सामाजिक भेदभावजन्य विकृतिविरुद्ध आजैदेखि जुटौँ

विभेद बिरुद्ध अभियान - साउन २, हामी भन्ने गर्छौं, आजको २१औँ शताब्दी विज्ञान र प्रविधिको युग हो । ढुंगेयुग हुँदै अघि बढेको मानव सभ्यताले अन्तरिक्ष युगसमेत पार गरिसकेको छ । शिक्षा र सञ्चारको क्षेत्रमा भएको क्रान्तिकारी परिवर्तन र सुधारले हाम्रो समाज धेरै विषयमा सभ्य र सुसंस्कृत पनि बन्दै गएको छ । तर, अझै पनि कतिपय यस्ता समस्या छन्, जसले वेलाबखत मानव सभ्यतालाई नै गिज्याइरहेका छन् । यस्ता सामाजिक विकृति र विसंगतिमध्ये मानव सभ्यतामाथि नै कलंकको टीका लगाइरहेको छुवाछुत तथा जातीय भेदभावले अझै पनि हाम्रो समाजलाई वेलाबखत नराम्ररी सताइरहेको छ ।
यसै क्रममा गुल्मीको मुसिकोट नगरपालिका–४, बडागाउँ, हलोगाडेका ४२ वर्षीय ४२ वर्षीय कर्णबहादुर सार्कीमाथि निर्घात कुटपिट भएको समाचार प्रकाशित भएको छ । उनको भनाइअनुसार उनलाई होटेलमा आफूले खाएका जुठा भाँडा आफैँ नमाझेको निहुँमा होटेल सञ्चालिका ४० वर्षीया शोभा कार्की र उनका छोराले कुटपिट गरेका हुन् । यद्यपि, पीडित विकले अन्यत्रैबाट रक्सी पिएर आई होहल्ला गरेको र सम्झाउँदासमेत नटेरेको हुनाले सामान्य रूपमा धकेलेको तर कुटपिट नगरिएको भनेर आरोपीले स्पष्टीकरण दिइसकेका छन् । घटना प्रहरीमा दर्ता भइसकेको हुनाले प्रहरीको छानबिनपछि नै यथार्थ बाहिर आउला । र, छानबिनपछि जो दोषी देखिए पनि तिनलाई कडाभन्दा कडा कारबाही गर्न पछि पर्नु हुँदैन ।
व्यापार गर्ने उद्देश्यले होटेल सञ्चालन गर्ने तर दलित समुदायका ग्राहक आएमा उनीहरूबाट सेवा लिएबापत पैसाचाहिँ लिने तर उनीहरूले प्रयोग गरेका भाँडाचाहिँ उनीहरू स्वयंले माझ्नुपर्ने यो कुनै हालतमा सुहाउने ‘नियम’ होइन । होटेल खोलेर बसिसकेपछि हरेक ग्राहकमाथि समान व्यवहार गर्नुपर्छ । यदि कसैले त्यहीँ खाना खाँदा निश्चित जात भएकैले भाँडा माझ्नु नपर्ने र कसैले चाहिँ निश्चित जात भएकैले पैसा तिरेर पनि भाँडा माझ्नुपर्ने चलन जातीय विभेदको पराकाष्ठा हो । यसलाई तत्काल सबैले सच्याउनुपर्छ । अब त स्थानीय तहको निर्वाचनपछि स्थानीय सरकार गठन भइसकेको छ । अब यस्ता सामाजिक कलंक अन्त्य गर्न स्थानीय सरकारका निर्वाचित पदाधिकारीले पनि विशेष पहल गर्नुपर्छ । झन् संवैधानिक व्यवस्थाका कारण स्थानीय तहमा दलित समुदायको राम्रै प्रतिनिधित्व पनि भएको छ । यस्ता छुवाछुतजन्य विभेदको कलंक मेट्न दलित अगुवाकर्मी, निर्वाचित स्थानीय तहका पदाधिकारी तथा राजनीतिक दलका नेता तथा कार्यकर्ता सबै एकजुट भएर लाग्नुको विकल्प छैन ।
केही दिनअघि दैलेखको एउटा छाउगोठमा बसेकी किशोरीको सर्पदंशबाट ज्यान गएको समाचार पनि आएको थियो । कतै छाउपडीको समस्या, कतै छुवाछुतको समस्या त कतै बोक्सीको आरोपमा हुने कुटपिटलगायत समस्या, हाम्रो समाज सभ्य र सुसंस्कृत हुँदै जानुपर्नेमा झनै उल्टो बाटोतिर हिँडिरहेको उदाहरण हुन् यी । पछिल्लो समयमा हाम्रो समाजमा चेतनाको स्तर बढ्दै गएको पनि छ । गाउँघरका मानिसले समेत देशविदेश घुमेर अनेकौँ परिवर्तनलाई प्रत्यक्षतः अनुभूत गर्ने अवसर पनि पाइरहेका छन् । रेडियो, टेलिभिजन, मोबाइल, इन्टरनेट, पत्रपत्रिकाजस्ता सञ्चारका अनेक साधन गाउँगाउँसम्म पुगेका छन् । तैपनि, समाजमा यस्ता सामाजिक कलंक अझै रहिरहनुको अर्थ हाम्रा सोच र परम्परागत संस्कारमा कत्ति पनि परिवर्तन हुन नसकेको संकेत हो । अब, राज्य संयन्त्रदेखि स्थानीय तहका निर्वाचित प्रतिनिधि, राजनीतिक दल, विद्यार्थी, शिक्षक, शिक्षिका, स्वास्थ्य कार्यकर्ता, एनजिओ, आइएनजिओ, निजामती कर्मचारी सबै यस्ता सामाजिक विकृतिविरुद्ध एकजुट भई लड्नुपर्ने समय आएको छ । यसबाट कोही पनि पछि नहटौँ । सामाजिक भेदभावजन्य विकृतिविरुद्ध आजैदेखि जुटौँ ।-नया पत्रिका बाट 

No comments:

Post a Comment