दलितसँग विवाह गरेको भन्दै अंश नदिई घर निकाला

विभेद बिरुद्ध अभियान, सुर्खेत , असार ६ - लेकवेशी नपा-८ का ३५ वर्षीय भिमलाल सापकोटाले अन्तरजातीय विवाह गरेको आरोपमा अंश नपाएको गुनासो गरेका छन् ।स्थानीय सुनिता कसेरासँग ०६० सालमा विवाह गरेपछि सोही वर्ष घरनिकाला गरिएका सापकोटाले अंश नपाएको गुनासो गरेका हुन् ।तीनवर्षअघि आमाको मृत्यु हुँदा घरपरिवारले काजक्रिया गर्नसमेत नदिएको भिमलालले गुनासो गरे । विवाह गरेकै वर्षघरपरिवारले घर निकाला गरेपछि वीरेन्द्रनगर बस्दै आएका भिमबहादुरले आमाको काजक्रिया वीरेन्द्रनगरस्थित डेरामै बसेर गरेको सुनाए ।
अंशवण्डा गर्न जेठा दाजु खुमलाल सापकोटाले ०७४ जेठ २८ गते घरमा बोलाई कीर्ते अंशवण्डाको कागजमा सहीछाप गर्न लगाई बावुको नाममा रहेको सबै जग्गा छिमेकी कुलबहादुर नेपालीलाई बेचेको कुलबहादुरले भनेपछि मात्र आफू अंशबाट वञ्चित हुनुपरेको थाहा पाएको पीडितले बताए ।
‘दलितसँग विवाह गरेको भन्दै घरमा बस्न दिएनन् । आमाको मृत्यु हुँदा काजक्रियाबाट वञ्चित गरे र अहिले अंशबाट समेत वञ्चित गरे ।’-पीडित सापकोटाले भने-‘अब म न्याय माग्न कहाँ जाउँ ?’ सापकोटा दम्पती तीन छोरीसहित वीरेन्द्रनगरमा डकर्मी व्यवसाय गरी जीवन गुजारा गरिरहेका छन् । अंशबाट वञ्चित गरिएको बारेमा जेठा दाजु खुमलालका विरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिन जाँदा प्रहरीले अदालतमा जाऊ भनी फर्काइदिएको र आर्थिक अवस्था कमजोर भएका कारण अदालत जान नसकेको सापकोटाले दुखेसो पोखे ।
सुर्खेतस्थित इन्सेक जिल्ला प्रतिनिधि दुर्गा थापाले पीडितलाई जिल्लास्थित कानुनी सहायता केन्द्रमा सिफारिस गरेका छन् । पीडितको आर्थिक अवस्था कमजोर भएकोले निशुल्क कानुनी सहयोगका लागि कानुनी सहायता केन्द्रमा पठाइएको इन्सेक सुर्खेतले जनाएको छ ।

No comments:

Post a Comment