काठमाडौं, ३१ साउन । गन्धर्व जातिको सारंगी बजाउने पेसा संकटमा पर्दै गएको छ । आधुनिक सञ्चारमाध्यमको विकास, सङ्गीतहरूमा सारङ्गीको सट्टा अन्य बाजाको प्रयोग तथा पेसाप्रति सम्मान नभएका कारण ‘सारङ्गी’ बाजासँगै पेसा पनि सङ्कटमा पर्दै गएको हो ।
सारङ्गी बाजाको महत्व युवा पुस्ताले बुझ्न नसक्दा गन्धर्व जातिको पेसा सङ्कटमा परेपछि उनीहरु आफ्नो पुख्र्यौली पेसा परिवर्तन गरी विदेश पलायन हुने क्रम बढेको छ । कसैकसैले सारङ्गी बाजालाई घरमा सजाउनका लागि मात्र राख्ने गरेको पाइन्छ ।
सारङ्गी बाजा बकाइनो र खिर्राेलगायतको काठलाई खोलेर चौंरीको पुच्छर, स्टिल वा प्लास्टिकको तार तन्काएर बनाइएको एक किसिमको लोक बाजा हो । यो सारङ्गी बाजा लोक तथा दोहोरी, आधुनिक, पप र अन्य गीतहरूमा समेत प्रयोग हुन्छ ।
पहिलापहिला एक ठाउँका कुराहरू अर्काे ठाउँमा घरदैलोमा पुगी गाइनेहरुले सारङ्गी बजाउँदै गीतको माध्यमबाट सूचनाहरू भन्ने गर्दथे । त्यतिबेलाको सञ्चारको मुख्य साधन सारङ्गी र सञ्चारकहरु गाइने समुदाय थिए । अहिले पनि यसलाई परमपरागत सञ्चार माध्यमको रुपमा लिने गरिन्छ ।
गन्धर्व सङ्घर्ष समितिका प्रवक्ता सन्तोष गन्धर्व पछिल्लोपटक स्रोता तथा दर्शकले प्रत्यक्ष सारङ्गीमा गीत गाएको सुन्नेभन्दा पनि सञ्चार माध्यममा आउने रेकर्डेट गीत सुन्ने गरेका कारण पनि गन्धर्व जातिको पेसा लोप हुँदै गएको बताउनुभयो । गन्धर्व समुदायलाई गाइने पनि भन्ने गरिन्छ ।
गन्धर्व समुदाय माथिल्ला जातका भनिएका व्यक्तिहरुका घरमा गएर कला, गला सारङ्गीमार्फत आफ्नो गाएर सुनाएवापत केही अन्न अन्न बटुल्दै गाउँगाउँ, बस्ती–बस्तीमा घुमन्ते फिरन्ते जीवन बिताउँदै आएको समुदायका रुपमा चिनिन्छ ।
करिब ५० हजार जनसङ्ख्या रहेको गन्धर्व समुदाय झापा, पोखरा, गोरखा, लमजुङ, तनहुँ, चितवन, दाङ, सल्यान, प्युठान, बाँके, बर्दिया, सुर्खेत, जाजरकोट, रुकुम, रोल्पा, अर्धाखाँची, कपिलवस्तु र बाग्लुङलगायतका जिल्लामा बसोवास गर्दै आएका छन् ।
नेपालको इतिहासमा मानव जातिको उत्पत्तिसँगै सभ्यताको विकास क्रमअनुसार श्रम विभाजनमा आधारित जातभात विभेद तथा छुवाछूतको पीडाबाट यो गन्धर्व समुदाय पनि बाहिर रहन सकेको छैन ।
जनआन्दोलन २०६२÷६३ का गायक रुविन गन्धर्वले मनिराम गन्धर्वले पृथ्वीनारायण शाहलाई नेपाल एकीकरणको समयमा पु-याएको योगदानको कदर गर्न आवश्यक छ भन्नुभयो । कुनै पनि स्थानमा भए गरेका खबर, सूचनालगायतका घटनाहरू थाहा पाउनुप-यो वा जानकारी दिनुप-यो भने गन्धर्वलाई कुर्नुपर्ने अवस्था थियो ।
राज्यको सूचना आदानप्रदान गर्ने हुलाकीका रुपमा त्यतिबेला गन्धर्वले भूमिका निभाउँथे । आज यही गन्धर्व समुदाय सूचनाको हकबाट वञ्चित हुुनुपरेको छ । अहिले धर्म निरपेक्ष सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपाल निर्माणसँगै देशका सबै जातजातिले राज्यमा समान प्रतिनिधित्व गर्न पाउनुपर्ने अधिकार स्थापित हुँदा गन्धर्व समुदायका सवालहरू अझै ओझेलमै रहेका छन् ।
मन्त्रिपरिषद्ले मनोनित गर्ने २६ स्थानमा गन्धर्व समुदायको प्रतिनिधित्वसँगै विद्यमान उत्पीडित जाति क्षेत्र वर्ग लिङ्गको पूर्ण सुनिश्चित गर्दै समयमै पहिचानसहितको नयाँ संविधान निर्माण गर्न आवश्यक छ भन्नुभयो ।
अधिकारकर्मी पूर्णबहादुर गान्धारीले गन्धर्व समुदायको पहिचानसहितको संविधान निर्माण गर्दै गन्धर्व समुदायको बाजा सारङ्गीको संरक्षण तथा पेसाको आधुनिकीकरण हुनुपर्ने हुनुपर्ने माग गर्नुभयो ।
गन्धर्व समुदायको वास्तविक आँकडा तय गर्नुपर्ने, गन्धर्व विकास बोर्ड गठन गरी गन्धर्वका सवालमा वकालत गर्नुपर्ने र गन्धर्व समुदायको शिक्षा, स्वास्थ्य, रोजगारको सुनिश्चित गर्नुपर्ने र भूमिहीन गन्धर्वलाई भूमिको व्यवस्था गर्नुपर्ने उहाँको भनाइ छ ।
गन्धर्व समुदाय राजनीतिक, समाजिक, सांस्कृतिक, शैक्षिक, आर्थिक रुपमा पछाडि पारिएको गन्धर्वका वस्तीहरूमा जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गराउनुपर्ने सङ्घर्ष समितिको माग छ ।
गन्धर्व समाज नेपालका अध्यक्ष केदार गान्धारीले सञ्चारमाध्यमको विकाससँगै सारङ्गी बाजा सङ्कटमा परेकाले ‘सारङ्गी सङ्ग्रालय’को स्थापना गरेर स्थानीयस्तर तथा राज्यबाट गन्धर्वका समस्याहरूको पहिचान गरी छुट्टै राहतको बजेट विनियोजन गर्नुपर्छ भन्नुभयो ।
उहाँले सरकारले सञ्चालन गरेको गन्धर्व आवास कार्यक्रम प्रभावकारी नभएको भन्दै कार्यान्वयनका
लागि आग्रह गर्नुभयो ।
No comments:
Post a Comment