दलितसँग प्रेम सम्बन्ध राखेको आरोपमा कुटपिट गर्ने विरुद्ध ज्यानमार्ने मुद्दा दर्ता

विभेद बिरुद्ध अभियान - साउन ६ - प्रेम सम्बन्ध राखेको भन्दै परिवार र छिमेकीबाटै कुटिएकी रुपन्देहीको मर्चावारकी एक युवतीलाई न्याय दिलाउन पहल सुरु भएको छ । मर्चवारको सम्मरीमाई गाउँपालिका वडानम्बर ६ डिहुलीकी यादव थरकी किशोरी कुटिएको खबर सार्वजनिक भएसँगै गृहमन्त्रालयले चासो देखाउँदै घटनाको आवश्यक छानबिन गर्न जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख रविन्द्र घानुकलाई निर्देशन दिएसँगै उनलाई न्याय दिलाउन पहल सुरु भएको हो ।
जिल्ला प्रहरी प्रमुख रविन्द्र धानुकले घटनामा संलग्न किशोरीका बाबु इन्द्र यादवसहित ५ जनालाई नियन्त्रणमा लिइएको जानकारी दिए । उनले घटना अमानवीय भएको भन्दै उनीहरुविरुद्ध मुद्दा चलाउने तयारी भएको पनि जानकारी दिए ।
यस्तै घटनालाई भद्रभलादमीको बहानामा पीडकलाई उन्मुक्ति दिन भूमिका खेलेको आरोप लागेका ईलाका प्रहरी कार्यालय मर्चवारका इन्सपेक्टर उदय सिंह सिजापतिलाई जिप्रपा झिकाएर छानबिन चलिरहेको छ ।
उता १६ वर्षीय बालिकालाई दलितसँग प्रेम सम्बन्ध राखेको आरोपमा आफ्नै बाबु, ठूलो बुवा, दाजुबाट निर्घात कुटाई खाएकी बालिकाले आफन्तलाई कारबाही नगर्न अधिकारकर्मी, पत्रकार र प्रहरीलाई अनुरोध गरेकी छन् ।
बालिकाले भनिन्-‘मैले गरेको गल्तीको कारण मेरो आफन्तबाट मैले कुटाइ खाएपनि यसमा मेरो आफन्तको कुनै दोष छैन ।’ उनले आफूले जन्माएको सन्तानलाई बाबुआमाले अलिकति पिट्दा त्यसलाई मुद्दाको रूपमा नलैजान सबै पक्षलाई आग्रह गरिन् । निर्घात कुटाइ खाएकी रुपन्देही सम्मरीमाई गाउँपालिका-६ डिहुलीकी बालिकाले आफूलाई कतै चोट नलागेको र सामान्य डर देखाएको भन्दै मिलिसकेको घटनालाई नउकास्न सबैलाई आग्रह गरिन् ।
बालिका भन्छिन्-‘असार १९ गतेको दिन घरका सबै जना खेतमा गएको अवस्थामा छिमेकी गाँउका दिनेश लोध घर आए । मैले दिनेशलाई मेरो घरमा नआउन भने पनि उनले टेरेनन् । कसले लोध केटा आएर बसेको छ भनेर कुरा लगाईदिए – बुवा आमा खेतबाट आउँदा दुवैजनालाई सँगै देखेपछि कुटपिट गर्नुभयो ।’
उनले भनिन्-‘पहिले दिनेशसँग प्रेम सम्बन्ध भएको र अहिले हामी २ जनाबिच केही पनि बाँकी नराख्ने गरी इलाका प्रहरी कार्यालय मर्चवारमा गएर मिलापत्र गरेका थियौँ ।’ तर, गाउँकै बुल्लर कुर्मीले फेसबुकमा भिडियो राखिदिएका कारण समस्या खेप्नु परेको उनको दुखेसो छ ।
पीडित दिनेश लोधले घर बाहिर नै बसेर गफ गरिरहेको अवस्थामा उनका परिवारले आएर आफूहरूलाई निर्घात कुटपिट गरेको बताए । दिनेश मर्चवारमा रहेको अम्वाज इङलिस बोर्डिङ स्कुलमा कम्प्यूटर शिक्षकको रूपमा अध्यापन गराउँथे । घटनासँगै दिनेशलाई रोजगारीबाट समेत निकालिएको बोर्डिङका प्रिन्सिपल वजिउद्दिन मुसलमानले जानकारी दिए ।
इलाका प्रहरी कार्यालय मर्चवारका सई नरिश्वर अर्यालले घटनाको सम्बन्धमा पीडित बालिकाका बावुले जानकारी गराएको बताए । उनले घटना लगत्तै पीडित बालिका र दिनेश लोधको स्थानीय प्रहरीले उद्दार गरेको थियो । अर्यालले भने-‘केटाले केटी भेट्न आएको र केटीको बाबुले दुवै जनालाई एकै साथ भेटाए पछि नियन्त्रणमा लिई कुटपिट गरेका हुन् ।’
सई अर्यालले केटा र केटीलाई स्थानीय भद्र भलादमीको रोहवरमा जिम्मा लगाइएको बताए । सम्मरीमाई गाँउपालिकाका अध्यक्ष जीतेन्द्रनाथ शुक्लाले आफ्नो क्षेत्रमा भएको अमानवीय जघन्य अपराधको घटनाप्रति खेद प्रकट गर्दै स्थानीय प्रशासनलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
उनले उक्त घटनामा दोषी रहेकालाई कारबाही गराउन पहल गर्ने बताए । यसैगरी घटना सार्वजनिक भएपछि विभिन्न सङ्घ संस्थाहरू इन्सेक, राष्ट्रिय मानव अधिकार आयोग उपक्षेत्रीय कार्यालय बुटवल, सञ्चारिका समूह, नेपाल पत्रकार महासङ्घ रुपन्देहीलगायतको ध्यानाकर्षण भएको भन्दै घटनाका समबन्धमा अनुगमन समेत गरेका छन् ।
इन्सेक, मानव अधिकार आयोगलगायतको अनुगमन टोलीसँग घटनास्थल वरपरका स्थानीयहरू बोल्न चाहेनन् । घटनाका विषयमा पीडित बालिकाको घरमा भेटिएकी बालिकाकी ठूली आमा, छिमेकीहरू रामवरण कुर्मी, जयसचन्द्र यादव, पिन्टु धोवीले घटना हुँदको समयमा सबै खेत रोपाँई गर्न गएकोले केही पनि थाहा नभएको बताए ।
स्थानीय महिला स्वास्थ्य स्वयम्सेविका कमलादेवी केवटले भनिन्-‘केटा र केटीको सम्बन्ध गहिरिँदै गएको थियो । केटी ठूलो जातको हो । केटा सानो जातको हो । त्यसैले पनि बुवा आमालाई राम्रो लागेन । कुटेर लखेटन खोजेका हुन् । यो विषयमा कसैलाई नबोल्न भनेका छन् । के गर्ने हामीलाई त यहीँ बस्नुपर्छ ?’सम्मरीमाई गाउँपालिका-६ का कार्यालय सहायक मेघु धवलले केटा कोही नभएको बेला घरमा आएर बसेका कारण कुटेको भन्ने सुनेको बताए । घटनास्थल भएको घर र गाउँपालिकाको वडा कार्यालय सय मिटरको दुरीमा पर्दछ ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले घटनास्थल पुगेको प्रहरीले घटनालाई सामान्य रूपमा लिएका कारण पनि यो घटना सुस्ताएको बताए । उनले घटनाका विषयमा आफूलाई साउन ५ गते मात्र भिडियो हेरेपछि थाहा पाएको बताए ।
प्रजिअ सिंहले भिडियो हेर्दा घरायसी सामान्य झगडा जस्तो नभएर मानवता विरुद्धको जघन्य अपराध भएकोले आरोपित ५ जनाविरुद्ध ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दा दर्ता गरेर म्याद थप गरिएको बताए । प्रजिअ सिंहका अनुसार बालिकाका बुवा सम्मरीमाई गाउँपालिका-६ का ४६ वर्षीय इन्नर यादव, १८ वर्षीय दाजु दिनेश यादव, ५५ वर्षीय माइलो बुवा लालमोहन अहिर यादव, लालमोहनकी पत्नी र स्थानीय गाउँले युवा २५ वर्षीय पशुपति कोइरी उपर ज्यान मार्ने उद्योगमा मुद्दा दायर भएको छ ।
यी मध्ये बालिकाका बुवा यादवलाई प्रहरीले गिरफ्तार गरी कारबाही प्रक्रिया अगाडि बढाइसकेको छ । उनले घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको र घटनामा संग्लन आरोपितहरूमध्ये दिनेश, लालमोहन, लालमोहनकी पत्नी र स्थानीय गाउँले युवा २५ वर्षीय पशुपति कोइरी फरार रहेका छन् । उनीहरूको खोजी कार्य भइरहेको प्रहरीको भनाइ छ । साथै उनले आफु मातहत रहेको इलाकामा घटना भएपनि माथिल्लो निकायलाई जानकारी नगराएको कारण इलाका प्रहरी कार्यालयका प्रमुख इन्स्पेक्टर उदयसिंह सिंजापति उपर पनि विभागिय कारबाहीको प्रक्रिया अगाडि बढाइएको बताए ।
उनले इप्रका मर्चवारका इन्स्पेक्टर सिंजापतिले घटनाको विषयमा जिल्ला प्रहरी कार्यालयमा कुनै जानकारी नगराई काममा लापरबाही गरी आफ्नो जिम्मेवारी बोध नगराएको कारण उनी माथि विभागिय कारबाही प्रक्रिया अगाडि बढाइएको प्रजिअ सिंहले बताए ।

No comments:

Post a Comment