विभेद बिरुद्ध अभियान - जेष्ठ २१ - बेंसीसहर–११ चितीकी मुना परियार १६ वर्षकी छँदा गाउँकै रविन विश्वकर्मासँग बिहे भयो । तर, अन्तरजातीय विवाह भएकै कारण परिवारले घरमा पस्न दिएन ।त्यसपछि उनीहरू कटेरो हालेर बसे । विवाहको १७ महिनापछि तीन महिनाकी छोरी छोडेर रविन कतार गए । ५ वर्षपछि फर्किए । तर, फर्किएकै चार वर्ष बित्दा पनि मुनाले पति भेट्न पाएकी छैनन् । छोरी रोजी बाबु खोजिरहेकी छन् । ‘मेरो नानीलाई बाबा चिनाउन पाऊँ । बाबा भन्ने अधिकार दिलाउन पाऊँ,’ राष्ट्रिय महिला आयोगद्वारा बेंसीसहरमा आयोजित सार्वजनिक सुनुवाइमा मुनाले भनिन् ।
प्रहरी कार्यालयमा ‘स्वीकार्छु’ भनी कागज गरे पनि ससुरा चीनबहादुर विकले घर आउन नदिएको उनले बताइन् । ‘परियारको छोरी विवाह गरेको भन्दै घरभित्र पस्न दिनुभएन । मलाई छाड्नुपर्छ भन्दै आउनुभएका ससुराले श्रीमान्लाई विदेश पठाउनुभयो,’ उनले भनिन्, ‘विदेशबाट आउँदा ससुरा एयरपोर्टमै जानुभयो । त्यसपछि लुकाउनुभयो ।’ उनी ४ वर्षयता निरन्तर प्रशासन र प्रहरी धाइरहेकी छन् । ‘मसँग विवाह दर्ता र छोरीको जन्मदर्ताको प्रमाणपत्र छ,’ उनले रुँदै भनिन्, ‘प्रत्येक मञ्चका भाषणमा दलितलाई हेप्नुहुन्न, दलित एक हुनुपर्छ भन्नुहुन्छ । तर, आफ्नै बुहारी र नातिनीलाई स्वीकार्नु हुन्न ।’
मर्स्याङ्दी गाउँपालिकाको घनपोखरा घर भएकी सुधा गुरुङको ८ वर्षअघि दोर्दी गाउँपालिकाको पाचोकमा विवाह भयो । उनीसँग अहिले ६ र ३ वर्षका दुई छोरी छन् । पति भने छैनन् । ‘घरमा पतिले राम्रो गरेनन् । बच्चा भएपछि घरमै नआउने, बाहिरै डुलेर बिग्रन थाले । घरपरिवारले पनि हेला गर्न थाल्यो र माइत आएर बसेँ,’ उनले भनिन्, ‘दिदीले जागिर लगाइदिन्छु भनेपछि बेंसीसहर आएँ । जागिर खान दिएनन् । उल्टै हाकिमसँग होटल चहार्दै हिँड्यो भन्दै हुने नहुने गाली गर्न थाले ।’ दुई छोरीलाई आफैंले हुर्काउँदै आए पनि पतिले नहेरेको उनले बताइन् । ‘मैले प्रहरीमा निवेदन दिएँ । आइन्दा हेला नगर्ने भनेपछि म घर गएँ । फेरि पति र सासूले नानाथरी गाली गर्ने, हेला गर्न थाले । दिदीनेरै झरें,’ उनले भनिन् ।
पतिले अनेकन दु:ख दिएपछि बेंसीसहर उदिपुरकी जमुना परियारले सम्बन्धविच्छेद नै गरिन् । १४ वर्षअघि विवाह गरेकी उनले ३ वर्षअघि पतिसँग सम्बन्धविच्छेद गरेकी हुन् । ‘कुटपिट गर्ने, बस्नै नसक्ने भएपछि मैले घर छाडें । घर छोडेको ५ वर्ष भयो । सम्बन्धविच्छेद भएको ३ वर्ष भयो,’ उनले भनिन्, ‘पति र घरपरिवारले हेला गरेपछि आत्महत्या गर्ने निर्णयमा पुगें । ३ केटाकेटीको मायाले फर्कायो । बाटोमै लडेर २ घण्टापछि बिउँझिएँछु ।’ अहिले केटाकेटी हुर्काउन कठिन भएको उनले सुनाइन् । महिला तथा बालबालिका कार्यालयकी महिला विकास अधिकृत विष्णुकुमारी लामिछानेका अनुसार धेरै महिलाले परिवारको मायाले अझै मुद्दा हाल्न सक्दैनन् । ‘सकेसम्म कोही नराम्रो हुन चाहँदैन । तर, महिलाले पीडा भने सधैं खेपिरहनुपरेको छ,’ उनले भनिन् । डीएसपी समीरचन्द्र खरेलले पारिवारिक सम्बन्ध बिग्रन नदिन सकेसम्म मेलमिलाप गरी पठाइदिने गरे पनि समस्याको समाधान हुन नसकेको बताएको
कान्तिपुरमा खबर छ । राष्ट्रिय महिला आयोगकी कार्यवाहक अध्यक्ष भगवती घिमिरेले आफ्नो अधिकारका लागि महिला आफैं लड्नुपर्ने बताइन् ।
No comments:
Post a Comment