बिषे नगर्चीको बयान --श्रवण मुकारुङ्

IMG_2820
हो, मैले मालिकको दिव्योपदेश पालन गरिनँ हुँला
रक्सी खाएर
यो देश मैले पनि आर्जेको छु भनें हुँला
भानुभक्त बाजे र मेरो सियो बराबर हो भने हुँला
मैले सिएका सुकिला लुगा ओढेकाहरुलाई
मेरो नाङ्गो आङ देखाएँ हुँला
बौलाएपछि मैले मेरै भगवान्लाई पनि गाली गरें हुँला
मालिक ∕
-यस वर्ष ‘सुभाष दर्नाल नागरिक सम्मान २०७१’ बाट
सम्मानित कवि मित्र श्रवण मुकारुङलाई बधाई र शुभकामनाका साथ
एक प्रख्यात कविता-
बिसे नगर्चीको बयान
मालिक ∕
म यो गोरखा राज्यमा
अढाई सय वर्षपछि बौलाएँ ।
मेरो टाउको फनफनी घुमिरहेछ
जमिन आकाशतिर
आकाश जमिनतिर भइरहेछ
आँखा तिरमिर भएर
हजुरको शिर दशवटा देखिरहेछु
खोई मेरो पैताला कहाँनिर छ ?
मालिक ∕
म बौलाएँ ।
मैले त महाराजको सेवा गर्नुपर्ने
इतिहासको रक्षा गर्न
यो गोरखकालीको पाउ छोएर
नुनको सोझो हुनुपर्ने
अढाई सय वर्षपछि आज के भयो मलाई ?
यो बिसेलाई दशा लाग्यो मालिक ∕
म बौलाएँ ।
नाथे मेरी स्वास्नी न हो मारिएकी
नाथे मेरी छोरी न हो बलात्कृत भएकी
नाथे यो बिसेको झुप्रो न हो जलाइएको
यतिमै यो बिसे उफ्रिनुपर्ने ? थुइक्क बिसे…।
म बौलाएँ मालिक ∕
म बौलाएँ ∕
मेरो हात भाँचियो
अब म हजुरका भारदारहरुलाई
लवेदा सिउन सक्तिनँ
नर्सिङ्गा फुक्न÷सनाई बजाउन
अथवा कुनै मङ्गलगान
वा ऋतुगान गाउन सक्तिनँ
मेरो खुट्टा भाँचियो
अब म हजुरको राज्यको पहरा गर्न सक्तिनँ
मेरो दिमागै ठिक छैन
अब म ठिक्कले बोल्न सक्तिनँ
मालिक ∕ बौलाएँ ।
मालिक ∕
यो गोरखा राज्यअघि उभिएका
हिजोका ती अग्लाअग्ला पहाडहरु
आज कसरी यस्तरी होचाहोचा भए ?
हिजोका ती सग्ला र कल्कलाउँदा
यहाँका मानिसहरु
आज कसरी यस्तरी खुनी र कुरुप भए ?
यो दरौंदी किन उल्टो बगेको देख्छु ?
यो दरबारै किन खण्डहरजस्तो देख्छु ?
म बौलाएँ मालिक ∕ म बौलाएँ ∕
मालिक ∕
हजुरको तरबारले
टाउको काट्छ कि फूल ?
भ्रममा परें म
हजुरको बन्दुकले विचार ढाल्छ कि मान्छे ?
भ्रममा परें म
यस राज्यलाई प्रजाले बनायो कि राजाले ?
भ्रममा परें म
अढाई सय वर्षदेखि म तपाईंसमक्ष छु
मालिक ∕
म कसरी आतङ्ककारी हुन सक्छु ?
म केवल बौलाएँ मालिक ∕
बौलाएँ ।
हो, मैले मालिकको दिव्योपदेश पालन गरिनँ हुँला
रक्सी खाएर
यो देश मैले पनि आर्जेको छु भनें हुँला
भानुभक्त बाजे र मेरो सियो बराबर हो भने हुँला
मैले सिएका सुकिला लुगा ओढेकाहरुलाई
मेरो नाङ्गो आङ देखाएँ हुँला
बौलाएपछि मैले मेरै भगवान्लाई पनि गाली गरें हुँला
मालिक ∕
मान्छे बौलाएपछि आफैसँग पनि निहुँ खोज्दोरहेछ
अढाई सय वर्षदेखि मैले तुनेका थाङ्नामा हुर्केका
मेरा दरसन्तानहरु कहाँकहाँ पुगे ?
मैले खोज्न चाहें हुँला
मेरा औंलामा खोपिएका छ्यान्द्रा र
बगेका रगतहरुले मलाई उक्साए
तरबारले आर्जेको मुलुकभन्दा विशाल ठानें हुँला
मालिक ∕
यस माटोको इतिहाससँगै म हजुरको राष्ट्रमा छु
म कसरी अराष्ट्रिय हुनसक्छु ?
म साँच्चै बौलाएँ मालिक ∕
साँच्चै बौलाएँ ।
मेरो टाउको फनफनी घुमिरहेछ
जमिन आकाशतिर
आकाश जमिनतिर भइरहेछ
आँखा तिरमिर भएर
हजुरको शिर दशवटा देखिरहेछु
खोई मेरो पैताला कहाँनिर छ ?
कहाँनिर छ बिसे नगर्ची ?
मालिक ∕ म बौलाएँ ।

No comments:

Post a Comment