नक्कली माछा पोखरीले कमला परियारको काख रित्तायो

विभेद बिरुद्ध अभियान - बुटवल, ४ असार । माछा पोखरी खन्ने अनुमति लिएर माटो बेच्न खनिएको खाडलमा परेर दुई बालकको ज्यान गयो । खाडलमा जमेको पानीमा खेल्दै पुगेका दुई बालक हिलोमा पुरिएको अवस्थामा फेला परे ।स्कुलबाट फर्की खाजा खाएर खेल्न निस्किएका ५ वर्षिया रमन परियार पानीसहितको खाडलमा डुबेपछि रूपन्देही कञ्चन गाउँपालिका सोगाकी कमला परियारको काख रित्तिएको छ । हरैयाको मोर्डन भिजन एकेडेमीमा एलकेजीमा अध्ययनरत रमन घर फर्किएपछि सधँै नै खेल्न निस्किन्थे ।आइतबार पनि आमा कमलाले चाउमिन खाजा दिएकी थिइन् । खाजा खाएपछि रमन नयाँ साथी चार वर्षिया अनिश परियारसँग साइकलमा खेल्दै थिए । पर्वत न्याउलीबासका अनिश शनिबार मात्रै ठूलीआमाकोमा आएका थिए ।
साइकलमा खेल्दै गर्दा फ्रिजको प्लाष्टिकको कभर भेट्टाए । डुंगा खेल्न भन्दै तीन वर्षिया सुसन श्रीसलाई लिएर घरदेखि २ सय मिटरको दुरीमा रहेको खेतमा पुगे । खेतमा माछा पोखरीको नाममा माटो निकाल्नका लागि ६ फुटको लामै खाडल बनाइएको थियो । टम्म जमेको पानीमा खेलिरहेका रमन र अनिश खाडलमा परे । तीन वर्षिया सुसन पानीमा छेउमै खेल्दै थिए । घटनाको २० मिनेटपछि स्थानीय ११ वर्षिया बालक अभिशेक परियारले सुसन डुबेको देखेर छेउबाट बाहिर निकाले । तर रमन र अनिश भेटिएनन् ।तीन वर्षिया सुसनले गरेको इसाराको भरमा खाडलमा पसेका स्थानीयले रमन र अनिशलाई आधा घण्टापछि मृत अवस्थामा भेट्याए । घरमा कुखुरा थुन्दै गरेकी रमनकी आमा कमलाले जब खबर सुनिन्, तब खेतमै बेहोस भएर पल्टिइन् । दुई दिनपछि मात्रै होस खुलेको छ । अनिशकी आमालाई मंगलबार मात्रै छोराको अवस्था बारे जानकारी गराइएको थियो । लुम्बिनी अञ्चल अस्पतालमा आइसियुमा उपचार गरेकी पर्वत न्याउलीबास गाउँपालिका डाँडथोककी गीता परिवार शनिबार उपचारका लागि बुटवल आएकी थिइन् । फोक्सोमा समस्या देखिएपछि अस्पतालले उपचार सम्भव नहुने बताइसकेको छ ।
विभेद बिरुद्ध अभियान
स्थानीय विशाल श्रेष्ठले माछा पोखरीको नाममा माटो बिक्री गर्न खनिएको खाडलले दुई नाबालकको ज्यान नै लग्यो । गत जेठमा खनिएको खाडललाई तारबार समेत नगरी राखिएकाले बालकहरूको मृत्यु भएको भन्दै आफन्तहरू आक्रोशित भएका छन् । ‘पोखरी खन्नेले लापर्बाही गर्दा अनाहकमा दुई बालकले ज्यान गुमाउनुप¥यो, रमनका फुपाजु मानबहादुर तेलीले भने ।रमनको मृत्यु भएपछि कमलाको काख खाली भएको छ । भित्तामा रहेको रमनको फ्यासबोर्डको तस्बिर हेरेर टोलाइरहेकी कमलाका अश्रुधारा रोकिएको छैन । कमलाका श्रीमान् साउदी अरबमा रोजगारीका लागि गएका छन् । ०६८ सालमा बिहे गरेका दम्पतीले एक वर्षपछि रमनलाई जन्म दिएका थिए । साउदीमै रहेका रमनका बाबु राजुले बोल्ने भएपछि छोराको अनुहारसमेत हेर्न पाएनन् । अनिशकी आमा गीताको स्वास्थ्य अवस्था झन् बेहाल भएको छ । आइसियुमा राखिएकी उनलाई अस्पतालले बाहिर पठाएको छ । भारतको दिल्लीमा रोजगारीका लागि रहेका अनिशका बाबु नेत्र मंगलबारमात्रै बुटवल आएर अन्तिम संस्कार गरे । अनिश तीन सन्तानमध्येका कान्छा हुन् । उनका एक÷एक दाइ–दिदी छन् । दुई बालकको खेल्दा खेल्दै मृत्यु भएपछि सोगाबासी शोकमा डुबेका छन् । रुद्रपुरमा गएको वर्ष पनि माछा पोखरीकै लागि खनिएको खाडलमा परेर एक बालकको मृत्यु भएको थियो ।

No comments:

Post a Comment