विदेश गएर दुर्गा नेपालीको जस्तो दुर्गति कसैको नहोस्

विभेद बिरुद्ध अभियान - श्रावण १४, २०७४-आफ्नो जीवनका उर्बर सात वर्ष मलेसियामा व्यतित गरेर दुर्गा नेपाली नेपाल फर्केका छन् । मलेसियामा बस्दा रक्सीको लतमा फसेर रित्तिएको जीवनलाई अब उनले पुनर्ताजगी दिनुछ ।आफ्नो र परिवारको सुखद भविश्यका लागि विदेश भासिएका दुर्गा रक्सीकै कारण सडकमा बसेर भिख माग्ने अवस्थामा पुगेका थिए ।
उनलाई केही सहृदयी नेपालीहरुले उद्दार गरेर नेपाल फर्काएका हुन् । अब विदेश जाने सोच त्यागेर आफ्नै देशमा बाख्रापालन गरेर बस्ने योजना बुनेका छन् दुर्गाले । उनी भन्छन्, ‘रक्सीले मलाई भिखारी बनायो, अब रक्सी कहिल्यै छुन्न ।’
दुर्गाको कथा, उनकै शब्दमाः
मेरो घर दाङ जिल्लाको डरुवा गाविस, वडा नं. ७ मा पर्छ । अहिले ४१ वर्षको भएँ । चार भाई मध्येको म साईंलो हुँ । हाम्रो घरको पारिवारीक अवस्था त्यति राम्रो थिएन, त्यसैले मैले पढ्न पाइनँ । वाल्यकाल दुःखैमा बित्यो । सोह्र वर्षको उमेरमा भारत पसेँ । हातमा सीप नभएको केटालाई कसैले पनि राम्रो काम दिने कुरै भएन । सुरुमा मैले होटलमा भाँडा माझ्ने काम गरेँ । त्यतिवेला सात सय भारु दिन्थे । भाँडा माझ्दा-माझ्दै कुकको काम पनि सिक्न थालेँ । पछि मेरो तलव वढेर २ हजारसम्म पुगेको थियो । मैले भारतमा करीव करीव ६ वर्ष बिताएँ ।
नेपाल आएपछि मैले बिहे गरेँ । तर, भाग्य नै खोटो रहेछ । पहिलो श्रीमतीको मृत्यु भयो । अर्को बिहे गरेँ । दोश्रो श्रीमतीले मलाई छाडेर हिँडिन् । अहिलेको श्रीमती मेरी तेश्री हुन् । उनीबाट एउटा छोरा र एउटी छोरी छन् । उनी अहिले अर्कै देशमा काम गर्न गएकी छिन् ।
घरमा छोराछोरी मात्र छन् । नेपालमा हुँदा गाडीमा काम गर्थेँ । सुरुमा खलासीबाट काम सिकेको हुँ । पछि मेरो इमान्दारीता देखेर मलाई कन्डक्टर वनाइदिए । दाङबाट नेपालगञ्ज महेन्द्रनगरसम्म मैले गाडीमा करीव पाँच वर्ष जति कन्डक्टर भएर काम गरेँ । कमाई पनि राम्रै हुन्थ्यो । परिवारलाई राम्रैसँग पालेको थिएँ ।
श्रीमतीको करमा विदेशिएँ
विदेशीने मेरो सोचाई दिएन । तर, श्रीमतीले कर गरिन् । मैले पनि केही समय विदेशमा दुःख गर्दा परिवारको भविश्य सुखद हुने ठानेर सहमति जनाएँ । अनि म्यानपावरलाई १ लाख रुपैयाँ वुझाएर ३५ वर्षको उमेरमा मलेसिया आएँ । म्यानपावरलाई बुझाएको पैसा सवै ऋण हो । ८० हजार पठाउने एजेण्टले नै हालिदियो भने २० हजार दिदीसँग सापट लिएको थिएँ ।
म्यानपावरले मलाई नराम्ररी झुक्यायो । प्लाष्टिकको कम्पनीमा आठ घण्टाको ५ सय ४६ रिंगेट भनेर पठायो । तर, यहाँ आउदा १२ घण्टाको ५ सय ४६ रिंगेट दिइयो । नेपालमा मेनपावरलाई फोन गरेर थर्काएँ । तर, मेरो कुरा के सुन्थ्यो, जे गर्न सक्छस् गर भनेर फोन राखिदियो । मेरो केही गर्ने उपाय थिएन । त्यही कम्पनीमा मैले ९ महिना बिताएँ ।
त्यसपछि त्यो कम्पनी छाडेर म अवैधानिक भएर काम गर्न थालेँ। होटलमा र सेक्युरिटीमा काम गरेँ । तर, वैधानिक हुँदा जस्तो सजिलो अवैधानिक भएपछि नहुँदो रहेछ । कतिपय कम्पनीले त तलब माग्दा पुलिस बोलाएर समाउन लगाउने समेत धम्की दिए । यसरी कैयौं महिनाको तलब त्यसै छाडेर हिँडेको छु ।
म मलेसियामै बसेर मैले नेपालमा केही जोडजाड गरेको थिएँ । छोराछोरी राम्रै स्कुलमा पढाएको थिएँ । यसैविचमा हामी वुढावुढीले नै कमाउने सोचाई बनायौं र श्रीमतीलाई पनि मेरै पहलमा अर्काे देशमा पठाएँ । अहिले उनी बाहिरै छिन् ।
तनाव भुलाउन रक्सीको सहारा
म अहिले तपाईहरुले देखेजस्तो थिइनँ । आठ महिना अगाडि मेरो रुपरंग अर्कै थियो । हेर्दै खाईलाग्दो थिएँ । सबैको प्यारो पनि थिएँ । भयो के भने, मैले काम गरेको ठाउँमा तलब पाइनँ । घरबाट छोराछोरीहरुले ‘बाबा किन पैसा नपठाउनु भएको ?’ भनेर सोध्थे । मैले ‘पठाउँदैछु न आत्तिनु’ भनेर सम्झाउथेँ । आज पनि त्यही भोलि पनि त्यही् कुरा दोहोर्‍याइरहँदा म छोराछोरीलाई नै ढाँट्ने बाउ जस्तो बन्न पुगेँ । काम गरेको ठाउँमा पैसा माग्दा दिँदैनथ्यो, उजुरी गर्न जाने ठाउँ थिएन ।
तनाव वढ्दै गएपछि मैले रक्सि खान सुरु गरेँ । छोराछोरी र श्रीमतीको पनि फोन उठाउन छाडेँ । मेरो संगत पनि त्यस्तै हुँदै गयो । विहान उठेदेखि रातिसम्म रक्सीमै डुबेर बस्न थालेँ । म अर्काे काम खोज्नेतिर पनि लागिनँ । तनाव छ भन्दै रक्सी मात्रै धोकेरै हिँड्न थालेँ । साथीभाइलाई फोन गर्‍यो, आज यता धोक्यो, भोलि उता धोक्यो । यसैगरी चल्न थाल्यो । बिस्तारै साथीभाइले पनि मलाई वोलाउन छाडे ।
त्यसपछि रक्सी खानकै लागि माग्ने धन्दा सुरु गरेँ । यहाँ रहेका नेपालीहरुसँग ‘दुःख परेको छ हजुर, यति पैसा दिनुस न’ भन्दै पैसा बटुल्ने र बटुलेको पैसा रक्सीमै सिध्याउन थालेँ ।
अब, मेरो कुनै बस्ने-खाने ठेगाना थिएन । क्वालालम्पुरको कोतारायमा एउटा सेगिकलेज भन्ने छ । त्यसको बाहिरतिर साँझ-विहान यहाँका ठूला-ठूला मानिसहरुले दुःख पाएकाहरुलाई खानेकुरा र कपडाहरु बाँड्ने गर्छन् । म पनि त्यहीँ गएर माग्न थालेँ । लाइन लागेर अरु मगन्तेहरुसँगै खान्थेँ । सुत्ने ठेगान थिएन । कहिले पुलमुनि, कहिले घरको छिँडीमा, जहाँ मन लाग्यो त्यहीँ सुत्थेँ । नजिकै रहेको चर्चमा गएर बेला-बेलामा नुहाउथेँ । म पागल जस्तै भएको थिएँ । मानिसहरु मलाई देख्दा तर्कन्थे । डुङडुङ गन्हाउने भएकाले कोही छेउ पर्दैनथे ।
यसरी भयो उद्दार
आजभन्दा डेढ महिना अघिको कुरा हो, म कोतारायको एउटा रेमिट्यान्समा गएर ‘मेलै हालेको पैसाको पिन नम्वर खोई ?’ भन्दै रक्सीको सुरमा चिच्याउन थालेछु । त्यहाँका कर्मचारीले मलाई पागल भनेर धपाए । तर, मेरो कृयाकलापलाई रुवेन अधिकारी भन्ने दाइले नियाल्नु भएको रहेछ । उहाँले मलाई एकान्तमा लगेर धेरै कुराहरु सोध्नुभयो । अनि मलाई दिलकुमार मगर र राजु तामाङ सरले नुहाउन लगाउनुभयो र अाफ्नो फेन्सी पसलमा लगेर नयाँ कपडा दिनुभयो ।
उहाँहरुले मलाई खाना खान आफुसँगै लिएर जानुभयो । मलाई आफ्नै परिवारको सदस्य जस्तो गरी राख्नुभयो । श्रीमतीसँग भाइवरमा सम्पर्क गराइदिनु भयो ।
८ महिनापछि श्रीमतीसँग कुरा गर्दा म भावुक भएँ । कुरा त कति हो कति । भर्खरै लव परेको जोडी जसरी दिनभरी कुरा हुँदा फोन नै बिगि्रयो । उहाँहरुले मलाई फोनसमेत दिनुभयो र पीएनसीसी संस्थाका मलेसिया संयोजकसँग सम्पर्क गराइदिनुभयो । खान-बस्न र हवाई टिकट समेत संस्थाले उपलब्ध गराइदियो । उहाँहरु एयरपोर्टसम्मै मलाई पुर्‍याउन आउनुभयो । नेपालमा पनि संस्थाका साथीहरु एयरपोर्टमै लिन आउनु भयो ।
अब बाख्रा पालेर बस्छु
खराब संगतले मानिसलाई कसरी बिगार्दोरहेछ र असल संगतले कसरी सपार्दोरहेछ भन्ने म एक उदाहरण भएको छु । टेन्सन भुलाउने बहानामा रक्सीको लतमा फसेको म सडकमै बस्ने र मागेर खाने भएँ । आज रक्सीको नाम लिँदा पनि एलर्जी भएर आउँछ ।
यदि सबैको साथ नपाएको भए म मलेसियाको सडकमै मर्ने थिएँ । आज म नेपाल आइपुगेको छु परिवार निकै खुशी भएको छ । अब म नेपालमै बाख्रापालन गर्ने योजनामा रहेको अनलाइन खबरमा समाचार छ  । परिवारसँगै आफ्नो जीवन व्यतित गर्छु । मलाई मलेसियाको सडकबाट उठाएर यहाँ आउन सहयोग गर्नेहरुको ऋण सायद कहिल्यै चुक्ता गर्न सक्ने छैन । यति कामना छ, विदेश गएर यो दुर्गेको जस्तो दुर्गति कसैको नहोस् ।

No comments:

Post a Comment