आमाबुवाले वास्ता गर्न छाडेपछि ५ वर्षीया मुस्कान सार्कीको बिचल्ली

बिभेद बिरुद्ध अभियान - बझाङ, श्रावण १४ - आमाबुवाले वास्ता गर्न छाडेपछि एक बालिका बिचल्लीमा परेकी छन्। बेसहारा बनेकी छान्ना गाउँपालिका ७ की ५ वर्षीया मुस्कान सार्कीको बास केही महिनादेखि बर्खे झरीमा भिज्दै बाटाघाटो र खुला चौर बनेको छ। उनी कसकी सन्तान हुन् भन्ने विषयमा २ परिवारबीच विवाद भएपछि अलपत्र परेकी कान्तिपुरमा समाचार छ |
स्थानीय बमबहादुर सार्की कामका लागि भारत गएका बेला भारतीय महिलासँग दोस्रो बिहे गरेर घर फर्किए। बिहे गरेर आएको केही महिनामै बमबहादुर फेरि भारत गए। उनी भारत गएपछि नेपाली भाषासमेत बोल्न गाह्रो हुने महिलालाई बमबहादुरकी जेठी श्रीमतीले यातना दिन थालिन्।
सौताको यातनाकै कारण आफू नेपालमा बस्न नसक्ने र भारत फर्किन चाहेको भन्दै कान्छीले स्थानीय महिला समूहमा उजुरी हालेकी थिइन्। महिलाले सल्लाह गरेर कामको खोजीमा भारत जान लागेका स्थानीय गोरे सार्कीसँगै उनलाई श्रीमान्कहाँ पठाउने निर्णय गरे। बाटैमा गोरे र उनको प्रेम भयो। भारत गएपछि उनी पहिलो श्रीमान्सँग नगएर गोरेसँगै बस्न थालिन्।
स्थानीय विष्णु थापाका अनुसार गोरेले पनि गाउँमा फोन गरेर ती महिलालाई आफैंले स्विकारेको बताएका थिए। त्यतिबेला उनको पेटमा बमबहादुरको ४ महिनाको गर्भ थियो। त्यही गर्भबाट मुस्कानको जन्म भएको र उनी बमहादुरकै छोरी भएको गोरेको परिवारले दाबी गरेको छ।
भारतमै रहँदा ती महिलाबाट अर्की छोरी जन्मिइन्। छोरी जन्मेको २ वर्षमै ती महिला गोरे र दुवै छोरी छाडेर अर्कै भारतीयसँग गइन्। दुवै छोरी ल्याएर गोरे घर फर्किए। गोरेले पनि बझाङ फर्किएर अर्काे विवाह गरे। ‘बझाङ ल्याएपछि गोरेको परिवारले उनलाई ३ वर्षसम्म पाल्यो, पछि बमबहादुरकी छोरी भनेर अलपत्र छाडे,’ स्थानीय विष्णु थापाले भने, ‘बमबहादुरले पनि आफ्नी छोरी होइन भन्दै उनलाई घरमा पस्न नदिएपछि उनी बिचल्ली परेकी हुन्।’
यतिबेला उनी रातमा समेत सडक किनारमै सुतेकी छन्। बालिका वर्षातमा समेत ओबानो ठाउँमा बस्न नपाउने विष्णुले बताए। गोरे र बमबहादुर दुवैका घरमा जान खोज्दा उनलाई बाटैबाट कुटेर धपाउने गरेका कारण त्रसित रहेको स्थानीय उत्तमकुमार थापाले बताए। बालिकाको उद्धारका लागि महिला तथा बालबालिका कार्यालयमा जानकारी गराउँदा पनि कसैले चासो नदेखाएको उनले बताए।
महिला तथा बालबालिका कार्यालय बझाङकी अधिकृत लीला घलेले दलितका ५ वर्षमुनिका बालबालिकाका लागि सरकारले दिने पोषण भत्ता पाउँदासम्म बालिकालाई पाल्न दुई परिवारबीच झगडा हुने गरेको बताइन्। ५ वर्ष पूरा भएपछि दुवैले पाल्न नचाहेका कारण उनी बिचल्लीमा परेको जानकारी आएको उनले बताइन्।

No comments:

Post a Comment