मोर्चाद्वारा बलात्कार घटनाको भत्र्सना : दोषीलाई कारबाही र पिडितलाई न्यायको माग

महावीर विश्वकर्मा
जागरण मिडिया सेन्टर
काठमाण्डौं, २२ श्रावण ।
नेपालगञ्जमा बसभित्रै एक युवतीको सामूहिक बलात्कार भएको घटनाको नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चाले घोर भत्र्सना गर्दै विज्ञप्ती जारी गरेको छ । मोर्चाका केन्द्रीय अध्यक्ष एवम् सभासद दलजित श्रीपालीद्वारा जारी विज्ञप्तीमा घटनाका दोषीलाई कडा कारबाही र पिडित किशोरीलाई क्षतिपूर्ति सहितको न्यायको माग गरिएको छ । गन्तब्यमा हिँडेकी एक किशोरी यात्रुवाहक बसभित्रै बलात्कार भएको घटनाले देशको सुरक्षाको अवस्था कति फितलो छ भन्ने प्रष्ट पारेको भन्दै सर्वसाधारणलाई सुरक्षाको प्रत्याभुति दिन नसक्नु सरकारको लाचारीपन भएको पनि विज्ञप्तीमा उल्लेख छ ।
घटनामा संलग्न दाङ तुलसीपुर ९ का साने भनिने सुमन बिसि र दैलेखको नारायण नगरपालिका ८ का चङ्खे भनिने अजीव सुनारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । बिसि ना ४ ख ५१६७ नम्बरका बसका सहचालक र सुनार ना ३ ख ८७१३ नम्बरका बसका चालक भएको पनि प्रहरीले जानकारी दिएको छ ।
बाँकेको शमशेरगन्जस्थित मामाघर जानका लागि मंगलबार दिउँसो ३ बजे बस चढेकी रुकुमकी १८ वर्षीया किशोरीलाई वुधबार विहान नेपालगन्ज ५ स्थित बसपार्कमा सोही बसभित्र २ जनाले बलात्कार गरेका थिए । बस विहान उज्यालो भएपछि मात्रै नेपालगन्ज पुग्ने भए पनि बाटोमा नरोकी डेढ घण्टा अघि नै पुगेकाले पूर्वयोजना अनुसार घटना भएको हुनसक्ने प्रहरीले आशंका गरेको छ ।
source:- जागरण मिडिया सेन्टर

No comments:

Post a Comment