनी रुपमा वि .सं .२०२० सालमा मुलुकी ऐन लागू भए पछि मात्र कानुनत:  सामाजिक भेदभाव र छुवाछुत प्रथाको अन्त्य भएको हो । तर पनि हालका समय सम्म आइपुग्दा ती जातिय भेदभावको अन्त्य हुन सकेको छैन् । दलितमा पनि सानो र ठुलो जात भनि आफैमा उपेक्षित हुनु पर्ने अवस्था आएको छ । उच्च धनि मानि जातिले गरिब र सानो जात भनेर छिँ छिँ र दुर दुर गर्ने समुह एवं व्यक्ति पनि स्वयं दलित नै रहेका छन् । दलित भित्र पनि असंख्य दलितका उच्च धनिमानि बाहुनहरु रहेकाले दलितका मुद्दा ज्यूँका त्यूँनै छन् । साथै पेशागत दृष्टिकोणले पनि सानो खालका रोजगारी , दैनिक मजदुरी गर्ने , सहज अरुले विश्वास गर्न नसक्ने भएका कारण पनि दलित आफैमा उपेक्षित हुनु पर्ने अवस्था छ । फोहोरी प्रवृत्ति देखाउने भएकाले पनि अरु जातिको तुलनामा गिरनु पर्ने अवस्था छ । तर अहिले दलितमा रोजगारी , सफासुग्घर , आनीबानीमा सुधार ,विभिन्न संघ संस्थामा संलग्न ,राजनितिक छवि उच्च भएता पनि दलित दलितको भेदभावले भने दलितलाई माथि उठाउन सकिरहेको छैन।
दलितलाई अन्य गैह्र जातिले भेदभाव गर्ने भन्दा पनि आफ्नै दलितले नै हेला र दूर दूर गर्ने बढि देखिन्छ जसको दूरी मात्र उच्च कोटीको धनी दलित र सानो निम्न स्तरको गरिब दलित हो । तर पनि दलित तथा उपेक्षित जातिहरुले अपेक्षा गरे अनुरुप प्रतिफल एवं सुधारको अनुभुति गर्न सकिरहेका छैनन् । यस्तो खालको स्थिति रहनु मुख्य कारण दलित भित्र पनि छुवाछुत हुनु हो , दलित एवं उपेक्षित जातिहरुमा दिने कार्यक्रमहरुमा दिगोपन नहुनु , राजनितिक खिचातानिमा रुमलिनु , गैह्रदलित भनेर सहि पहिचान लुकाउनु वा नाम थर ढाँटनु , दलितलाई आएका कार्यक्रमको सहि अनुगमन र सुपरिवेक्षण नहुनु हो । यस्ता खालका कमी कमजोरीलाई हटाई एक आपसमा भाईचारा र विकास एवं जातिय संरक्षणमा लाग्नु पर्दछ । परम्परा , धर्म, संस्कृति , प्रथा , जातिगत नाममा दलितलाई समावेश नगराएको धेरै नै देख्न र भोग्न पाईन्छ साथै बोक्सीका आरोपमा घरदेखि बहिष्कार हुनु , सानो जात पानी नछुने भनी मठ मन्दिर प्रवेशमा रोक लगाउने खालका प्रवित्ति पनि अनगिन्तीनै छन् । जसका कारण अनगिन्ती दलित युवाहरु विदेश पलायन हुनु पनि एक हो ।
      प्रजातन्त्रको स्थापना पश्चात विभिन्न राजनितिक आन्दोलनमा दलितहरु को बलिदान अतुलनिय योगदान रहेको छ । त्यसमा पनि टाठाबाठा दलितहरुनै अगाडी बढेको देखिन्छ माथी उल्लेखित शिर्षकले बाहुनहरु वा अन्यजातीलाई नराम्रो वा भ्रमित पार्न खोजेको होइन मात्र परापुर्वकाल देखि बाहुन भन्ने बित्तिकै उपल्लो जात भनेर चिनिने र सम्मान गर्ने भएका कारण उल्लेख गर्न खाजिएको हो तर अहिले दलितमा समेत ठुलो जात र सानो जात वा पानी चल्ने वा नचल्ने भनि आएको जातीय भेदभावलाई उजागर गर्न जोडिएको हो ।
               यसै सन्दर्भमा रमा वि.क. ( नाम परिवर्तन ) विगत १ बर्ष देखि बजारमा बसेर अध्ययन गर्दै आइरहेकी छिन् । उनको घरधनीले दलित भन्ने थाहा पाए पछि घर बाट नै निकालिदिए । उनले भनिन् –‘पहिले मैले नाम ढाँटेर बहालमा बसें एक दिन मेरा बा मलाई भेट्न आउनु भयो र घरभाडा दिदाँ म विश्वकर्मा हो भनेर भन्नु भयो घरधनीलाई , पछि बा गएको २ दिनमा घर खाली गर भनेर धम्काए ’। यस्तै गरी सुजिता नेपाली (नाम परिर्वतन ) उनी ३ बर्ष देखि एक एनजिओमा काम गर्छिन् र काम गर्ने अफिसमानै बस्ने गर्छिन् । उनी बस्ने घरबेटी बाहुन हुन् , उनको घरबेटीसँग राम्रो सम्बन्ध छ । एक अर्कासँग राम्रो हेलमेल भएका कारण सँगै बसेर नास्ता समेत खान्छन् । उनी सँगै काम गर्ने संस्थामा अन्य जातीहरु पनि जागीर खान्छन् । उनले भनिन् –‘हामी स्टाफ मिटिङ सकेर खाजा खान थाल्यौ , घरबेटी मन्दिर गएर आउनु भएको रहेछ सबैलाई टिका र प्रसाद दिनु भयो तर मलाई न टिका लगाई दिनु भयो न त प्रसादनै दिनु भयो , मलाई अचम्म लाग्यो पहिलेसँगै बसेर खाजा खान्थ्यौ तर आज किन यस्तो गर्नु भयो दिदीले थाहानै भएन पछि बुझ्दा त थाहा भए छ कि म दलित भनेर अरु साथीले भनिदिएछन् र नदिनु भको रहेछ । ’
श्यामे दमै ( नाम परिवर्तन ) पनि आफ्नै गाँउमा पानीको इनार छोएको निहुँमा कठोर यातना , कुटपिटमा परे । श्यामेले भने –‘ बिहान पानी लिन इनार गएको थिए गाग्री इनारमा डुबाउन नपाउँदै सबै गाँउले एकजुट भएर पिटे, मैले किन पानी भर्न नपाउने भनेर बोल्दा उल्टै जाइलागे तर हाम्रा ठुला बा लाहुरे र समाजसेवी हुन् तर उनलाई रोकावट कतैबाट छैन् ।’ राजन सुनार (नाम परिर्वतन ) २ बर्ष देखि अर्काको घरमा भाँडा माझेर बस्छन् तर उनी कहिल्यै घरधनी सँगको कोठामा सुत्दैनन् । राजन भन्छन् –‘सधै भाँडा माझ्छु तर खाने बेलामा पिँढीमा बसेर खान्छु र सूत्ने बेलामा पनि भ¥याङ मुनि सुत्छु घर भित्र पस्न दिँदैनन् ।’सीता रसाइली (नाम परिवर्तन ) १ बर्ष पहिले माथिल्लो जातसँग विवाह गरेकोले उनलाई घरमानै भित्रिन दिएनन् । उनी भन्छिन् –‘मलाई जात ढाँटेर विवाह गरेको हो यो सानो जातकी रहिछ यसलाई घरमा राख्नु हुन्न गाँउमा बस्यो भने हाम्रा इष्ट मित्र समेत रुष्ट हुन्छन् , त्यो पतिले पनि छाड्यो मलाई अहिले मर्नु न बाँच्नु भएको छ ।’
माथिका आवाजहरुले पिडा बोलेको छ जहाँ धनी र गरिब , सानो जात ठुलो जात , पानी चल्ने र नचल्ने विभिन्न कुराहरुलाई उजागर गरेको छ । राज्यले छुवाछुतलाई कानुनी रुपमा अपराध माने पनि हाम्रो गाँउ घरमा यस्ता घटनाहरु दिनानुदिन बढिरहेका छन् । जातीय भेदभाव तथा छुवाछुत ऐन बने पनि सबै तह र तप्कालाई समेट्न सकिरहेको छैन् । आफ्नै जातिमा समेत छुत अछुतको संज्ञा पाउनुले पनि जातीय मुद्दाहरु ओझेलमा परिरहेका छन् । विभिन्न अधिकारकर्मी , समाजसेवि पनि राजनीतिको खोल अ‍ोढ्नाले निरह , गरिब , असाहय , असक्त जातिप्रतिको भेदभाव भने रोकिन सकिरहेको छैन् झन् झन् भुसको आगो सरी सल्किरहेको छ सबै उत्पीडित जातीहरु ।
अब एकै ढिक्का हुनु पर्ने भएको छ । दलित , जनजाति , सिमान्तकृत पनि राष्ट्रका सम्पत्ति हुन् उनीहरुलाई सामाजिक चेतनामा अभिवृद्धि , सीप रोजगार अवसरमा समानता , सामाजिक सद्भाव र समान अवस्था सिर्जना गर्नु जरुरी छ ।

No comments:

Post a Comment