परियार सेवा समाजद्वारा राजदूत पदम् सुन्दासलाई सम्मान

विभेद बिरुद्ध अभियान काठमाडौँ, २४ असार । नेकपा(माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्ध र जनआन्दोलन नभएको भए महिला, दलित, जनजाती, मधेसीलगायतका समुदाय अपमानित भइरहनुपर्ने स्थिति कायम नै रहने बताउनुभएको छ ।
दलित अगुवा अधिकारकर्मी पद्म सुन्दासलाई बहराइनका लागि नेपाली राजदूतमा नियुक्त गरेकोमा अध्यक्ष दाहाललाई अभिनन्दन गर्न परियार सेवा समाजले यहाँ आज आयोजना गरेको कार्यक्रममा उहाँले माओवादी पार्टी र आन्दोलनका कारण अल्पसङ्ख्यक समुदाय राज्यको विभिन्न स्थानमा स्थापित भएको बताउनुभयो ।
अध्यक्ष दाहालले भन्नुभयो, “पुरानो समाज र राजनीतिक दल दलित, महिला, जनजाति, मधेसीलगायतका उत्पीडितलाई मान्छे नै नमान्ने प्रचलन थियो, माओवादीले उत्पीडितको अधिकारको कुरा गर्दा निकै ठूलो विरोध गरियो, माओवादीले जनयुद्ध नलडेको र उत्पीडितको पक्षमा सङ्घर्ष नगरेको भए क्षमता भएर पनि उनीहरु राज्यको नीति निर्माणको अधिकारबाट विमुख हुन्थे ।”


तस्बिर श्रोत :भद्रमान मोते
समाजमा यति ठूलो परिवर्तन भइसक्दा पनि अझै राज्य र राज्य संयन्त्र दलितप्रति सकारात्मक हुन सकेका छैनन् भन्दै उहाँले त्यसलाई अझै सकारात्मक दबाबले सही मार्गमा ल्याउनुपर्नेमा जोड दिनुभयो ।
अध्यक्ष दाहालले भन्नुभयो, “म निरन्तर उत्पीडितको पक्षमा छु, म र मेरो पार्टीको निरन्तरको प्रयास र सङ्घर्षपछि महिला नै राष्ट्रपति, प्रधानन्यायाधीश र सभामुख हुनुभएको छ, गणतन्त्र आएपछि संसद्मा ठूलो सङ्ख्यामा उत्पीडित समुदायको प्रतिनिधित्व भएको छ, अहिले पद्म सुन्दास राजदूत हुनुभएको छ, यो पनि माओवादी पार्टीको उत्पीडित जाति र समुदायप्रतिको प्रतिबद्धताको प्रतिफल नै हो ।”
सो अवसरमा परियार सेवा समाजका अगुवाले नेपालमा गणतन्त्र स्थापना गर्न, समावेशी समानुपातिक प्रतिनिधित्वको व्यवस्था गर्न, दलितलगायतका उत्पीडित जाति र समुदायलाई नीति निर्माणको तहमा लैजान विशेष भूमिका खेलेको भन्दै अध्यक्ष दाहाललाई अभिनन्दन गरिएको थियो ।राजदूत पदम् सुन्दासलाई पनि कार्यक्रममा सम्मान गरिएको थिए ।

No comments:

Post a Comment