विभेद बिरुद्ध अभियान - जेष्ठ २८- रेम विश्वकर्मा, सानैदेखि विद्रोही स्वभावका थिए । त्यसैले त घरभित्रको साँघुरो मनस्थिति तोडेर विश्वकर्मा स्कुल दौडिए, जतिवेला उनका दाइहरू भने कालापार हानिएका थिए । दलित आन्दोलनका अभियन्ता विश्वकर्माले जागरण मिडियामार्फत दलितका मुद्दा उठाउँदै आएका छन् । नयाँ पत्रिकाका सागर पण्डितसँग उनले आफ्नो संघर्षको कथा सुनाएका छन्ः
बाल्यकालमै भोगेँ दलित हुनुको पीडा
पाल्पाको तत्कालीन भुवनपोखरी–४ अर्दाइमा बाल्यदिन बिते । विपन्न दलित परिवारमा जन्मिनुको पीडा त्यो वेला अहिलेभन्दा बढी थियो । समाजमा छुवाछुत र भेदभावको अवस्था ‘क्लाइमेक्स’मा थियो ।
पढ्नुपर्छ भन्ने धारणा घरपरिवारमा थिएन । आरन थापेर गाग्री, ताउला बनाउने पेसा परिवारको थियो । बुबाले बालीघरेको काम पनि गर्नुहुन्थ्यो । यही काम नै बुबाका लागि ठूलो संसार थियो । अनि, छोराछोरी पढाउनुपर्छ भन्ने सोच कहाँबाट आओस् ? तर, उपल्लो जातका छिमेकी केटाकेटी स्कुल गएको देख्दा ममा भने पढ्ने रहर जाग्थ्यो ।
तर, घरमा मबारे बेग्लै योजना बन्न थाल्यो । त्यतिखेर पाखुरीमा बल भरिन थालेपछि कमाउन कालापार (जाजरकोट हुँदै भारत) जाने चलन थियो । गाउँका हामीभन्दा ठूला दाइहरू स्कुल पढ्न छाडेर कालापार जान्थे र त्यहाँ कमाएर घरमा पैसा पठाउँथे । मेरो थाप्लोमा पनि यो जिम्मेवारी आयो । बुबाले कालापार जान दबाब दिनुभयो । तर, म मानिनँ । लुकीछिपी गाउँभन्दा केही टाढाको स्कुल जान थालेँ । तर, विद्यालयमा दलित हुनुको भेदभाव सहनुपर्यो ।
उपल्लो जातका भन्नेहरूसँगै बस्न पाइँदैनथ्यो । कक्षामा कुनै छुट्टै कुनामा बसेर पढ्नुपथ्र्यो । यस्तो व्यवहार सहनुको विकल्प थिएन । उठेको रिसलाई भित्रभित्रै दबाएर राख्थेँ । त्यो वेला म बबुरोले गर्न सक्ने केही थिएन ।
जबर्जस्ती पढाइ अगाडि बढाएँ
जातीय विभेद भोगिरहेको मलाई पढेर ठूलो मान्छे बन्नुपर्छ भन्ने सोच त्यतिवेलै पैदा भएको थियो । सामाजिक परिवर्तनका लागि लड्छु भन्ने लक्ष्य स्कुल पढ्दा नै लिएँ । त्यसैले सबै समस्या छिचोल्दै पढाइलाई निरन्तरता दिएँ । घरको सबै काम सकेर स्कुल जान्थेँ । यसो गर्दा परिवारबाट पनि समस्या भएन । त्यो
वेलाको लवाइ र खुवाइको हालतको त कुरै नगरौँ । समस्याले जेलिएको घरभित्रको छोरोको ‘लाइफस्टाइल’ कस्तो होस् ?
एसएलसी दिएपछि फेरि कालापार जान दबाब
दुःखजेलो गरेर एसएलसीसम्म दिएँ । उमेर बढ्दै र कक्षा उक्लिँदै जाँदा सोचाइ पनि केही परिपक्व भएको थियो । थप पढ्ने रहर बढ्दै थियो । तर, एसएलसी दिएपछि रिजल्ट नहुँदासम्मको समय कालापार जान घरबाट दबाब आयो । योपटक उम्किने ठाउँ थिएन, किनभने परीक्षा सकेर खाली बसिरहेको थिएँ । म लखनउ गएँ । लखनउमा तीन–चार महिना होटेलमा भाँडा माझ्ने काम गरेँ । सानैदेखि दुःखको सागरमा डुबुल्की मार्दै आइरहको मैले लखनउनमा झन् दुःखको काम गर्नुप¥यो । त्यो वेला जन्डिसले नराम्रोसँग थलिएँ । बल्लतल्ल घर फर्किएँ ।
एसएलसी पासपछि मास्टर बन्न प्रस्ताव आयो
गरीबी र अशिक्षाले मान्छेलाई कति कमजोर बनाउँदो रहेछ भन्ने कुरा एसएलसी पास गरेपछि थाहा पाएँ । दलितका नाममा हेपिनेहरू गरिबी र अशिक्षाकै कारण हो । कमजोरलाई जो कसैले हेप्दो रहेछ । एसएलसी पास भएपछि गाउँमा मप्रति हेर्ने दृष्टिकोण केही बदलिएको पाएँ । मलाई गाउँलेले गाउँकै स्कुलमा शिक्षक बन्न प्रस्ताव गरे । तर, म गाउँमा अल्झिन चाहिनँ । आमदलितको उत्थानमा केही गर्नुपर्छ भन्ने सोच त्यतिखेरसम्म पाको भइसकेको थियो ।
०५३ मा बटौली झरेर रिक्सा चलाउन थालेँ
गाउँमा पाएको मास्टरी जागिर छाडेर भविष्य खोज्दै ०५३ सालमा बटौली झरेँ । बुबाले नै बटौलीसम्म पुर्याइदिनुभएको थियो । मेरा लागि बिल्कुल नौलो थियो, बटौली । सुरुका दिनमा निकै संघर्ष गर्नुपर्यौँ । क्याम्पस पढ्ने रहरले तरंगित मसँग पैसो थिएन । कसरी पढ्नु ? पहिले त काम नै चाहियो भन्दै खोज्नतिर लागेँ ।
सुरुवाती समयमा रिक्सा चलाउन थालेँ । रिक्सामा राखेर सामान ओसारपोसार गर्ने काम गर्थें । साहुको त्यो काममा बिहान ६ बजेदेखि बेलुकी ७ बजेसम्म खटिनुपथ्र्यो । केही समय रबर उद्योगमा पनि काम गरेँ ।
विनोद पहाडीसँग जब भयो भेट
म रिक्सा चलाउने पेसामै थिएँ । पढाइ रोकिएको थियो । यसै क्रममा विनोद पहाडी सरसँग भेट भयो । उहाँ बुटवलमा पत्रकारिता गर्नुहुन्थ्यो । मलाई पनि पत्रकारितातर्फ आकर्षित गर्नुभयो, उहाँकै पछि लागेँ । अब सानादेखि ठूला मान्छेसँग संगत हुन थाल्यो । दलित आन्दोलनमा पनि होमिन थालियो । गाउँमा भोगेको पीडाले आन्दोलनमा लाग्न प्रेरित गथ्र्यो ।
क्याम्पस पढ्ने मौका पनि मिल्यो
क्याम्पस पढ्ने चाहना मरेको थिएन । पत्रकारितामा सक्रिय हुँदै गर्दा आर्थिक रूपमा केही सबल भएँ । लुम्बिनी वाणिज्य क्याम्पसमा भर्ना भएँ । अन्यायविरुद्धको आन्दोलनमा सहभागी हुने त छँदै थियो । त्यतिखेर माओवादीले दलित, शोषितका मुद्दा लिएर क्रान्ति गरिरहेको थियो । म त्यतैतिर आकर्षित भइरहेको थिएँ ।
क्याम्पसबाटै सुरु भयो आन्दोलनको यात्रा
लुम्बिनी वाणिज्य क्याम्पसमा अनेरास्ववियु (क्रान्तिकारी)बाट स्ववियू सभापतिमा समेत उठेको थिएँ । बुटवलमा रहँदा राजनीतिक चेतनास्तर उकासिन थाल्यो । पहिलोपटक हामी दलित विद्यार्थीहरू मिलेर दलित विद्यार्थी संघ स्थापना गर्यौँ । बुटवलमा छँदै माओवादीनिकट सामना साँस्कृतिक परिवारलगायत समूहसँग आबद्ध भएँ । अन्ततः माओवादीको राजनीतिक क्रान्तिमै होमिएँ । त्यतिखेर माओवादीहरू भूमिगत थिए । राज्यले माओवादी नेतृत्वको टाउकाको मूल्य तोकेको थियो । त्यसैले कतिखेर जीवन जाने हो टुंगो थिएन । तर, संघर्षको मैदानबाट बाहिरिने निरिहता देखाइनँ ।
०५७ मा बुटवलबाट काठमाडौं हान्निएँ
माओवादी भएकै कारण बुटवलमा असुरक्षित महसुस भयो । सानो ठाउँ भएकाले राज्यपक्षको आँखामा पर्ने सम्भावना थियो । त्यसैले ०५७ मा बुटवल छाडेर काठमाडौं हान्निएँ । मेरा अर्का साथी सुवास दर्नाल (जसको निधन भइसक्यो) साथै थिए । त्यो वेला हाम्रो साथमा जम्मा २५ रुपैयाँ थियो । गोंगबु बसपार्क झरेपछि रत्नपार्क त आइपुग्यौँ । तर, कहाँ बस्ने भन्ने टुंगो थिएन । अन्ततः सुन्धराको गेस्ट हाउस रोज्यौँ । दुई दिन त्यहाँ बस्दा गोजीको पैसा सकियो ।
सडकपेटीमा बसेर घडी बेच्न थालेँ
हामी भौँतारिइरहेका थियौँ । सुन्धारामा अकस्मात् गाउँका एकजना दाइ भेट हुनुभयो । राजु ज्ञवाली नामका दाइ पाटी भएको बाटामा घडी डुबाएर बेच्दै हुनुहुन्थ्यो । हामीले समस्या सुनायौँ । उहाँले हाम्रा लागि पनि बाटा किनिदिनुभयो र उहाँकै जस्तो काममा लगाउनुभयो । सुन्धारावरिपरि बसेर घडी बेच्न थालियो । यो काम गर्दा दैनिक ४०–५० रुपैयाँ फाइदा हुन्थ्यो ।
तर, यो पैसाले पनि काठमाडौंमा हाम्रो जीविका चल्न सजिलो थिएन । कयौँपटक लोकल बसमा हिँड्दा भाडा तिर्न नसकेर कन्डक्टरले बीच बाटोमै झारिदिन्थे । एकपटक त लात्तीले हानेर गाडीबाटै खसालिदिएका छन् । कोठा भाडा तिर्न नसकेर कयौँ महिना भागीभागी पनि हिँड्नुपर्यौँ । तर, पनि हिम्मत हारिएन । संघर्ष जारी राखेँ ।
पत्रिका निकाल्ने मेसो यसरी जुर्यो
घडी बेच्ने क्रममा धेरै ठाउँमा जान थाल्यौँ । विभिन्न व्यक्तिसँग चिनजान भयो । विभिन्न संघसंस्थासम्म पनि पुग्यौँ । पत्रपत्रिका बेच्ने र विज्ञापन एजेन्सीकहाँ गएर विज्ञापन उठाउने काम पनि ग¥यौँ । यो क्रममा धेरै निकाय र संघसंस्थासँग चिनजान भयो । हामीलाई कामसँग लाज थिएन । समयको पनि पर्वाह थिएन ।
यही सक्रियताबीच पत्रिकासम्बन्धी केही ज्ञान पनि प्राप्त भयो । अन्ततः पत्रिका निकाल्ने योजनामा सुवासजी र म पुग्यौँ । बाल विकास मञ्च स्थापना गरी सामाजिक सेवामा केही मात्रामा भए पनि योगदान दिने प्रण ग¥यौँ । नेपाल राष्ट्रिय दलित पत्रकार मञ्च पनि स्थापना गर्यौँ ।
त्यतिखेर मिडियामा दलितको उपस्थिति खासै थिएन । यो अवस्थामा ०५७ मै हामी दुई भाइ मिलेर जागरण मिडिया सेन्टर स्थापना गर्यौँ । यो मिडिया सेन्टरमार्फत देशभरका मिडियामा दलितको पहुँच बढाउने उद्देश्यले दलितहरूलाई मिडियासम्बन्धी विभिन्न तालिम दिएर दक्ष पत्रकार बनाउन थाल्यौँ । त्यही संघर्षको फल भन्नुपर्छ, अहिले देशभरमा झन्डै ७ सय दलित पत्रकार जन्माइसकेका छौँ । उहा“हरू विभिन्न सञ्चारमाध्यममा सक्रिय हुनुहुन्छ । दलित पत्रकार जन्माएर हामीले मिडियालाई समावेशी बनाउन भूमिका खेलेका छौँ ।
अहिले जागरण मिडिया सेन्टर अन्तर्राष्ट्रिय रूपमै चिनिन सफल छ । यो सेन्टरबाट राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा दलित र समावेशी विषयमा बहस/पैरवी गर्दै आएका छौँ । अन्तर्राष्ट्रिय दलित सोलिडारिटीको सदस्य, एसियन दलित राइट फोरमको सदस्य, साउथ एसियन मिडियालगायतका निकायमा सहभागिता जनाउने मौका यहीँबाट मिलेको छ ।
बाल्यकालमा मैले भोगेजस्तो छुवाछुतको पीडा अहिले पनि निमिट्यान्न भएको छैन, गाउँ–गाउँमा । यसका लागि जीवन अझै संघर्षमै छ ।
No comments:
Post a Comment