धारामा पानी छोएको आरोपमा टीकाकुमारी मिजार माथि कुटपिट

विभेद बिरुद्ध अभियान - असार २१ - सुर्खेत : धारामा पानी छोएको आरोप दलित महिलामाथि निर्घात कुटपिट भएको छ। सुर्खेतको लेकवेशी नगरपालिका अन्तर्गत साटाखानीमा पानी छोएको आरोपमा दलित महिलामाथि कुटपिट भएको हो। गैरदलितको कुटपिटबाट २७ वर्षीया टीकाकुमारी मिजार गम्भीर घाइते हुनुभएको अन्नपूर्ण दैनिकमा खबर छ ।

साटाखानीस्थित गंगटे निवासी टीकाको वीरेन्द्रनगरमा रहेको मध्यपश्चिम क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ। स्थानीय मनकुमारी राई र उहाँका छोरा मनबहादुर राईले टीकामाथि कुटपिट गरेका हुन्।कुटपिटका कारण टिकाको टाउको, छाती र शरीरका अन्य भागमा समेत चोट लागेको छ। कुटपिटपछि बेहोस अवस्थामा टिकालाई आफन्तले स्थानीय मेडिकलमा पुर्‍याएका थिए।
नाक र मुखबाट रगत बगेको र होस पनि नखुलेपछि थप उपचारका लागि उहाँलाई क्षेत्रीय अस्पतालमा भर्ना गरिएको हो। अस्पतालमा पुर्‍याएपछि मात्र टीकाको होस खुलेको थियो। आफूले धारामा नुहाउँदै गरेको र पानी भर्ने क्रममा गाग्री छोइदिएको भन्दै मनकुमारीका आमाछोरा मिलेर आफूमाथि कुटपिट गरेको पीडित टीकाले बताउनुभयो। टीकाकी आमा दरिशा सुनारले आफ्नी छोरी मृत्युबाट बचेको भन्दै अब स्थानीय प्रशासनले आफूलाई न्याय र दोषीलाई सजाय दिनुपर्ने माग गर्नुभयो।
अपडेट:

छुवाछुत गरेको घटनाका आरोपित गिरफ्तार


लेकवेशी नपा-९ की ३२ वर्षीया टिकाकुमारी मिजारलाई सार्वजनिक धाराको पानी छोएको आरोपमा कुटपिट गरेको घटनाका आरोपित सोही ठाउँका ३८ वर्षीया मनकुमारी राई र उनका २० वर्षीय छोरा मनबहादुर राईलाई प्रहरीले असार २२ गते गिरफ्तार गरेको छ ।
पीडित मिजारलाई रामजाली डाँडामा रहेको सार्वजनिक धारामा पानी छोएको आरोपमा असार १६ गते कुटपिट गरेको आरोपमा आरोपितद्वयलाई प्रहरीले घरैबाट गिरफ्तार गरेको हो । कुटपिटबाट पीडितको टाउको र छातीमा चोट लागेको छ । क्षेत्रीय अस्पताल सुर्खेतमा उपचारपछि पीडित मिजार घर फर्किसकेकी छन् ।

पीडितले असार १८ गते उजुरी दिएको आधारमा अनुसन्धानका लागि आरोपितद्वयलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका एसपी मोहन आचार्यले बताए । घटनाका आरोपितलार्इ जातीय छुवाछुत तथा कसुर ऐन अन्तर्गत कारबाही गरिने एसपी आचार्यले जानकारी दिए ।

No comments:

Post a Comment