भदौ ३, २०७१
पोखरा । उनको चालीस वर्र्षे राजनीतिक यात्रामा कैयौं सरकार कांग्रेसका पोल्टामा परे । थुप्रै प्रधानमन्त्री काल कांग्रेस नेताहरुले बिताए तर उनको ओत लाग्ने आफ्नै छाप्रोसम्म थिएन । उनी सुकुम्वासीकै रुपमा रहे र निरन्तर प्रजातान्त्रिक आन्दोलनमा सक्रिया रहे । धेरैका मागलाई माथि उठाए तर आफ्नै जीवनलाई माथि उठाउन भ्याएनन् । प्रजातन्त्र र लोकतन्त्रको स्थापनार्थ लाग्दा आफ्नो गास र बासको समेत स्थायी बन्दोबस्ती गर्न नभ्याएका दलित योद्धा भबे सार्की अब यस दुनियाँमा रहेनन् । आफु अप्ठ्यारो स्थितिमा गुज्रिदै राजनीतिक विषयबस्तुलाई समाज रुपान्तरणका लागि समर्पित गर्नु पर्छ भन्ने मान्यता राख्ने सार्कीको ७२ वर्षको उमेरमा सोमबार निधन भएको हो ।
पर्वतको शंकरपोखरी गाविस वडा नंम्वर आठमा जन्मिएका सार्की २०२८ सालमा पोखरा पसेका हुन् । तर जन्मैदेखि प्रजातन्त्रमा विश्वास राख्ने सार्कीले राजनीतिलाई नै आफ्नो मूल कर्म बनाउँदै पटकपटक हुने प्रजातान्त्रिक र मूक्ति आन्दोलनमा अगुवाको भूमिका खेले । सोहि क्रममा ३ पटक सम्म जेल परेका सार्की जुन रुपमा प्रजातन्त्रका लागि सक्रिय भए उनको त्यही आस्थाको पार्टीले नै केहि गर्न नसकेको गुनासो भने अन्तिम स्वास नफेरीञ्जेलसम्म गर्नुप¥यो ।
‘आफ्नो बासकै ठेगान नभएपनि प्रजातन्त्र र लोकतन्त्रका लागि निरन्तर लागेको भबे सार्कीलाई नेपाली कांग्रेसले के नै गर्न सक्यो र ? टाठोबाठो भए राजनीतिमा लागेपनि फाईदा लिन सकिने रैछ, म जस्तो सोझोले पार्टीलाई जति नै योगदान दिएपनि सधै उस्तै हुने भो ।’ करीब ४–५ वर्ष पहिले यो संवाददातासँग नेपाली काँङग्रेस कास्कीको कार्यालयमा भेटिँदा स्वर्गीय भबे सार्कीले गुनासो गरेका थिए । विगत केहि समयदेखि सुगरले थलिएका सार्कीको उपचारमा समेत नेपाली कांग्रेसले कुनै चासो देखाएन । पर्वतबाट पोखरा आएदेखिनै बगरको एक सुकुम्बासी बस्तीमा जुत्ता सिएर परीवार पाल्नुपर्ने बाध्यात्मक जीवन उनले बिताउनुप¥यो । तै पनि कांग्रेसमा क्रियाशील भएर प्रजातन्त्रका पक्षमा हुने आन्दोलनका सबै मोर्चामा अघि बढ्ने गर्थे उनी । यसबिचमा कतिपटक सुकुम्बासी आयोग गठन भए, कति स्वरोजगारका लागि भन्दै बजेट विनियोजन गरीए तर सार्कीजस्ता असली सुकुम्बासी र दलित अगुवा योद्धालाई कुनै राहतको अनुभव हुनै पाएन । अन्तत आर्थिक अभाव मै स्वास्थ्यको समेत निरन्तर उपचार पाउन नसकेका उनले सोमबार अकस्मात ह्रदयघातका कारण मृत्युवरण गरे ।
सार्कीका एक श्रीमती, तीन छोरा र दुई छोरी छन् । उनले परिवारको जुत्ता सिएर जोहो हुने केहि रकमले नै गुजारा चलाउँदै आएका थिए । ‘भबे सार्कीको बारेमा नेपाली कांग्रेसले न्याय गर्नबाट चुकेकै हो । उनीसँगै दलित आन्दोलनमा लागेका अन्य राजनितीक पार्टीका दलित नेताहरुको जिवनस्तर कहाँ पुग्यो ? दलित नेता भएकै कारण अन्य दलहरुले कति लाभदायक उपलब्धी पाए ? तर भबे सार्की जिबनभर सुकुम्बासी भएरै प्रजातन्त्रका लागी लडीरहनुप¥यो’, नेपाली काँग्रेसका नेता देवराज चालीसेले भने । ‘कैयौ पटक सुकुम्बासी आयोगको नेतृत्व कांग्रेसकै नेताहरुले गरे तर आफुलाई दलित र प्रजातान्त्रिक आन्दोलनको पहरेदारका रुपमा प्रमाणीत गरेका भबे सार्कीलाई सुकुम्बासी देखेनन्’, चालिसेको भनाई छ । चालीसेले स्वर्गीय भबे सार्कीलाई एउटा उदाहरणीय पात्रका रुपमा लिनुपर्ने बताए । भूमीहिनकाप्रति राज्य र दलहरु कति गैर संबेदनशील रहेछन् भन्ने कुरा भबे सार्कीको अभावपुर्ण जीवनबाटै प्रष्ट हुने उनको ठम्याई छ ।
उता मासिक करीब एक लाख रुपैयाँ नियमित आयश्रोत भएको कांग्रेस कास्कीका सचिव कृष्ण केसीले पनि भबे सार्कीका लागि पार्टीले न्याय गर्न नसकेको स्वीकारे । ‘हो भबे दाई एउटा निष्ठावान प्रजातान्त्रिक नेता हुनुहुन्थ्यो । अभावमै रहेर पनि प्रजातन्त्र प्राप्ती र रक्षाका लागि लड्दै आउनुभएका उहाँको अभावपूर्ण जीवनको परीवर्तनका लागी कांग्रेसले केहि सोच्न सकेन’, पोखरा हटलाइनसँग कुरा गर्दै सचिव केसीले भने । तर सार्कीको परीवार र टुहुरा सन्तानको सुरक्षित भविष्य निर्माणका लागि कांग्रेस कास्कीले पहल गर्ने उनले आश्वासन दिए ।
उनी नेपाली कांग्रेसमा आवद्ध रहे तर उनले कुनै राजनीतिक विशेषको मात्र मुद्धा उठाएनन् । एमाले निकट मुक्ती समाज नेपालका केन्द्रिय सदस्य धनबहहादुर नेपालीले भने–‘भबे सार्की सामाजिक समानता प्राप्तिको आन्दोलनमा एउटा निडर र स्वाभिमानी अगुवा हुनुहुन्थ्यो ।’ दुःख र कष्टका विच जसरी आफ्नो विचारमा प्रतिवद्ध रहँदै, राजनीतिमा क्रियाशिल हुनु भो, यसलाई सवैले आत्मसाथ गर्न जरुरी रहेको नेपालीको भनाई छ । नेपाली सम्झन्छन्–‘ उहाँ उत्पीडित जनता राजनीतिमा रहनुपर्छ भन्ने मान्यता राख्नुहुन्थ्यो ।’
स्वर्गीय सार्की कांग्रेसको यस अघि सम्पन्न बाह्रौं महाधिवेशनमा महाधिवेशन प्रतिनिधि थिए । यसैगरी २०३८ सालमा सुकुम्बासी बसोबास संघ कास्कीका प्रथम उपाध्यक्ष, २०५४ सालमा नेपा दलित संघ कास्कीका उपाध्यक्ष हुँदै अध्यक्ष भए । सार्की जिल्ला विकास समिति कास्कीको दलित समन्वय समितिमा उपाध्यक्ष भएर पनि काम गरेका थिए भने मिजार समाज नेपालमा केन्द्रिय बरिष्ठ उपाध्यक्ष, छाला जुत्ता व्यवसायि संघमा बरिष्ठ सल्लाहकार, सामुदायिक प्रहरी सेवा केन्द्र बगर लगायतका विभिन्न सामाजिक संघसंसथामा नेतृत्वदायी भूमिकामा थिए ।
No comments:
Post a Comment