कांग्रेसले किन दलितलाई हेला गर्छ ? - रोहित विश्वकर्मा, केन्द्रिय सदस्य, नेपाल दलित संघ

विभेद बिरुद्ध अभियान - जेष्ठ २० म २०४२ सालदेखी आजसम्म नेपाली कांग्रेसको एक सिपाइँ हुँ । आजसम्म यो पार्टीमा रहेर विचलित हुनु परेन । तर आज म मेरो मनको कुरा गर्न चाहन्छु, किनकी झण्डै ३०–३२ बर्षको मेरो राजनीतिक यात्रामा आज कांग्रेस भएर दुःखी हुनु परेको छ ।
२०४२ सालमा नेपाल विद्यार्थी संघमा आबद्ध भएको म यतिबेला नेपाली कांग्रेसको भोजपुर क्षेत्र नं १ को महाधिवेशन प्रतिनिधी छु । साथै नेपाल दलित संघको केन्द्रिय सदस्य समेत रहेको छु ।
जिल्लाको दलित आन्दोलन अगाडी बढाउन दलित संघम सदस्य हुँदै दुई पटकसम्म सभापति बनेको थिए ।कुरा केहि महिना अघिको हो । नेपाल दलित संघ भोजपुरको जिल्ला अधिवेशनमा म केन्द्रिय प्रतिनिधी भएर अधिवेशन गराउन आफ्नै गृह जिल्लामा प्रमुख अतिथी थिए । अधिवेशन गराउन केन्द्रले मलाई दुई जिल्लाको जिम्मेवारी दिएको थियो । जसमा भोजपुर पनि परेको थियो ।अधिवेशन सकिएर जब जनसेवा निमाविको हलमा बधाई मन्तव्य दिइरहेको थिए, त्यहाँ म माथि एक्कासी सुनियोजित आक्रमण भयो । अधिवेशनमा केही सदस्यता विवाद थियो ।
कांग्रेसमा आवद्ध नभएका अन्य पार्टीमा आवद्ध भएका केही साथीहरुलाई केन्द्रले जवरजस्त सदस्यता थपेर पठायो । जसमा केन्द्रिय अध्यक्ष मिन विश्वकर्माको भूमिका छ ।मैले विधान अनुसार अघि बढौं भने, अन्य पार्टीमा भएका साथीहरुलाई ल्याउँदा केही दिन यहाँ बस्छन्, फेरी उतै जान्छन् भन्ने मेरो तर्क थियो । किनभने विगतमा पनि यहाँ त्यस्तै भएको छ ।यद्यपी शान्तिपूर्ण वातावरणमा अधिवशेन सकिन लागेपछि म माथि आक्रमण भयो । म बधाई मन्तव्य दिइरहेको थिए । बत्ति एक्कासी निभ्यो । त्यही मौकामा म माथि सांघातिक हमला भयो ।
मैले केही देखिन । एक्कासी मेरो आँखामा प्रहार भयो । मलाई लाग्छ आँखामा छुरा प्रहार भएको थियो । मेरो आँखा सबै बाहिर निस्किएको थियो ।तत्काल जिल्लाकै सिद्धकाली अस्पताल मलाई पुर्याइयाे । त्यहाँ मेरो उपचार सम्भव थिएन । राति नै मलाई धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगियो ।२१ गते बिहान करिब ६ बजे धरान पुगियो । यहाँ पनी मेरो उपचार सम्भव भएन । तत्कालै काठमाडौं मलाई ल्याइयो ।
काठमाडौं आउने वित्तिकै तिलगंगा आँखा अस्पताल भर्ना गराइयो । २२ गते मेरो दाहिने आँखाको अप्रेशन भयो । तत्काललाई मेरो आँखाको ज्योती फर्किएको छ । मेरो उज्यालो हेर्न नचाहनेहरुलाई म फेरी उज्यालो लिएर जिल्ला फर्कदैछु ।मेरो आँखाको ज्योती फर्कन्छ भन्ने मलाई लागेकै थिएन । समयमै सही ठाउँमा आएकोले मेरो आँखाको ज्योती गुम्नबाट बचेको छ ।
मलाई मेरो आँखा भन्दा पनि म आबद्ध पार्टी र म कार्यरत भातृ संगठनप्रति सार्है चित्त दुखेको छ । मेरो अवस्था यस्तो हुँदा समेत पार्टीले कुनै चासो लिएन, चिन्ता व्यक्त गरेन ।
अरु त अरु म आफै केन्द्रिय सदस्य भएको संगठनले म प्रति कुनै चासो चिन्ता नलिदा सार्है मन दुखेको छ । दलितहरुलाई हेर्ने पार्टीको दृष्टिकोण पनि थाहा भयो । हामी दलितहरुलाई भिडाएर जुधाएर फाइदा लिने काम भएको छ ।मलाई ज्यान मार्ने उदेश्य सहित भएको आक्रमणमा पार्टीले सहयोग गर्नुको सट्टा उल्टै असहयोग गरेको महशुस गरेको छु ।
किनभने मलाई यत्रो आक्रमण हुँदा मेरो परिवारले प्रहरी प्रशासनमा उजूरी दिँदा समेत त्यहाँ पार्टीले रोक्ने, छेक्ने काम गरेको छ ।
मेरो परिवारले ज्यान मार्ने तथा अंगभंग उद्योग अन्र्तगत प्रहरीमा दिपेश विश्वकर्मा र मिलन विश्वकर्मालाई किटानी जाहेरी दियो । तर प्रहरीले मिलनलाई उन्मुक्ति दिएको छ ।
यसमा पार्टीले कुनै चासो दिएको छैन् । बरु उनिहरुलाई उन्मुक्ति दिनको लागि प्रहरीलाई दबाब दिइरहेको छ । यसले नै प्रष्ट हुन्छ पार्टीले हामीलाई कुन रुपले हेर्छ भनेर । के हामी पार्टीको सधैं ढाल बनिरहनुपर्ने हो ? हामी माथि पार्टीको हेला कहिलेसम्म ?
हामीलाई जुँधाएर रजाँइ गर्न पल्केका केही सिमित नेताहरुका कारण आज यो घटना हुन पुगेको छ । म यो हैसियतमा हुँदा त यस्तो अवस्था छ भने अरुको अवस्था कस्तो होला ? आज म सोच्न बाध्य भए ।
यो घटनामा मैले गरेको प्रगती पनि बाधक बनेको छ । किनभने हाम्रो समाज त कस्तो छ भने कसैलाई केही गर्ने पर्देन मात्र आफूले दुःख गरेर प्रगती गरिदिए पुग्छ ।
हाम्रै समुदायका र हाम्रै पार्टीका कतिपय साथीहरु यसअघि पनि म माथि खनिएका थिए । यो घटनामा उनिहरुको पनि साथ छ ।
तर उनिहरुलाई के हेक्का छैन् भने यस्ता दिनहरु उनिहरुलाई पनि आउँछ र पार्टी मुखदर्शक बन्छ भनेर ।
यो घटनामा केन्द्रिय अध्यक्षको भूमिका छ । क्रियाशिल सदस्यता विवाद माथिबाट लाद्ने काम मिन विश्वकर्माबाटै भएको हो ।
अहिले यो घटनामा उहाँ बेखबर हुनुहुन्छ । उहाँ कस्तो राजनीति गर्देहुनुहुन्छ ? एउटा आफ्नै सहकर्मी यो हालतमा पुग्दा त उहाँलाई मतलब छैन । आफ्नै समुदाय भजाएर, भर्याङ बनाएर राजनीति गर्ने यो कस्तो पारा हो ? कहिले सम्म यसरी उहाँ अघि बढ्ने हो ? म प्रश्न सोध्न चाहन्छु ।
अनि माउ पार्टी कांग्रेस, एउटा ३०–३२ बर्ष सम्म अविचलित रहेको एउटा कांग्रेसको सिपाँही कुटिदा, मारिदा समेत चुप बस्छ । यो घटनालाई मैले कसरी लिने । आम कांग्रेसजनले कसरी बुझ्ने ?कांग्रेसमा कार्यकर्ता कसरी सुरक्षित हुने ? मेरा यी प्रश्नहरुको उत्तर कांग्रेससँग छ ?
(भोजपुर क्षेत्र नं १ का कांग्रेस महाधिवेशन प्रतिनिधी तथा नेपाल दलित संघका केन्द्रिय सदस्य विश्वकर्मासँग गरिएको कुराकानीमा आधारित- देशको न्युज बाट )

No comments:

Post a Comment